हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

साहित्यः एक बिवेचना

विपुल सिजापति, (हरिसिद्धि, ललितपुर ।)

साहित्यसंगीतकला बिहीनः साक्षात् पशुः पुच्छविषाणहीनः

आजभन्दा लगभग दुई हजार वर्ष अगाडि महात्मा भर्तृहरिको मुखारबिन्दबाट निस्किएको यो वाक्यमा खुब घोत्लिन मन लाग्यो । आफ्नो राजपाट त्याग गरेर गिरीगुफा रोजेका चक्रवर्ति सम्राटको मुखारबिन्दबाट यस्ता वाक्य निस्कनुले अवश्य नै सोच्न बाध्य बनाउँछ । कहाँ सुखसुविधा र बैभव सम्पन्न राजपाट र कहा गिरीगुफा र कन्दमूल भक्षणबाट जीवन गुजारा ! रागव्देषहीन प्रशान्तहृदय मनश्वी महात्माको मुखारबिन्दबाट यति कठोर वाक्य ! जन्म, शिक्षा र संस्कारकै आधारमा बिचार गर्ने हो भने पनि प्रजापालक राजाबाट यति कठोर र अभद्र वाक्य निस्कन त नपर्ने हो । उनलाई काब्य साहित्यसँग प्रेमाधिक्यतालाई नै कारक तत्व मान्दा पनि यो न त भद्रजनोचित कार्य हो न, त साहित्यमर्मज्ञबाट निन्दा र तिरस्कारयुक्त यो वाक्य उचित प्रतित हुन्छ भने, महात्मा भर्तृहरिले यो वाक्य किन भने ? कि उनलाई अन्य शास्त्रको ज्ञान नभएकोले यस्तो कुरा भने ?

के साहित्य सङगीत र कला बिहीन व्यक्ति सिङ र पुच्छर नभएको पशु नै हो त ? यसको उत्तर त्यति सजिलो छैन र साधारण व्यक्तिको लागि यो अमान्य तर्क र सोच पनि हो । उत्तर दिनु अगाडि मानिस र पशुबचिको अन्तर खोतल्नु जरुरी लाग्दछ । सबैकुरालाई अविषेश रूपले देख्ने र बस्तुहरुमा विशेषता नदेख्ने गुणयुक्त मन्दमतिधारक जीव पशु हो । पराल र पोषिलो हरियो घाँसमा अन्तर पशुले मात्र देख्न सक्दैन, मानिसले त देख्दछ । गम्य र अगम्य स्थानको ज्ञान पशुलाई बिल्कुलै हुँदैन तर मासिलाई स्पष्ट ज्ञान हुन्छ । मानिसले विपरीत लिङिगलाई पनि एक मयादामा बाँधेको छ, एक नातामा बेह्रेको छ, एक अदृश्य सीमारेखा कोरेर अलग्ग बस्छ तर पशुले केवल समान लिङिग या विपरीत लिङिग भनेर मात्र छुट्याउँछ, घोडाले घोडामा नै कुनै आकर्षण देख्दैनन बरू घोडीमा, चाहे त्यो जननी होस् या एकै कोखकी भगिनी, त्यसैमा आकर्षण देख्छ । माउले हरियो घाँस देख्ने बित्तिकै आफैले भक्षण गर्छ, बाच्छाको लागि भनेर छोडदैन । यस्ता अविशेषदशिर्ताका लाखौँ उदाहरणहरू दिन सकिन्छ । समग्रमा पशु शब्द लक्षणाबाट आएता पनि कुरा या वस्तुमा निहित मिहिनतालाई छुट्याउन नसक्ने स्थूलदर्शि र अविवेकी मगजयुक्त प्राणीलाई पशुको विशेषण नै उपयुक्त हुन्छ । यही नै पशु र मानिसबीचको अन्तर हो ।

पाइला पाइलामा भावना र भावुकताको आवश्यकता पर्ने शास्त्र नै साहित्य हो । एक व्यक्तिले आफ्नो मनको बहलाई शब्द मार्फत व्यक्त गर्दछ र अर्को व्यक्तिले व्यक्त भावलाई महसुस गर्दछ । तर यो मानिसमा निहित विवेक र ज्ञानको परकाष्ठा नै हो जसले ऊ अवाक पशुहरुको चेष्ट बुझ्न समर्थ छ, अस्वाभाविक कार्य र श्वासप्रश्वासमा समेत चनाखो भएर कारण खोज्न समर्थ छ । मानिसले नवरसको स्वाद लिन सक्छ, मानव मात्र हैन अपितु पशुपंछीको हृदयको गहिराइमा रहेको भावलाई पनि बुझ्न सक्छ । वसन्तका पल्लवित फूलहरू देखेर रमाउँछ, हिमाच्छादित हिमालहरु देखेर मुग्ध हुन्छ, अबोध बालकहरुको तोतेबोली र चेष्ठाहरुमा प्रसन्न हुन्छ, वनको कोइलीको गायनमा लट्ठ पर्छ तर न्याउली रुँदा पीडा महसुस गर्छ, मार हानेर छट्पटाएको पशु देख्दा करुणा पोख्छ । किनभने मानिसमा भावुकता हुन्छ र यी सबै अनुभव गर्दछ । तर पशुमा भावुकता हुँदैन । यिनै भावकुताले ओतप्रोत व्यक्ति नै साहित्यको सच्चा अनुरागी हो, निर्मल स्वच्छ र कोमल हृदयधारी व्यक्ति नै साहित्यको सच्चा अधिकारी हो जसलाई प्रतेक भावले तुरुन्त प्रभाव पार्दछ र त्यसैमा तन्मय हुन्छ । भावुकता भएकै कारण बालक ध्रुबले बिमाताको बचनमा तपस्या गर्न गए, पीडा बोध गरेकै कारण युवराज सिद्धार्थ दुःखपीडा हरणको मार्ग खोज्न राजपाट र परिवार त्याग गरेर निस्किए । आधा उमेर डकैती र रहजनी गरेर बिताएका बाल्मिकीको मुखबाट त मानिषादनिस्कियो भने यो जगतमा भावुकतारहित मनुष्य को होला र ? भावुकतारहित रटेर मात्र साहित्यको व्याख्या गर्नु त गोपी कृष्ण को ?” भनेर लगातार भट्याईरहने सुगालाई महापण्डितको पगरी गुथाइदिनु मात्र हो । जसमा भावुकता छैन, जो प्रकृतिको सुन्दरतालाई परख गर्न सक्दैन, जो प्राणीहरुको हृदयगत भावलाई बुझ्दैन, त्यसलाई पशु भन्दामा अत्युक्ति नहोला । सायद यसै कारणले महात्मा भर्तृहरिले भनेको हुनुपर्छ

साहित्यसंगीतकला बिहीनः साक्षात् पशुः पुच्छविषाणहीनः

र यसैलाई समर्थन गर्दै बाणभट्टले पनि भनिदिए,

सुभाषितं हारि विशत्यधो गलान्न दुर्जनस्यार्करिपोरिवामृतम

तदेव धत्ते हृदयेन सज्जनो हरिर्महारत्नमिवातिनिर्मलम् 

 

साहित्यमा कुन भाव अछुतो रहेको छ रु कुन विषय अछुतो रहेको छ ? परब्रम्ह द्रष्टा साहित्यकारको चक्षुबाट अदृश्य के नै रहेको छ र ! सर्वपथगामी यी साहित्यकारहरुले जे देख्यो त्यसैलाई व्याख्या गरिदिए, जे भेट्यो त्यसैको अन्तस्करणको भावलाई छताछुल्ल पोखिदिए । हरेक रसमा काव्य श्रृजना गरे, भाव, बिभावलाई सुन्दर, स्वादिष्ट र आत्मसात गर्ने तरिकाले प्रस्तुत गरिदिए । शब्दशब्दमा अर्थ, वाक्यवाक्यमा बोध र पूर्ण पाठमा सन्तुष्टि सहितको कला र मार्गदर्शन दिए ।

बेस छ बजै भन्यो भने बेस्से भनिस् भन्दथिन्

अरू जब हाँडी भन्दथे ऊ त राँडी सुन्दथिन्   - सम

कति काउकुति लगाउँछन् यस्ता श्रृजनाले, कति आनन्दित बनाउँछन् यस्ता रचनाले । यो पढेर ओठमा मुस्कान रोक्न सक्ने को छ ? यहाँ नमुस्कुराइकन बस्न सक्ने को छ ? पढेर जो मुस्कुराउन सक्दैन, उसैलाई महात्मा भर्तृहरिले पशु भनेका हुनन् ।

 

सामान्यतः साहित्य या रचना विषयवस्तु र भावबोध बाहेक एक कला पनि हो । बिरह, बियोगमा हृदयबाट निस्केको आहःलाई भाव बनाएर मनका उत्कण्ठा पोख्न शब्दहरू चाहिन्छ,संकलित शब्दरासलाई कुनै निश्चित विधा चाहिन्छ र विधामा बाँध्न कला अवश्य चाहिन्छ । यही कलाले रचनामा भाव र संवेदनाको सूक्ष्म रूपको उत्पत्ति गर्दछ जसलाई शब्दमा चित्रित गर्न मुस्किल हुन्छ । त्यसैले चतुर पाठक वक्ताको शब्द र रचनाको अर्थमा मात्र नअल्झिएर साहित्यको तात्पर्य बुझ्न वक्ताको हृदयमै पस्ने गर्दछन् । नत्र, हात हेर्ने ज्योतिषले कसैलाई  खुब भाग्यमानी हुनुहुँदो रहेछ, छोराले सोह्रै वर्षमा घर धान्ने छ,” भन्ने कुरामा कृतज्ञ र प्रफुल्लित हुनु बराबर हुन जान्छ । वक्ताको हृदयको भाव छोरा सोह्र वर्षको हुँदा यहाँको निधन हुन्छ  भन्ने हँदा पनि पाठकले लायकको छोरा पाइएछ, सोह्रै वर्षमा घरधान्ने भाग्य लिएर आएको रहेछभनेर रमाएझैँ हुनु हो । अन्य शास्त्रमा अभिधा र अभिधात्मक अर्थको बडो मान छ । यस्ता उक्ति र भनाइलाई उत्तम र प्रमाणित मानिन्छ । तर साहित्यमा भने अलि फरक छ । प्रमुख भनाइलाई अभिधामा व्यक्त गर्नु त पाठकको रातदिनको चैन खोस्नु बराबरको अक्षम्य गल्ती नै ठहरिन्छ, भद्दा र रुखो मानिन्छ । किनभने कुनै पीडा धेरैले समान रूपमा महसुस गरेका हुन्छन् भने त्यसलाई शब्दमा वर्णन गरिहनु पर्ने आवश्यकता नै कहाँ छ र ! सबैले जानेको बुझेको र महसुस गरेको कुरालाई पनि बारम्बार भनिरहनु पर्छ र ? बोध गाइरहनु आवश्यक छ र ? “छोरो सोह्र वर्ष पुग्दा तँ मर्छस्भनेर ज्योतिषले भनिदिए उसको बालबच्चा भोकै मर्दैनन् र ? शब्दैले मात्र अभिधात्मक व्याख्या गरिदिने हो भने रसको आवश्यकता नै किन पर्यो र ! प्रतीकको खोजी नै किन गरिरहनु पर्यो र ! उपमा र अलंकार नै किन चाहियो र ! बिम्बलाई ढाल बनाएर आङ्खनो कुरा किन राख्नु पर्यो र ! साहित्य भनेकै भाव र भावनालाई कुशल र कलात्मक ढङगले शब्दमा युक्तिपूर्वक अरूलाई बोध गराउने कला हो ।

दृश्य त त्यही हो, कसैले त्यसलाई अश्लील देख्छन् कसैले श्लील । साहित्य त नग्नतामा पनि सुन्दरता देख्छ, त्यसलाई ताकिर्क, बौधिक र सुन्दर ढङगबाट प्रस्तुत गर्दछ ।

फूल बिना पहिरण जन्मन्छे

नदी नाङगै दौडन्छे ?”  समाश्री, वंशलोचन कवितासङ्ग्रह

कति ताकिर्क दृष्टान्त, कति बौधिक सोच, कति सुन्दर प्रस्तुति । खै साहित्यले नग्नतामा अश्लीलता देखेको ?

 

छातीमा सारीको सप्को अलि माथि उठिसकेछ ।गुरुप्रसाद मैनाली, नासो कथासङ्ग्रह

सप्को माथि उठनुको अर्थ के हो ? कतै कथाकारले सारी लगाउन नजानेको कुरा त व्याख्या गरेका होइनन् ? या अश्लील रूपमा बक्षको आकारलाई सङकेत गरेका हुन् ? बुझ्नेले यसरी पनि बुझ्लान तर, त्यो कुनै कन्या युवती भएको भद्र चित्रण हो, सौम्य प्रस्तुति हो ।

मलाई दोष देऊ या देऊ उपहार ?

कालो रङगमा जे पोते हुन्छ ?”  गोपाल योञ्जन (म गलत पनि हुनसक्छु)

 

दोष या उपहारसँग कालो रङगको सम्बन्ध के ? म त यहाँ मनग्गे दर्शन देख्दछु, असीमित फैलावटको चित्र देख्दछु । भावको अथाह गहिराइ देख्दछु, अर्थको बिशालता देख्दछु । स्थितिको प्रस्ट चित्रण देख्दछु । कालो रङगको थुप्रोमा जे मिसाए पनि कालै हुन्छ, कालोको अस्तित्व मेटिदैन, कालोलाई फरक पर्दैन । केही शब्दका हरफ मात्र होइनन् यी । शब्दैमा प्रकट गरिएका भाव हुन् यी । तर यसमा निहित सुन्दरता, भद्रता, बौधिकता, तार्किकता, कल्पनाशक्ति र शैली आदि नै साहित्य हो ।

अन्धकार हटाउन सूर्य प्रसिद्ध छ तर सूर्यको प्रकाश सन्तापदायक मानिन्छ । यसको विपरीत भगवती सरश्वतीको (साहित्यको) प्रकाश पनि अचेतनाको अन्धकार हटाउने भएकोले शशीको प्रकाश समान सदा शान्तिदायिनी मानिन्छ । उसो त शशीले पूर्ण हुँदा सबै ऋतुमा समान रूपमा प्रकाश फैलाउँछ र शान्ति दिन्छ । सामान्यजनलाई हरेक ऋतुको पूर्ण शशी समान नै प्रतीत हुन्छ तर बिध्वत्व्यक्ति यसमा पनि गुण केलाउँछन्, भेद खोज्दछन् र शरदिन्दु (शरदको पूर्ण इन्दु) लाई उत्तम मानिदिन्छन्, अन्य पुर्णिमाको भन्दा शरदको पुर्णिमामा शशीको कान्ती र शान्ति ज्यादा हुने भएकोले यसैलाई ज्यादा महत्व दिन्छन् ।

रचनामा कुनै न कुनै रसको प्रधानता अनिवार्य हुन्छ, रसविहिन रचना काब्य हुनै सक्दैन । शब्दले रस व्युत्पन्न र सञ्चार गर्न सक्दैन भने त्यो साहित्य नभएर मात्र बेस्वादका फल समान शब्दका पोका हुन् । धर्म, अर्थ, काम, मोक्ष, यी चतुवर्गको प्राप्ति नहुने निस्फल रचना पनि काब्य होइन् । राम्रो काव्यबाट मानिसले यी मध्ये कुनै एक प्राप्त गरेर कुशलता हासिल गर्दछन् र आफ्नो कार्यलाई सफलता पूर्वक सम्पन्न गर्दछन्, मोक्ष अर्थात् अज्ञानताबाट मुक्ति प्राप्त गर्दछन् ।

मानिसमा यदि एक थोपा मात्र भावुकता विद्यमान छ भने साहित्यले त्यसमा उत्साहको सञ्चार गर्नसक्छ, मानवताको सञ्चार गर्न सक्छ, बन्धुत्वको विकास गर्न सक्छ, नवरसको सञ्चार गर्न सक्छ, सत्य बोध गराउन सक्छ, जागृत गर्न सक्छ र मानिसलाई सिङ पुच्छर रहित पशुबाट निमूल गरेर संवेदनशील मानव बनाउन सक्छ । यही साहित्य हो, यही साहित्यको बिपुलता हो ।

सबैको जय होस् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |