हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

चिन्तन –– आगो र विवेक

विपुल सिजापति, (काठमाडौं)

गर्मी बढ्दो छ । पृथ्वीमा पनि र मानिसको चरित्रमा पनि । हाम्रा पुर्खाले बर र पिपललाई त्यसै पूजा गरेका होइनन् । जथाभावि काटलान भन्ने डरले यिनलाई भगवानको रूप भनेर पूजा गर्न लगाएर हृदयमा त्रास भरिदिए । अझै हिच्किचाउँछौ घरको कौशीका चेपमा उम्रिएका पिपललाई उखालेर फाल्न । हामीले चोला बदलिसकेका छौँ, त्यसैले बिना संकोच भनिदिन्छौँ, "हाम्रा पुर्खा मूर्ख थिए, रुखलाई पूजा गर्थे ! रुख पनि कहीँ ईश्वर हुन्छ र !" निर्भय हामी काटिदिन्छौँ बर र पिपल ।
 
कमी सायद चेतनाको प्रवाहमा भयो । कमी सायद मूलतत्व बुझाउने संस्कारमा भयो । कमी सायद ज्ञानलाई पुस्तामा हस्तान्तरण गर्दा भयो । हिउँदान्त सम्म रहने र वसन्त अगावै पलाउने बरपिपलका लाखौँ पातले वायु प्रशोधन मात्र हैन तापक्रम नियन्त्रण र छहारी समेत दिने भएकोले यिनलाई काट्नु हुन्न भनेर गुदिकुरा भनिदिनुको सट्टा डर देखाएर हामीलाई चुनौती दिए । चुनौती थियो र त हामीले पनि स्विकारेर काट्यौँ र केही असर नपरेकोमा यसलाई आफ्नो पुरुषार्थ सम्झियौँ । नतिजा पानीको मुहान सुक्दै गयो, बनबिनासले पहिरो जान थाल्यो र  गर्मी बढ्यो ।
 
गर्मी बढ्यो र त हामी काकाकुल भएका छौँ । गत जुन ५ तारिखको विश्व वातावरण दिवसको अवसरमा देखाईएको एउटा चित्रमा सयौँ खाली गाग्राहरु लामबद्ध थिए । चित्र हेर्दा लाग्दथ्यो यी गाग्राहरु कम्तीमा दुई दिनदेखि पानीको प्रतीक्षामा छन् । काकाकुल बनेका हाम्रो आँखाबाट मेलम्चीको सपना तुहिँदै छ र त्यसलाई अर्को सपनाले प्रतिस्थापन गरिदिएको छ, एकदिन एउटा ठूलो ट्याँकर आएर यिनका खालीपन भरिदिएर हाम्रो प्यास मेटाइदिने छ । तर कहिले ? प्रश्न अनुत्तरित छ र लामो समयसम्म अनुत्तरित नै रहने छ । हामी चिन्तित हुन्छौ भविष्यलाई लिएर । भविष्यको निर्माणकर्ता त हामी स्वयम् नै होइनौ र ? भविष्य त हाम्रा हिजोका र आजका कर्मफलका एकएक इटले निर्माण गर्दछ भने हिजो गरेका र आज गरिने कर्मको चिन्तन गर्नुको साटो हामी भोलिको भविष्यको चिन्ता गर्छौ, सानो पाठ पनि बिर्सन्छौँ, "चिन्ता चिता समान ।"
 
चितामा पनि अग्नी प्रज्वलित हुन्छ र चिन्तामा पनि मनमा आगो महसुस हुन्छ ।  मानिस पृथ्वी तेज जल आकाश र वायु पाँच तत्वको सम्मिश्रण हो । तेज अर्थात् अग्नी । प्रकृति प्रदत्त मानिसमा अग्नी समाहित छ । यसलाई अन्य तत्वले भडकाउँछ, तेजोमय बनाउँछ । अहङ्कार, वैर, ईर्ष्या र प्रतिशोध यी चार अग्नीका इन्धन हुन र यसलाई अधैर्य र अविवेकका हावाले उग्र बनाउँछन् । जब अग्नी उग्र हुन्छ तर हामी मानव स्वभावबाट भटकिएर बिभावमा जान्छौँ र बिभावले ज्वालाको रूपमा क्रोध, व्देष र घृणा ओकल्छ भने धुँवाको रूपमा शरिरलाई नै जलाउँदै भय फैलाउँछ  ।
 
भय अर्थात् मूढता, भय अथात विवेक शून्यता, भय अर्थात् कर्तव्य बिमुखता, कर्म चिन्तनमा ह्रास । बृक्षमा पात पलाउनु र झर्नु प्राकृतिक रित हो, अनवरत चलिरहन्छ । यसले प्रकृतिलाई बचाउँछ, प्रकृति बचे पृथ्वी बच्दछ र पृथ्वी बचे सारा चराचर जगत र यो ब्रम्हाण्ड नै बच्दछ । प्रकृति भयभित हुँदो हो त यो रित उहिल्यै रोकिन्थ्यो, तब न त तिमी हुन्थ्यौ न त तिमी र म मिलेर हामी नै हुन्थ्यौँ । जड मानिएको प्रकृति नै भयभित छैन भने विवेकशील हामी किन भयभित हुने ?
 
एक गुरुले प्यासले छटपटाएका चेलाहरुलाई कुवामा लिएर गए । सबैले कुवामै मुख डुबाएर पानी खाए । गुरुले सोधे, कस्तो "अनुभव भइरहेछ तिमीहरुलाई ।"
एउटा चेलाले भन्यो, "गुरुवर प्यास त मेटियो तर तृष्णा मेटिएको छैन ।"
गुरुले भने, "वत्स, तिमीले झुकेर अञ्जुलीमा जल उठाएर पिएको भए तृष्णा पनि मेटिन्थ्यो । तर तिमी झुकेनौ र कुवाले पनि तिम्रो अभिमानलाई स्विकारेन । फलतः तिम्रो तृष्णा मेटिएन ।"
चेलाहरुले कुँवाबाट अञ्जुलीमा जल उबाएर पिए, तृष्णा मेटियो ।
तात्पर्य के भने, जब मानव शरीरमा तेज वृद्धि हुन्छ तब विवेक कमजोर हुन जान्छ । फलत स्वभाव बिभावमा परिणत हुन्छ । जब बिभाव जन्मिन्छ तब बिकार जन्मन्छ । तेज समन गर्नै पर्छ, विवेकलाई ज्युँदो राख्नै पर्छ तब मात्र सुकर्म सम्भव छ ।
 
मानिसमा विवेक छ, त्यसैले अकर्म या कुकर्मको त्याग गर्दछ र सुकर्म लक्षित हुन्छ । जियन ज्याक रुसोले भने, Man is born free but everywhere he is in chain. मानिसको जन्म त स्वतन्त्र रूपमा नै हुन्छ तर जन्मिए पश्चात् अनेक साङलामा बाँधिन्छ । पाश्चात्य दर्शनको नमुना हो यो । तर होइन्, हाम्रा प्यारा कवि माधव घिमिरेले भनी दिए "जन्मदै देखि बाँधिएर आएँ म आफ्नै नाभिले ।" पूर्वीय दर्शनमा यही त गहिरो भेद छ । सृष्टि र बिनास निरन्तर चलिरहन्छ र प्रतेक जीव कुनै न कुनै विशेष उदेश्य सहित जन्मन्छ । नाभि देखि नै कर्मले बाँधिएर । हजारौँ फूल एकैसाथ फुल्छन् तर केही मात्र देवशिर चढछ । ऋतु बदलिन्छ, शिशिरमा धरा उजाड बन्दछे । तर धराको कोखमा लाखौँ बीज सुरक्षित हुन्छ, खोक्रो हुँदिनन् ।
 
आफूभित्रको अग्नीलाई समन गर्दा विवेकशील मानिस पनि खोक्रो हुँदैन । गाग्रोबाट लोटामा पानी खन्याउँदा गाग्रो रित्तिदै जान्छ र लोटा भरिदै जान्छ । तर के यसरी दिँदा र लिँदा पनि दुवै भरिने कुनै अवस्था छ कि ? अवश्य छ ।
 
आगोले आगो नै जन्माउँदछ । आगोमा कुनै चिज छुवाउँदा त्यो पनि सल्किन्छ । क्रोध पनि त आगो नै हो, चिन्ता पनि त आगो नै हो । तर ज्ञान र विवेकको पानी छम्किएपछि यी आगो शान्त हुन्छ । आगो शान्त त हुन्छ तर भुंग्रा अझै बाँकी रहन सक्छ । भुंग्रालाई क्षमाले सम्याइदिन्छ । क्षमा दिनेको हृदय प्रफुल्लताले भरिन्छ, भावसुद्धि भएर मैत्रीभावले साम्राज्य गर्दछ भने क्षमा पाउनेको हृदयबाट भयको निष्कासन हुन्छ । भयको निष्कासन अर्थात् हृदयमा शान्ति र निर्मलताको बास । क्षमादाता र क्षमा प्राप्तकर्ता दुवै भरिभराउ हुन्छन् । खै कहाँ रह्यो गाग्रोबाट लोटामा पानी खन्याउँदाको परिणाम र अवस्था ?
 
कवि गंग (वास्तविक नाम गंगाधर) अकबरका दरबारका कवि थिए । गंगको दुई छन्दमा रिझिएर रहीमले (वास्तविक नाम अव्दुर रहीम खानखाना) ३६ लाख रुपैयाँ गंगलाई दान दिए । रहीमको दानशीलता र बिनम्रताबाट प्रभावित भएर गंगले उनको बारेमा एउटा दोहा लेखेर पठाए ।
सीखे कहाँ नवाब जू, ऐसी दैनी दैन
ज्योँ ज्योँ कर ऊँचो कियौ त्योँ त्यो नीचे नैन
खनखानाले बडो सरलतापूर्वक उक्त दोहाको उत्तर दोहामे लेखेर पठाए
देनहार कोउ और है देत रहत दिन रैन
लोग भरम हम पै करेँ तासोँ नीचे नैन
 
अहो ! यहाँ त दाता समेत लज्जित छ ।
 
क्षमा आत्माको नैसर्गिक गुण हो । सुशुप्त भए जागृत गर्नु पर्दछ । क्षमा बाट नै क्षांति उत्पन्छ हुन्छ । क्षांति अर्थात् क्षमा, सहिष्णुता, धैर्य र तितिक्षाको संगम । दानमा जस्तो परं सुख अन्त कहाँ ? न त धनको खर्च न त कायाकष्ट । तर दुविधा अझै मनमा रहन्छ । क्षमा पछि लाछिको आरोप लाग्ने डर । महाशय क्षमाभित्र रत्तिभर लाछिपन हुँदैन । उल्टो दृढता वीरता निर्भयता, साहस उदारता र दृढमनोवलको लेपन हुन्छ क्षमामा । त्यसैले त क्षमालाई “क्षमा वीरस्य भूषणम्” भनिन्छ ।
 
अबोध बालकले कहिल्यै माग्दैन, आवश्यकता बुझेर दिनुपर्छ भने कसैले क्षमायाचना मागेन भन्दैमा नदिनु  पनि त न्याय होइन् नि ! बबंडर पछि शान्ति हुन्छ, अग्नी समन पछि शान्ति हुन्छ । दुई हृदयमा फैलिएको वैमनष्यता पखाल्न क्षमायाचना र क्षमादान हुनैपर्छ । तब हृदयमा शान्ति हुन्छ, भावशुद्धि हुन्छ, निर्भयताको जन्म हुन्छ र मैत्रीभावको जन्म हुन्छ । “आत्मवत् सर्वभूतेषु को सदभाव नै मैत्रीभावको आधारभूमी हो ।
 
मानिसलाई विवेकले ज्यूँदो राख्छ । जडता र कठोरता त मुर्दामा मात्र हुन्छ तर शरीर त ज्यान हुँदासम्म कोमल नै रहन्छ । कोमलता हुनको लागि तरलता चाहिन्छ । भावमा तरलता, सोचमा तरलता, कर्ममा तरलता र विवेकमा तरलता । डढेलो लाग्दा जङ्गलका रुख जल्दैनन्, जल्ने त सुकेका बोटबिरुवा जल्छन् । रुखसँग त प्रचुर मात्रामा तरलता हुन्छ कसरी जलुन ! तापबाट बच्न मानिसका भावमा, सोचमा, कर्ममा र विवेकमा तरलता हुनैपर्छ ।
 
क्षमाभाव नै मानवताको लागि वरदान हो । संसारमा सौहार्दता, सहिष्णुता, समता र शान्तिको प्रसारण गर्ने अमोघ उपाय यही हो । शान्ति अर्थात् उन्नति, यावत् जीवको कल्याण । हाम्रा पुर्खाले वेदमा त्यसै शान्तिको लागि ईश्वरसँग याचना गरेका होइनन्
 
ॐ ॐ ॐ द्यौ शान्तिरन्तरिक्षं शान्तिः पृथ्वी शान्तिरापः शान्तिः रोषधयः शान्तिः
बनस्पतयः शान्तिर्विश्वेदेवः शान्तिव्र्रह्मशान्ति सर्व शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि
ॐ ॐ ॐ शान्तिः शान्तिः शान्तिः ।।
 
प्रभु, जल, थल, गगन अन्तरिक्ष, पवन, औषध वनस्पति वन उपवन, विश्व जड चेतना, त्रिभुवन तथा अग्नीमा समेत शान्तिको कामना गर्दछु ।
 
प्रभु ! ईश्वर !
 
हिन्दु धर्मको आधार वेद हो र वेदलाई मानेको खण्डमा वेदले ईश्वरको बारेमा भन्छ, निर्गुण निराकार, सर्वशक्तिमान । भौतिक विज्ञानले कुनै वस्तुको कणलाई टुक्राउँदै जाँदा अणु निस्कन्छ, अणुबाट परमाणु । परमाणुलाई टुक्राउँदा इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन । इलेक्ट्रोनलाई टुक्राउँदा मेसान र मेसानलाई पनि टुक्राउँदा अन्तिम रूपमा साउण्ड र लाइट निस्कन्छ भनेर व्याख्या गरेको छ । यसलाई मानेर एकपटक पृथ्वीको सृष्टि कसरी भयो भनेर चिन्तन गरौँ त ।
यही परम शक्ति नै ईश्वर हो र यसको अंश हामीमा पनि छ । त्यसैले वेदमा भनिएको छ, "अहं ब्रम्हास्मि," "स्वहं ब्रम्हास्मि ।"
 
तात्पर्य के भने शान्तिको कामना उक्त उदघोषित ईश्वरसँग गरेको नभएर स्वयम् हामी आफैलाई नै गरिएको छ । शान्ति कामनाको पवित्र उदेश्य पनि जगतकै लागि गरिएको छ
सर्वे भवन्तु सुखिनः सर्वे शन्तु निरामया
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत
 
मेरा मित्रहरू, बन्धुबान्धवहरु, आगो आवश्यक छ तर नियन्त्रित रुपमा । आगोको प्रकृति नै जलाउनु हो, सम्पर्कमा आएको हरेक चिजलाई निल्दछ, भष्म बनाउँछ । त्यसैले नियन्त्रण गरौँ, समन गर्ने चेष्टा गरौँ । विवेक खोलौँ र शान्ति कायम गरौँ ।
 
ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः

 

Comments

Bipul Sijapati

सुरेशजी, गल्ती, लापरवाही र अपराध फरक कार्य हुन् । अबोध बालकबाट हुने कार्य गल्ती हो, क्षमा दिन सकिन्छ । भलो गर्न चाहँदा गरिएको कार्यबाट उल्टो परिणाम निस्किन्छ भने त्यसमा लापरवाही हुन्छ, पश्चाताप गर्नेलाई सुधारात्मक कारबाही या क्षति हेरेर क्षमा गर्न सकिन्छ तर गर्न हुँदैन भन्ने ज्ञान, कानुन र दण्ड बुझेर पनि कानूनसम्मत कार्य नगर्ने अपराधीलाई क्षमा गर्न सकिन्न, दण्डित गर्नै पर्दछ । 

Suresh

Chhema dinu vanna sajilo chha tara kasaile tapaiko choriko 
hatya gareko chha vane, ke tapaai chhema dina saknuhunechha?

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |