बयान
अमृत सुवेदी ‘गुराँस’, (पोखरा)
पहिले परिवारका सदस्य उचाल्यो र घर बिगार्यो
समयले मान्छे चिनाउँछ भनेर चित्त बुझाएँ
साहु उचाल्यो, घरखेत लिलाम गराइदियो
मेरा बलिया पाखुरीहरु छन् भनेर चित्त बुझाँए
गाउँले उचाल्यो, काम नदिनु भन्यो
मसँग हिम्मत छ, गरिखान्छु भनेर चित्त बुझाएँ
मैले कुटो कोदालो उचालें पाखुरी बजारें,
बञ्जरभुमीमा पसिना रोपें र भकारी भरें
उसले परिवार उचाल्यो,
सँधेंरी छिमेकी उचाल्यो
साहु उचाल्यो
गाउँका मान्छे उचाल्यो
म हिड्ने बाटो वरिपरिका मान्छेहरु उचाल्यो
म केही बोलिन,
मात्र धन्यबाद बोलें
यसपटक भने म नराम्ररी विस्फोट भएँ
चट्याङ भएर पड्कें
म अचानोबाट तरबार भएँ
र, काटिदिँए कुरुप मानसिकताको चुचुरो
आगो भएर दन्कें
र जलाइदिँए घमन्डका पहाडहरु
जब मेरा आँखाले विध्वंश बाहेक केही देखेन
बाँकी केके गरें थाहा भएन महाशय
किनकी,
यसपटक उसले अरु कोही,केही उचालेको थिएन
मेरै इज्जत उचालेको थियो