मैनबत्ति
बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनया)
बद्रिसँग निकै दिनपछि अकस्मात बाटोमा भेट भयो । सँधै उज्यालो र हँसिलो अनुहार लिएर मलाई या जसलाईपनि देख्दा परैबाट हाँसीहाँसी बोलाउने बद्रिको अनुहार निन्याउरो र उदास देखिन्थ्यो । अरु बेला रिटिक्क-चिटिक्क परेर हिँड्ने यस पटक त्यसको बिपरित थियो ।
अरु बेला भेट भयो कि चिया, कफी या खाजा खान जाउँ भन्थ्यो । कहिले त तानेर पनि लान्थ्यो । आज त्यस्तो केहि भनेन । आफुलाई भने यस निम्ताको बानी परिसकेको थियो र आज भन्यो भने 'कुमारी रेष्टुराँमा लैजा न; भन्छु भन्ने लागेको थियो । तर त्यो आश सुक्दै गएको अनुभव गरेँ ।
मैले सोधेँ: के छ बद्रि, हाल खबर? निकै भयो नभेटेको ।
उसले निन्याउरो अनुहारमा भन्यो "ठिकै छ यार|"
"अनि के सँचो छैन कि क्या हो?"
"होईन यार सँचै छ|"
"अनि किन त अनुहार र जीउ यस्तो? के गडबड पर्यो र?"
"के भन्नु खोई, आफ्नो त सबै चौपट भयो |"
मेरो मन भने झन् त्यो गडबड जान्न उत्ताउलो र आत्तिन थाल्यो ।
"होईन, के चौपट भयो भनेको? घरमा भाउजु, छोराछोरी परिवार सबै ठिकै छन्?
"अँ यार, ति सबै ठिकै छन्।"
"हरे, जाउँ हिँड, चिया खाँदै कुरा गरौँ ।" मैले आज बद्रिलाई चियाको निम्ता दिएँ पहिलो पटक । त्योपनि उसको बेहाल हाल बुझ्न ।
चिया सुर्काउँदै भनेँ "ल भन के भयो?"
"खोई के भन्नु यार, तिमीहरु सबै खुशी देखिन्छौ । आफ्नो भने ब्यापार चौपट भयो ।"
अझ खुलस्त नबुझेकोले सोधेँ "कसरी तिम्रो मैनबत्तिको ब्यापार चौपट भयो?"
"लोडसेडिँगले" उसको छोटो उत्तर थियो ।
ए.....लोडसेडिँगले गर्दा उसको मैनबत्तिको राम्रोसँग चलेको कारोबार ध्वस्त हुन पुगेको रहेछ । कुरा बल्ल बुझियो । सबैको मन मुहारमा दिएको लोडसेडिँगको उज्यालोले उसको मन मुहारमा अँध्यारोले वास गरेछ । बल्ल कुरा प्रष्ट भयो ।