गीत
श्याम तमोट, (काठमाडौँ)
कस्ले सोच्या होला र खै, कस्ले लेख्या होला
सपनीमा पनि यस्तो,कस्ले देख्या होला ?
हेर्दा हेर्दै आकाशमा कालो बादल आयो
धर्ती चल्यो, घर ढल्यो, अन्धकार छायो
भागाभाग, दौडादौड, कोलाहल स्वर
मृत्यु सामु परेपछि नभाग्ने को भो र ?
शताव्दीका सिर्जनालाई छिनभरमा हर्ने
मानवका गाउँ वस्ती सुनसान पार्ने
बाबा आमा, लाला बाला भेद नराखेर
लैजाने त्यो निर्दयीलाई को भयो र टार्ने ?
रुनसम्म रोए आँखा अब रुने छैनन्
अधैर्य र बिचलित अब हुने छैनन्
फेरी पनि सृजनाले पार्दै हराभरा
बनाउनु छ जिन्दगानी सिँगार्नु छ धरा ।
कस्ले सोच्या होला र खै, कस्ले लेख्या होला
सपनीमा पनि यस्तो,कस्ले देख्या होला ?