हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

दार्शनिक बन्ने गोरेटोमा

सङ्गीत आयाम, (चितवन, भरतपुर)

(निबन्ध)

एकदिन कुनै परिचित व्यक्तिले मलाई देख्नासाथ एक्कासि भनेका थिए "तपाई त दार्शनिक हुनुपर्ने मान्छे’ । उनले किन मलाई दार्शनिक हुनुपर्ने भनेर भने त्यतिबेला मैले त्यस कुरालाई त्यति धेरै महत्व दिएको थिइन तर आज अनायासै उनले भनेका कुरामाथि गहिरो दृष्टि दिएर विचार गर्दा नसोचेका असङ्ख्य कुराहरु सामुन्ने आए । जसलाई मैले बिसिएर त्यति वास्ता गरेको थिइन आज त्यही कुराले मन र मस्तिष्क उद्वेलित बनाइरह्यो धेरै बेरसम्म ।

आज धेरै दिनपछि "तपाई त दार्शनिक हुनुपर्ने मान्छे" भन्ने सन्दर्भलाई लिएर म किन यतिबेला एकत्रित हुँदैछु यो एउटा यस्तो प्रश्न हो जुन प्रश्नले आनन्दको साथसाथै पीडा पनि दिइरहेछ । जीवन पनि आखिर प्रश्न नै प्रश्नहरुको गुजुल्टो त रहेछ जति फुकायो त्यति नै फुक्दै जाने । जति तन्कायो त्यति नै तन्किदै जाने । मात्र प्रश्नहरुसँग साक्षात्कार गरिरहनुपर्ने, मात्र प्रश्नहरुलाई नमस्कार गरिरहनुपर्ने । एउटा प्रश्न हल नगर्दै अर्को प्रश्न अगाडि नै उभिएर चियाइरहेको हुन्छ र त्यसले आफ्नो उपस्थितिको चर्को बोध गराइरहेको हुन्छ पनि । शंकर लामिछानेले जिन्दगीलाई त्यसै प्याजसँग तुलना गरेका होइनन् । उनी भन्थे 'जिन्दगी प्याज हो अर्थात् जिन्दगी पत्रैपत्र र खातैखातले भरिएको दस्तावेज हो ।’ म भन्छु 'जिन्दगीका रङ्गहरुमा यति धेरै विविधता छन् कि जिन्दगी समाप्त हुँदा पनि सिद्धिएको हुँदैन । जिन्दगीलाई बुझ्न जिन्दगीको रस पिउनुपर्छ । जिन्दगीलाई छुन मात्र जिन्दगीकै हुनुपर्छ ।’

'तपाई त दार्शनिक हुनुपर्ने मान्छे ।’ वास्तवमा यी शब्दहरुको अर्थलाई यतिखेर म बुझ्न नै नसक्ने भएको छु । उनले त्यतिबेला मेरो प्रशंसा गरेका थिए कि निन्दा कुनै मान्छेलाई दार्शनिक हुनुपर्ने भन्नुको अर्थ यथास्थितिको मात्र विरोध होइन त्यसप्रतिको प्रकटीकरणमा फेरि असहमति जनाउनु पनि हो भन्ने मलाई लाग्छ । मैले भोगेको यो कस्तो जटिलता हो जसलाई मैले प्रशंसाको आँखाले हेर्न खोज्छु त्यही तरङ्ग भएर जीवनमा खुशीलाई आमन्त्रण गरिरहेको देख्छु । जब म यसलाई विरोधको स्वरमा भेट्छु तव सुन्दरता कतै ओझेल पर्दै गएर लुक्दछ र कुरुपताको साम्राज्य विस्तारित हुँदै गएको मात्र आभाष हुन्छ ।

कुनै मान्छेले एक्कासि एउटा कुरा भन्छ तर त्यसको असर भने पछिसम्म परिरहँदो रहेछ म प्रत्यक्षदर्शी छु । त्यो कुरालाई मैले एक कानले सुनेर अर्को कानबाट उडाइदिए पनि हुनेथियो । कुनै कुराप्रति बढी मोह नहुने हो भने त्यस्तो कुराको खासै प्रभाव रहँदैन पनि जुन मलाई थाहा नभएको पनि होइन । भनिन्छ नि वास्ता नहुने कुरा पानीको फोकाजस्तै हो जो जतिखेर पनि फुट्नसक्छ । जुनरुपमा जसरी भनिएको थियो त्यसरी नै हराउँथ्यो त्यो प्रसङ्ग । आजसम्म त्यो कुरा भुल्न नसक्नुका पछाडि त्यस्तो के रहस्य छ ? के म दार्शनिक बन्ने गोरेटोमा नै अग्रसर हुँदैछु त ? के त्यो कुरालाई स्वीकार गरेको उपस्थिति हो मेरो यो ?

हुन त जीवनले वास्तवमा मान्छेलाई त्यत्तिकै दार्शनिक बनाउँदैन । जीवनमा पाएका असङ्ख्य चोटहरुलाई यदि साँच्चै अभिलेख बनाएर राख्ने हो भने मान्छे किन दार्शनिक हुन्छ भन्ने रहस्य पत्ता लगाउन वर्षौ मेहनत गर्नुपर्ने छैन । दार्शनिक बन्न त्यति सजिलो भने छैन विकसित सोच र उर्वर चिन्तनको लागि आफ्नो सम्पूर्ण जिन्दगी नै फाल्नुपर्दछ त्यसका लागि । जति सजिलैसँग दार्शनिक बन्नुपर्ने भनेर भनिन्छ त्यो बन्ने प्रकिया भने अत्यन्तै चुनौतीपूर्ण छ । त्यो कुरा उनले महसुस गरेका भए सायद भन्थेनन् कि ?  जीवनका आरम्भ बिन्दुदेखि अन्त्य बिन्दुसम्मका यात्राहरु पहिले नै निर्धारित भैसकेका हुन्छन् दार्शनिकताको खोजीमा । व्यक्तिसत्ता र परिवारवृत्तलाई त्यागेर अत्यन्तै कठिन यात्रामा यात्रारत भैरहेका जति पनि विषय र सन्दर्भहरु भेटिन्छन् ती सबैलाई त्यसमैं समाहित गर्दै अगि बढ्नुपर्ने हुन्छ । सायद त्यसै कारणले पनि भनिएको हुनसक्छ सामान्य व्यक्तिको मस्तिष्करुपी भाँडोमा छरिएर रहेका कहिल्यै अन्तै नहुने लोभ र जिन्दगीभरि नै खोजिरहने लाभभन्दा दार्शनिक धेरै अर्थमा माथि उठ्छ । प्रश्न भने मसँग अहिले पनि यथावत नै छ उनले किन मलाई दार्शनिक हुनुपर्ने मान्छे भने के म दार्शनिक हुने गोरेटोमा यात्रारत हुँदैछु ?

मान्छे सुखमा कम र दुःखमा बढी दार्शनिक भएका उदाहरणहरु पाउन गार्हो छैन । मात्र फाइदाको चिन्तनमा डुबेको साधारण मान्छे आफु र आफ्नो परिवेशका लागि नै बनेको हुन्छ र त्यस साँघुरो परिवृत्तभित्रै भौतिक सुख सुविधा नै मेरो ठूलो संसार हो भनेर गर्व गर्ने गर्छ । मात्र नाफा नोक्सानको हिसाब गरेर हिँडेको मान्छेले अहङ्कार र उन्मादको मात्र गीत गाउँछ र आफुसँग भएका चिजबीजहरुलाई प्रदर्शन गर्नु नै सबैभन्दा महान उपलब्धिको रुपमा गणना गर्नु उसको विशिष्ट शौख हुन्छ । वास्तवमा जो कोही मान्छे दार्शनिक बन्न सक्दैन जसलाई कुनै गहिरो चिन्ताले कहिल्यै सताउँदैन । जसको चिन्ता चिन्तनको शैलीमा माथि उठ्दैन उसको दार्शनिक बन्ने खतरा कम हुँदै जान्छ ।

अभावग्रस्त जिन्दगीलाई छामछुम गर्दै अगि बढेको बाटो हिँडेर सँधै यात्रारत रहेको म के साँच्चै नै दार्शनिक बन्ने गोरेटोमा अग्रसर भएको हूँ त ? के मभित्र रहेका र देखिएका तमाम लक्षणहरु दार्शनिक बन्ने अभियानमा अभिप्रेरित छन् त ? किन मभित्र यति गहिरोसँग चिन्तनको शैली विकसित हुँदै गएको छ ? सँधै टकटकिएको खल्तीले मलाई दार्शनिक बनाउने चक्रव्यूहमा अभिमन्युजसरी नै फसाइरहेको त छैन ?

हुन पनि अभाव भएपछि मान्छेले गर्ने सङ्घर्ष स्वत बढ्ने नै भयो । त्यसको कारणले नै मान्छेले कठिन शिखर पनि चढ्ने नै भयो । अभावले नै रोग प्रतिरोधात्मक क्षमतालाई उच्च बिन्दुमा राख्छ भनिन्छ । अभावकै कारण मान्छे पराजयमा पनि हाँस्छ भनिन्छ । मान्छे त्यत्तिकै दार्शनिक बन्दैन  । समय र सत्ताले उसलाई दार्शनिक बनाउने उपक्रममा सँलग्न गराउँदो रहेछ । मान्छे त्यतिकै दार्शनिक हुँदैन, भोक र शोकले उसलाई दार्शनिक बनाउने अभियानमा सामेल बनाउने रहेछ ।

एक मन त लाग्छ मस्तिष्कले आपुनो काम गरेकै छ । जिन्दगी गोरेटो हुँदै सडक भएर राजमार्गमा यात्रारत छँदैछ । संघर्ष विकराल भएर के भयो त ? अनुभवको फैलावट भने बढ्दो छ । सँधै अस्तित्वकै खोजीमा हिड्दा नामले उचाइ पनि चढ्दो छ ।

पैसातिर ध्यान दिने हो भने पैसाकै चिन्तन बढी आउँछ,  पैसाकै मीठो सपना देख्नेले पैसाको आलिङ्गनमा नै रमाउँछ । विचारकै लागि जीवनभरि लड्नेले विचारको खोजीमा नै उज्यालो पाउँछ । विचारकै मीठो सपना देख्नेले विचारको विशिष्टताले नै नुहाउँछ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |