हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

क्रियाशील जीवनकी पर्यायः गीता केशरी

रजनी ढकाल, (ललितपुर)



धुम्मिएको बादलले बिहानदेखि सूर्य किरणको निकास नदिएझैँ बिहान उठे देखिकै मेरो योजना दिउँसोको बाह्र बजुन्जेलसम्म पनि कार्यान्वयित हुन सकेको थिएन । योजनालाई काममा बदल्ने विश्वासको बलियो आशामा टेकेर पटक पटक फोन गरेकी थिएँ गीता केशरी दिदीलाई । आज उहाँको केही घन्टा समय मेरालागि चाहिएको थियो । यो समय उहाँको विगत हुँदै मेरो वर्तमानसम्म जोडिन खोजिरहेको थियो । अर्थात् म गीता केशरी दिदीका जीवनका केही रोचक पाटाहरूलाई उक्काउन चाहन्थेँ र लेख्न खोजिरहेकी थिएँ गरिमाकालागि स्रष्टा सन्दर्भ । सम्पादकको पटक पटकको आग्रहलाई मैले सारेको तीन महिनै बितेको थियो । त्यसैले आज जसरी पनि भेट्नु थियो दिदीलाई र गर्नु थियो केही अन्तरङ्ग कुराकानी । आफ्नै कार्यव्यस्तताले पनि च्यापिरहेको थियो मलाई । जीवनका व्यावहारिकताहरू तानतुन गरेर मिलाउँदा मिलाउँदै कुनै नयाँ र सिर्जनात्मक काम गर्न नसक्नुको पीडाले थिच्न थाल्दा आफ्नो अस्तित्व नै खतरामा पर्न थालेझैँ लाग्न थालेको थियो मलाई ।

झ्वाट्ट हेर्दा कुनै खानदानी पञ्जावी परिवारकी मायालु हजुरआमा जस्ती लाग्छिन् गीता केशरी । ७३ वर्षे उमेरमा पनि यिनको कार्यशैली र जीवन व्यस्ततामा कत्ति कमी आएको छैन । विभित्र साहित्यिक तथा सामाजिक संघसंस्थामा क्रियाशील केशरीले आफ्ना पूर्खा (विद्यारण्य केशरी, गीताका पतिका हजुरबुबाको मामाघरबाट) बाट पाएको ‘केशरी’ थर (पदवी)लाई साहित्यिक वृत्तमा सक्रिय भएर चम्काइ रहेकी छन् । त्यसैले त उनी नेपाली साहित्यमा ‘गीता केशरी दिदी’ भनेरै चिनिन्छिन् । 'क्रियाशील र सिर्जनशील रहनु युवा हुनुको लक्षण हो’ ९४ वर्षे राष्ट्रकवि माधव घिमिरेले आफ्नै सन्दर्भमा दिएको अभिव्यक्ति सम्झिरहेकी छु अहिले । हो, गीता केशरी नेपाली साहित्यकी सक्रिय व्यक्तित्व हुन् । विगत तीन वर्षदेखि महिला स्रष्टाहरूको साहित्यिक संस्था गुञ्जनकी अध्यक्ष रहेकी दिदीसँग यही संस्थाको कार्यकारी सदस्य भएका नाताले मेरो भेट नहुने त कुरै भएन, गुञ्जनका प्रत्येक कोठे गोष्ठी र मिटिङमा दिदीका सिर्जनात्मक नयाँ सोच अनि सरल, मायालु र हार्दिक व्यवहारसँग म सधैँ चिनिएकी नै हुँ तर उहाँका जीवन सन्दर्भलाई समय नै छुट्याएर सुत्रे अवसर भने मिलिरहेको थिएन । 

मेरी आमाभन्दा दस वर्ष पाको उमेरकी यी आदरणीय व्यक्तित्व देख्दा, लेखनमा उनको क्रियाशीलता देख्दा, समाज र जीवनप्रतिको कर्तव्यपूर्ण व्यवहार अनि ज्ञान देख्दा मलाई यिनी एउटी सहासिली र महान् पात्र लागिरहन्थ्यो बारम्बार । मेरी आमाले स्कुल देख्नु भएन, हाम्रा करबलले सिकेर मुस्किलले अक्षर चिन्नुभयो । आजसम्मको जीवनमा मेरी आमाले मुस्किलले पाँचओटा जति किताब पढ्नु भयो होला तर यी गीता केशरीले पन्ध्रओटा किताब लेखेकी छन् । नेपाल वायुसेवा निगमको निर्देशकसम्म भएर सेवानिवृत्त जीवन बिताएकी छन् । प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव जस्तो उच्च प्राज्ञिक र गरिमामय पद सम्हालेको अनुभव पनि बटुलेकी छन् । मान्छेलाई समाज, समय र परिवेशको भित्रताले अनि अवसर र अभावले कहाँ कहाँ पुर्याउँछ, के के बनाउँछ अनि के के बन्न दिँदैन म बारम्बार सोच्न बाध्य हुन्छु उस्तै उस्तै समयका नितान्त फरक क्षमता र भूमिकाका पात्रहरू सम्झेर । जब मैले गीता केशरी दिदीलाई देख्छु अनि आफ्नै आमासँग तुलना गर्न पुग्छु । आफूले पढ्न नपाएकाले मैले पढेकोमा, केही लेख्न सकेकोमा गर्व लाग्छ मेरी आमालाई तर गीता दिदीलाई घरमा विद्रोह गरेर आफैले पढ्न सकेकोमा गर्व त छँदै छ तीन तीन छोरीकी लगभग एक्ली अभिभावक भएर तिनलाई डाक्टर अनि उच्च शिक्षित व्यक्तित्व बनाउन सकेकोमा अनि नेपाली साहित्यमा सबैभन्दा धेरै सङ्ख्यामा उपन्यास लेखेकी महिला स्रष्टा भनेर पनि त गर्व लागेको होला । गीता दिदी जस्ता पात्रलाई गर्व गर्न लायकका धेरै ठाउँहरू छन्, चुनौतीसँगै धेरै अवसरहरू पाएका छन् तिनले । यसैले त समाजमा प्रशंसित छन् उनीहरू । यसैले हुनसक्छ केशरीको अनुहारमा हरबखत झल्किने खुशी अनि आत्मसन्तोषपूर्ण व्यवहार ।

खिरिलो अनि चिटिक्क मिलेको अग्लो जिउडाल, धर्सा पर्दै गएको गोरो अनुहार, फराकिलो निधार, गहिरा आँखा, पातलिँदै जान थालेको तिलचामले कपालको लामो तीनआँठे चुल्ठो अनि साडी ब्लाउजमा कसिलो देखिने गीता केशरीको बाहिरी आवरणलाई उनीभित्र रहेको ज्ञान र व्यावहारिक कुशलताको पाटोसँग जोडेर हरपल मूल्याङ्कन गरिदिन्छ कुनै पूर्व चिनारूले । बाटोमा भेटिएका अल्लारे ठिटाठिटीहरू भनिदिन सक्छन्, “ए बजै, थोरै बाटो छोड्दिनुस।”  गाडीका खलासी केटाहरूले चर्को आवाजमा हकार्न पनि पछि पर्दैनन् होला, “ए बुढी आमै अलि पर सर्दिनुस् भनेको कस्तो नसुनेको ?” गीता केशरीलाई यस्ता थुप्रै अप्रिय कुराले पनि बारम्बार अनुभवको शिखरमा पुर्याएको अनुभूति दिलाएका छन् । उनलाई हिजोआज काठमाडौँ सहरभित्रका यात्रा अनि किनमेल गर्दा भेटिएका कतिपय महानगरबासीका बोलीमा सुनिने खस्रोपन अनि विनम्रतामा रित्तो भएको व्यवहारले बारम्बार दुखाउँछ । आफूलाई हेर्ने अरूको आँखा र मनको साँघुरो घेराभन्दा पनि जेष्ठ नागरिकप्रति आम नागरिकको सोच र व्यवहारले बिझाउने रहेछ उनलाई । समाजमा रहेका नकारात्मक पक्षहरू बारम्बार आँखामा परिरहनु खारिएको अनुभवको परिणाम हो भने तीप्रति चिन्तित हुनु अग्रजहरूको स्वभाव हो । एक दिन गीता केशरी बसबाट घर फर्किँदै थिइन् । आफूसँगैको सिटमा बसेका एक युवाले अङ्ग्रेजी पत्रिका पढिरहेका थिए । कुनै सनसनीपूर्ण शीर्षकले उनको मन तान्यो ती युवाले पत्रिका पढेपछि आफूले पनि पढ्ने उत्सुकता देखाउँदै भनिन्, “खै त भाइ म पनि हेरूँ त्यो न्युज !”
पढेलेखेका सहरिया सभ्य भाइबाट उत्तर आयो, “यो तपाईँले पढ्न सक्नुहुन्न, अङ्ग्रेजीमा लेखिएको छ !”
केशरीले ती शठ युवासँग आफूलाई चिनाउने औचित्य देखिनन्, दोहोर्याएर पत्रिका पनि मागिनन् । चुपचाप बसिरहिन् र मनमनै रिस पोखिन्, “ए केटा, तैँलाई पढाइदिन सक्छु यस्तो अङ्ग्रेजी, के सोचेको छस् मलाई !” यो संवाद गीता दिदीको मुखबाट सुनिरहँदा मैले उहाँको अनुहारको आकृति नियालि रहेकी हुन्छु । जीवनमा अझ धेरै गर्न सक्ने आँट र आत्मविश्वास छ उहाँका आँखामा । ती युवाका आँखाले आँकलन गरेको पात्रत्वको गलत बुझाइलाई ज्ञान र व्यवहारको आँखाले कहिले सुधार्ला खै कुन्नि हाम्रो समाजमा !

धापाखेलदेखि विशालनगरसम्मको यात्रामा गीता दिदीको व्यक्तित्व र उहाँले बेलाबेलामा सुनाएका यिनै कुराहरू मनभरि खेलिरहेका छन् । विशालनगर चोकबाट बायाँतर्फ मोडिएपछि केही उकालो परेको बाटोलाई पछि पार्दै उहाँको घरको फराकिलो घाँसे परिसरमा पुगेर कार पार्किङ गर्दा नगर्दै दिदी टुप्लुक्क तलै आइपुग्नुहुन्छ । सधैँ उस्तै आत्मीयतामा भेट्छु मैले उहाँलाई, स्नेहपूर्ण मुस्कानले मलाई आज पनि उसरी नै स्वागत गरिरहेको छ ।

घडीले दिनको एक बजाउनै लागेको छ । म दिदीको बैठक कोठामा पुगेकी छु । बाहिरको आकास उस्तै छ, बादलले सिमसिम पानी पार्न थालेको छ । मेरो प्रश्नमा दिदीले बिस्तारै उक्काउन थाल्नु भएको छ आफ्नो बिगत अनि जराका कुरा ।
१९९७ सालको असार महिनामा ब्राह्मण परिवारमा काठमाडौँको पकनाजोलमा सीता र रामराज पन्तकी जेठी छोरीका रूपमा जन्मिइन् गीता केशरी । हजुरबुबाका चारजना पत्नी, तिनका छोराछोरीसँगै तीस पैँतीस जनाको सामूहिक परिवारमा हुर्किन् । सानैदेखि रोगी र पिलन्धरे भएकी हुनाले उनी धेरैजसो कोठाभित्रै सुतिरहेकी हुन्थिन् । आमा, हजुरआमा र काकीका कुराहरू सुनेर तिनकै वरिपरि पुगेर काममा सहभागी भएको अनि चकचक गरेको कल्पना मात्र गरिरहन्थिन् । “सायद यही कल्पना गर्ने सानैको स्वभावले मलाई पछि आख्यानतिर तान्यो जस्तो लाग्छ ।” गीताले थपिन् । 

गीताकी फुफू भद्रिका पन्त बाजेकी कान्छी सन्तान भएर निरन्तर स्कुल पढ्न पाइन् । माइली फुपू स्नेहलता र गीतालाई तीन कक्षाबाट पढ्न छुटाएर घरमै राखियो । आफू जेठी सन्तान भएको र आफूमुनि तीन जना भाइहरू जन्मिएकाले आमाको सहयोगीका रूपमा गीताले स्कुल छोड्नु परेको हो । हुन सक्छ त्यतिबेलाको समाज गीतालाई स्कुल पठाउन आवश्यक ठान्दैनथ्यो । गीता केशरीको अर्को अनुमान यस्तो पनि छ, “आमा राजपुरोहितकी छोरी भएकी हुनाले ममा अझ बढी बन्देज भयो कि जस्तो लाग्छ । त्यो समयले छोरीलाई स्कुल पठाउनु भनेको बिगार्नु हो भन्ने नै बढी अर्थ लगाउँथ्यो ।” तर केशरीले पढ्ने इच्छालाई दबाएर राखिनन् । बेलुका बेलुका बुबासँग घरमै पढ्न थालिन् । घरको पढाइ उति नियमित हुन्नथ्यो । तर पनि बेलुका बुबाले खाना खाएपछि हुक्का ट्वार्रर ट्वार्रर पार्दै पढाएको उनलाई राम्रो सम्झना छ ।

आमा राजाको मूलपुरोहित विक्रमराज पाण्डेकी छोरी भएकाले उनीसँगै भित्रिएको दरबारिया संस्कारले गीतालाई अझ धेरै सीमारेखाहरू कोरिदियो । पछि गीताका जेठा मामा पनि रोलक्रमले मूलपुरोहित बने । मामाका छोरीहरू पनि पढ्न जाँदैनथे । गीतालाई पनि स्कुल जान रोकियो । गीतालाई मामाघरको चालचलन पटक्कै मनपर्दैनथ्यो । त्यहाँको दरवारिया रहनसहन र उँचोनिचो गर्ने व्यवहार सानैदेखि बिझ्थ्यो । मामाका छोराछोरी र गीतालाई बोलीबचन र व्यवहारमा भिन्नता थियो । मामाकी विवाह गरेर ल्याइएकी जेठी पत्नीलाई सबैले गुरुमा भन्नुपर्थ्यो । गुरुमाबाट जन्मेका सन्तानलाई पनि उच्च आदर गर्नु पर्थ्यो । मामाका अन्य पत्नीहरूले पनि जेठीका सन्तानलाई उच्च आदरार्थी सम्बोधन गर्नै पर्थ्यो अरूको त के कुरा । अरूलाई गरिने व्यवहार उस्तै हेपाहा थियो । एक दिन सरातको भात खान बसेका बेलामा मामाका छोरीहरूलाई चरेसको थालमा खाना दिइयो, गीतालाई टपरीमा । उनले तुरुन्तै विरोध गरिन् र टपरीको भात उठाएर फलिदिइन्, मामाले भान्जीलाई सम्मानित व्यवहार गर्न निर्देशन दिए । उनले त चरेसको थालमा खान पाइन् तर अरूलाई त त्यो मिल्दैनथ्यो । “राजाको मूलपुरोहित रे तर मेरा मामाका अरू अनेक जातका साहित पाँचओटी श्रीमती थिए ।” केशरीले त्यतिबेलाको पितृसतात्मक मानसिकतालाई खोलिन् । त्यतिबेलै मेरो मनमा एउटा कुरो सुटुक्क आयो, ‘कार्लमाक्र्सले भने जस्तै राजा भएका देशमा सबैजना राजा बन्न खोज्छन् ।’ उनका मामाघरमा पनि राजासोचको जरो बलियो थियो । मामाघरको वातावरण महिलाप्रति कत्ति पनि संवेदनशील र सकारात्मक थिएन ।

गीताको टोलमा जनवाचनालय पुस्तकालय खुलेको थियो । त्यहीँबाट पुस्तक ल्याएर पढ्थे गीता र उनकी फुपू । तीन कक्षा पढेपछि स्कुल जान नपाए पनि घरको पढाइले नेपाली भाषामा राम्रो दख्खल बसिसकेको थियो । कथाका किताबहरू खोजी खोजी पढ्थे, अनि त्यस्तै कथा लेख्ने अभ्यास पनि गर्थे । माइली फुपू स्नेहलतामा त साहित्यप्रति अत्यधिक मोह बसिसकेको थियो, गीताले उनैबाट साहित्यमा लाग्ने प्रेरणा पाइन् । घर र मामाघरको भिन्न वातावरण, पढ्न जान नपाएका पीडा उनीहरूका लेखनमा प्रकट हुन्थे । एकदिन गीताले सौतेनी आमाको चरित्रलाई मुख्य केन्द्रबिन्दु बनाएर दुःख पाएकी छोरीको कथा लेखिन् । संयोगवस त्यो कथा बुबाको हातमा पर्न पुगेछ । बुबाले त्यति माया गर्ने आमा हुँदा पनि तैँले यस्तो कथा लेख्ने भनेर गाली गरेपछि उनले त्यसलाई च्यातिदिइन् । वास्तवमा उनले त्यो कल्पना गरेरै लेखेको कथा थियो, वास्तविकता थिएन । पछि पनि थुप्रै कथाहरू लेखिन् तर च्याद्दै फालिन् । आफूले लेखेको स्नेहलतालाई सुनाउँथिन्, भद्रिकासँग पनि उनको उस्तै मित्रता थियो । फुपूलाई सुनाएपछि कथाको आयु सकिन्थ्यो, च्यातिन्थ्यो फालिन्थ्यो । कविता पनि लेख्थिन् उनी तर च्यातेरै फाल्थिन् ।  

एकदिन भद्रिका दस कक्षामा पुगेको खबर लिएर घर आइन् । भद्रिकाको यो सफलताले सबैलाई खुसी बनायो तर गीताको मनमा भने चोट पार्यो । उनले खेल्दा खेल्दैको हातको तास भुइँमा फालिन् र जुरुक्क उठिन् । सबैले उनलाई हेरिरहे । गीताको मनमा उठेको आँधीबेहरीले विद्रोही रूप लियो । उनी एकाएक बुबाका सामुन्ने पुगेर कराइन्, “म पनि स्कुल जान्छु, भद्रिका दस कक्षामा पुगी म पनि दसै कक्षामा पढ्छु ।” उनको आँट सुनेर बुबा अवाक् भए ।

बुबा आफै पनि शिक्षक थिए । शान्ति विद्या गृह, लैनचौरमा उनी बिहानी सत्रमा पढाउँथे । गीता चाहिँ दिवा सत्रमा एकैचोटि दस कक्षामै भर्ना भइन् । उनले बुबाले छानिदिएका इतिहास र डोमेस्टिक अर्थमेटिक जस्ता सजिला विषय नलिएर अझ अप्ठ्यारा र चुनौतीपूर्ण विषय जोग्राफी र कम्पल्सरी म्याथ रोजिन् । बुबाले डिभिजन ल्याउन सजिलो हुने विषय सिभिक्स छानिदिए तर उनले कमर्सियल जोग्राफी छानिन् । स्कुल नजाँदा घरमा गर्ने गरेका कुनै काम पनि स्कुल जान थालेपछि कम भएनन् । सबै कामहरू गरेर मात्र स्कुल जान पाइने सर्त थियो । गीताले दिनरात एक गरेर पढिन् ।  

स्कुल भर्ना भएकै वर्ष दिएको एस. एल. सी.को रिजल्टले भद्रिकासँगै गीताको पनि सफलता बोकेर ल्यायो । भद्रिका र गीता सँगसँगै पद्मकन्या कलेजमा भर्ना भए । जहाँ जाँदा पनि उनीहरू सँगै हुन्थे । कुनै काम गर्न पनि डर मान्दैनथे । दुईजना मिलेपछि जे गर्न पनि आँट गर्थे । घरमा ढाँटेर हिँडिदिन्थे । कलेजको स्टुडेन्ट युनियनमा पनि खुब क्रियाशील भएर लाग्थे । विश्व राजनीतिसँग पनि परिचित थिए । सभा जुलुसको अग्रपङ्क्ितमा हुन्थे उनीहरू तर घरमा यो कुरा भन्दैनथे । त्यतिबेला पनि उनीहरू लेख्थे । कतिपय रचना अरूलाई दिन्थे । आफ्नो नाममा छपाउन चाहन्नथे । बल्लबल्ल पढ्न पाएको वातावरण नखल्बलियोस् भन्ने कुराले पनि लेखनलाई परिवारबाट लुकाएरै राखेका थिए ।  

आई. ए. र बी. ए. पनि सजिलै पास गरिन् केशरीले । पद्मकन्या जाँदा त्रिचन्द्र क्याम्पस अगाडिको बाटो हुँदै जानुपर्थ्यो । केटाहरू लाइन लगाएर हेररहन्थे । गीतालाई सधैँ एउटा कुरा ढुक्क के थियो भने आफूभन्दा राम्री भद्रिका थिइन्, हेरे उनैलाई हेर्लान् । कसैको प्रेम प्रस्ताव पनि आएन, आफूले पनि राखिनन् । पढ्न पाउनु नै ठूलो कुरो थियो रे उनको लागि । कसैलाई मन पराउने समय पनि मिलेन रे । परिवारका अनेक सदस्य मार्फत् आएका कतिपटकका बिहेका प्रस्तावलाई उनले इन्कार गरिदिइन् । एम. ए. नगरी बिहे नगर्ने उनको अडान थियो ।

एम. ए. पढ्दै गर्दा बिहेको प्रस्ताब आयो । लगभग बिहेको टुङ्गो लागेर बुबा छोरीको बिहेका लागि ह्लासा (फ्रर्ट सेक्रेटरीका रूपमा कार्यरत) बाट घर आएपछि छोरीका लागि ठिक पारिएको केटाको बारेमा केही नकारात्मक कुरा सुनियो । बाबुको आधुनिक सोचले छोरीलाई यो कुरो सुनाउन उपयुक्त ठान्यो । बुबाले गीतालाई यथार्थ कुरो बताएर आफै निर्णय गर्न निर्देशन पनि दिए । अनि यही बिदामा जसरी पनि गीताको बिहे गर्नै पर्ने निर्णय पनि सुनाए । गीतालाई निकै तनाव भयो । यसै समयमा मिल्ने साथी सेलिनाको मामाले ल्याएको कुराले गीताको मन तान्यो । सेलिना र उनका मामा गीताका घरमा आउजाउ गरिरहन्थे । साथी र उनका मामाले केटालाई ल्याएर त्रिभुवन विश्वविद्यालयका कक्षाकोठामै गीतालाई देखाए । त्यतिले गीता मान्नेवाला थिइनन् । साथीको घरमा भेट्ने र कुराकानी गर्ने योजना बन्यो । बनारसमा परिवार भएका केशवराज केशरी भन्डारी त्यतिबेला नै न्युजिल्यान्डबाट एम. एस्सी. सकेर पशु विकास केन्द्रका अधिकृत भइसकेका थिए । नेपालमा पशुपालनका विषयमा उनी नै पहिलो स्नातकोत्तर थिए । दुवैको कुराकानी भयो । केटाले काठमाडौँमा घर नभएको, सप्तरीका बासिन्दा भए पनि बुबाआमा बनारसमा भएको, कमाइको केही रकम घरमा दाजुलाई पठाउनु पर्ने जस्ता कुरा सुनाए भने गीताले पनि आफ्नो पढाइ पूरा गर्न पाउनु पर्ने, जागिर खान पाउनु पर्ने र कुनै कुरामा अनावश्यक शङ्का गर्ने बानी गर्न नपाइने सर्त राखिन् । दुवैका सर्त दुवैलाई मञ्जुर भए । कुरा गीताका बुबासम्म पुग्यो । बुबाले पनि तुरुन्त बिहे गरिदिए । उनी उत्साहित हुँदै बोलिन्, “केही पनि नसोधी टीका लगाइदिनु भयो बुबाले !”

२०१९ सालको वैशाखमा केशवराज केशरीसँग गीता विवाह बन्धनमा बाँधिएपछि भने उनको लेखकीय जीवनले स्वतन्त्रता पायो । अनि बल्ल उनले आफ्ना रचनालाई माया गर्न पाइन् । एक वर्षभित्रै छोरी नीलु जन्मिइन् । त्यही वर्ष उनले एम. ए.को परीक्षा पनि दिइन् ।

घरको सम्पन्नता र खुला क्षेत्रफल डेरामा पुगेर साँघुरो भए पनि यसले गीतालाई सङ्घर्षको बाटो सिकायो । पतिको काम पोखरामा थियो तर उनी एक्लै सबै क्षेत्रमा आँटेर लागिन् । २०२१ सालमा उनको ‘अपराधी को ?’  शीर्षकको कथा अरूणोदय पत्रिकामा प्रकाशित भयो । त्यही समयमा उनले रेडियो नेपालका लागि नाटकहरू (पर्दा पछाडि, ऐना आदि ) लेखिन् । ती प्रसारण पनि भए तर आज उनीसँग तिनको केही रेकर्ड छैनन् । केही समयपछि उनले रत्नराज्य स्कुलमा पढाउन थालिन् । घरघरमा पुगेर ट्युसन पनि पढाउँथिन् उनी । उनको आख्यानतिरको रुचिले पहिलो उपन्यास 'कसिङ्गर' लेखायो र यो साझा प्रकाशनबाट २०३५ सालमा प्रकाशित भयो ।

यही बिचमा गीताको शिक्षकको पेसागत जीवन आर. एन. ए. सी.को असिस्टेन्ट सेल्स अफिसरमा बदलियो । उनका अरू दुई छोरीहरू पनि जन्मिए । छोरीहरूको हेरचाह र जागिरले उनको लेखन दस वर्षसम्म त पूरै रोकियो । अहिलेको नेपाल वायु सेवा निगमको न्युरोडको भवनका बारेमा शिलान्यासदेखि सबै कुराको जानकारी छ उनलाई । आर. एन. ए. सी.बाट उनले श्रीलङ्का, फ्रयाङ्फर्ट, दिल्लीको इन्टरनेसनल पोस्टिङमा पनि काम गरिन् । पूर्वी क्षेत्रीय निर्देशक भएर पनि काम गरिन् । ३५ वर्ष सेवा गरेर डाइरेक्टर पदबाट स्वैच्छिक अवकास लिइन् । त्यसपछि उनले केही वर्ष एभरेस्ट एक्सप्रेस टुर्स एन्ड ट्राभल्समा नायब महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिन् । 

वि.सं. २०४२ मा गीताको जीवन बग्गी अकस्मात् एक्कामा परिणत भयो । दाम्पत्य जीवनबाट केशवरूपी वेगवान अश्वलाई एकाएक गुमाउन परेपछि सबै जिम्मेवारी गीताकै काँधमा आयो । सरल प्रवाहमा गतिशील निर्मल जीवन नदीलाई अकल्पनीय पहिरोले धमिल्याइदिए पनि गीता विचलित भइनन् बरू झन् दह्रा पाइला गरेर जीवनको नाउलाई अघि बढाइरहिन् । गीता दिल्ली पोस्टिङमा रहेका बेला केशवराजलाई किड्नीको अपरेसनका लागि दिल्ली लगियो । अपरेसन सफल भए पनि केशवराजको होस खुलेन । केशवराजसँगको २३ वर्षे सहयात्रा यहीँ रोकियो । तीन छोरीको पढाइ र लालनपालनको जिम्मेवारीलाई उनको पेसागत जीवनले साथ दियो भने उनको एक्लो मनको गतिलो साथी चाहिँ कलम नै भयो । त्यसपछि उनले प्रण गरिन्, “म वर्षको एउटा उपन्यास लेख्छु ।” नभन्दै उनले धेरै वर्षसम्म आफ्नो वाचालाई निरन्तरता दिइन् । राति दुई तीन बजेसम्म लेखिरहन्थिन् उनी । एक्लो जीवनको बलियो साथ बनेको उनको कलम आज पनि उसैगरी रात रातभर साथ दिन्छ । आज पनि राति निद्रा नलाग्दा लेखेरै बस्छिन् उनी ।

कसिङ्गर (२०३४) उपन्यासमा उनले फालिएको बालकको अस्तित्वलाई स्वीकार्न समाजलाई आह्वान गरेकी छन् । सौगात (२०४६)मा उनले दुई नम्बरी धन्दा गर्ने व्यापारीको करतुतबाट पीडित बनेकी एउटी महिला पात्रको जीवनलाई उभ्याएकी छन् भने आवाज (२०४७)मा गाउँबाट शहरमा काम गर्न ल्याइएकी बालिकाको अधिकार र समाज परिवर्तनको आवाजलाई घन्काएकी छन् । सानैदेखि दरवारिया परिवेशका बारेमा जानकार रहेकी केशरीले मुक्ति (२०४८)मा त्यहाँको चालचलनलाई उतारेकी छन् । यो ऐतिहासिक तथा राजनीतिक विषयमा आवद्ध छ । खोज (२०५०)मा जेलमा अपराधीसँग थुनिएका तिनका बालबालिकाको समस्यालाई मुख्य विषय बनाइएको छ । एड्स रोगको समस्याको आख्यानलाई उनले अन्तिम निम्तो (२०५१)मा बुनेकी छन् । विश्वास (२०५२)ले एउटी बाल विधवा नारीको आमा बन्ने अधिकारलाई टेस्टट्युब बेबीका माध्यमबाट सुरक्षित गरिदिएको छ । यसबाट केशरी नारी अधिकारका आवाजलाई घन्काउने स्रष्टा बनेकी छन् । खुला आकाश (२०५४)ले सडक बालबालिकाका समस्यालाई मुख्य विषय बनाएको छ भने नोकरी (२०५५) प्रशासनिक विषयसँग सम्बन्धित छ । निष्कर्ष (२०६०)ले अभिभावकको पैसाले बिग्रिएका छोराछोरी र समाजमा बढ्दै गएको समस्या बलत्कारको घटनालाई समेटेको छ । बदलिँदो क्षितिज (२०६६)ले नेपालको सशस्त्र द्वन्द्वका साथै जातीय विभेदका कारण समाजमा उब्जिने गरेका समस्यालाई उठाएको छ । फक्रँदो कोपिला (२०६९)मा किशोर केटाकेटीलाई मुख्य विषय बनाई त्यस उमेरमा अभिभावकले पूरा गर्नुपर्ने दायित्वलाई देखाइएको छ भने भर्खर लेखेर सकिएको केशरीको तेह्रौँ उपन्यास 'आमा'ले अनाथ बालबालिकाको सेवा गर्ने एउटी सन्तानहीन महिलाको मनलाई सम्मान गरेको छ । उनका तीनओटा कथासङ्ग्रह तरङ्ग (२०५७), भुमरी (२०५९) र लहर (२०६५) पनि प्रकाशित छन् ।

आख्यान नै किन त ? मेरो प्रश्नमा केशरीको उत्तर यस्तो भेट्छु, “म खुम्चिएर लेख्न सक्दिनँ । आख्यानमा आफ्नो विचारलाई बिस्तारमा राख्न पाइने थुप्रै ठाउँ हुन्छ । ठाउँ ठाउँमा यस्तो प्वालहरू मिल्छन् जहाँ आफू स्वाट्ट छिर्न सकिन्छ । कुनै कुनै पात्रबाट आफ्ना कुरा बोलाउन पाउँदा मज्जा लाग्छ ।”

एक वर्षअघि गीता केशरीको लेखन प्रवृत्ति बारेको छोटो टिप्पणी अहिले पनि ल्यापटपमा सुरक्षित रहेछ । उनको आख्यानकारिताका बारेमा मैले लेखेकी रहिछुः पारिवारिक, सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा व्याप्त नारी शोषणका विविध रूप र परिस्थितिलाई अन्तर्वस्तुतका रूपमा लिइएका यिनका आख्यानमा मानव जीवनका सङ्घर्ष तथा सबल र सशक्त नारी चरित्रलाई प्रस्तुत गरिएको छ । उनका धेरैजसो आख्यानमा नेपाली समाजमा रहेको विभेदपूर्ण लैङ्गिक व्यवहारले उब्जाएका समस्या र त्यस्ता समस्याको निवारणको कोशिस गरिएको छ । वर्णनात्मक र चित्रात्मक शैलीमा लेखिएका उनका आख्यानहरूमा विषयवस्तुको संयोजन र आख्यानीकरणको कला बलियो देखिन्छ । 

आज जेठी छोरी डा. नीलु केशरी चौधरी सपरिवार क्यानडामा बस्छिन् । माइली छोरी डा. निशा केशरी भट्ट वी पी कोइराला मेरोरियल हस्पिटल धरानमा बच्चाको डाक्टर बनेर बालकहरूको सेवा गरिरहेकी छन् र डाक्टर पतिकै साथ आफ्नो जीवन अघि बढाएकी छन् । कान्छी छोरी नीता केशरी भट्टराई पनि उच्च शिक्षा सकी बहिरा तथा सुस्त श्रवण शक्ति भएका व्यक्तिहरूको संस्था श्रुति एसोसिएसनबाट समाजसेवा गरिरहेकी छन् । विशालनगरको अढाई तले घरलाई गीताले अफिस जस्तै बनाएर साहित्य सेवा गरिरहेकी छन् । गुञ्जनका सबै बैठक र कतिपय कार्यक्रमहरू यहीँ सम्पन्न हुन्छन् । सबैलाई हार्दिक व्यवहार जस्तै मीठो खाजाको आतिथ्य दिन सधैँ रमाउने गीता केशरी संस्थाका सदस्यलाई आफ्ना परिवार सरह व्यवहार गर्छिन् । गुञ्जनमा नयाँ नयाँ कामका लागि सधैँ योजना बुनिरहेकी हुन्छिन् । नारीहरूको यो साहित्यिक संस्थालाई बलियो बनाउन उनको सपनाले सधैँ पखेटा हालिरहेको हुन्छ । पन्त स्मृति प्रतिष्ठान, ट्रान्सपरेन्सी इन्टरनेसनल, केशवराज केशरी मेमोरियल छात्रवृत्ति कोष, उपन्यास समाज जस्ता संस्थासँगको आबद्धताले उनको जीवन निरन्तर सक्रिय छ । 
सहयोगी बहिनी सरस्वतीले ल्याएको फलफुल र लस्सी खाँदै कुरा गर्दा सभामा तीन घन्टा बितिसकेछ । आजै अर्को ठाउँमा पुग्नुपर्ने समय पनि दिदीकै कोठामा पो खसिसकेछ । केही छुट कुरा र तथ्य फोनैबाट सोध्ने अनुमति लिएर दिदीसँग बिदा हुन्छु । बाहिर निस्किँदा आश्विन पहिलो हप्ताको पूर्णिमा पक्षको तृतीया तिथिको कञ्चन आकाशले छरेको पश्चिमी दिशाको उज्यालो प्रकाशले छिटो छिटो अघि बढ्न निर्देशन दिँदै हुन्छ मलाई । गुड्दै गर्दा नारी चुली र सीमान्त आकाशमा नरेन्द्रराज प्रसाईँ र नेत्र एटमले कोरेका गीता केशरीको शब्दचित्रलाई पनि सम्झिरहेकी हुन्छु ।


साभारः गरिमा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |