हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विदेसिनु रहर कि बाध्यता

जेबी खत्री, ( )

कुन नेपाली होला जसलाई आफ्नो देशको माया नहोस । कुनै बेला म आफूलाई यति देशभक्त ठान्थेँ । मेरो नशानशामा दगुरेको रगतका कणकणमा देशको माया भरिएको छ । यस्तोसम्म लाग्थ्यो कि मलाई, देशलाई साँच्चो माया गर्ने चारजना नेपाली युवा छान्ने हो भने म पनि एउटा हो । सायद सबैलाई यस्तै लाग्ने गर्छ । हामी सबैलाई यस्तै लाग्नु पनि पर्छ । भनिन्छ, देशलाई माया नगर्नेले कसैलाई माया गर्दैन । कहाँबाट आयो ममा यति धेरै देशभक्तिको भावना ! आफैँलाई अचम्म पनि लाग्छ । कहिले त आफैँलाई प्रश्न गर्न मन लाग्छ । कतै म देशलाई चाहिने भन्दा बढी माया त गरिराखेको छैन ? यद्यपी पहिले पनि मलाई देशको माया औधी लाग्ने । सानो छँदा केटाकेटीमा पनि आफू जन्मे, हुर्केको गाउँ, ठाउँ, छरछिमेक, आफन्त । शत्रु नै किन नहोस । टाढाको देवता भन्दा गाउँको भूत नै बेस ठान्ने म सायद देशको माया मुटुभरि भएकै कारण आज म आफ्नै देशमा छु । नत्र म यतिबेला युरोपको कुनै देश पोर्चुगल वा पोल्याणमा हुँन्थेँ ।

 

युवा मन ता हो । भत्कदो रहेछ बेलाबखत जति कठोर भएपनि । कुनै बेला एक थोपा रगत चुहाएपनि,एक थोपा पसिना बगाएपनि,एक थोपा आसुँ झारेपनि आफ्नै देशको माटोमा चुहाऔं,बगाऔं वा झारौं भन्ने यो मन एकाएक बद्लियो । देशको मायाले मात्र पनि जिउन सकिदो रहेनछ भने जस्तो लाग्न थाल्यो । साथीभाइ, छरछिमेक, इस्टमित्र सबै विदेश । कसैको उन्नति, प्रगति कसैको अधोगति जे भएपनि आआफ्नो भाग्य हो । कसैले त्यहीँ कमाएका छन् । कोही त्यहीँबाट खालि हात फर्कने पनि छन् । आफू त भाग्यमा उति विश्वास नगर्ने मानिस । कहिले काहीँ त साँच्चै भाग्य हुँदो रहेछ कि क्याहो ? कहिले काहीँ जीवनका मोडहरूमा उभिएर हेर्दा यस्तो पनि लाग्छ । कहिले काहीँ त विचार पनि धरमराउँछ । मन पनि विटुलिन्छ । दिनदिनै देशको युवा शक्ति विदेसिने क्रम बढ्दै गएपछि त लहरै चल्न थालेको हो नेपाली युवायुवतीहरूमा विदेसिने । विदेश गएर दुईचार वर्ष दुःख गर्दा खाइजिवीकाको बाटो हुन्छ भने किन नगर्ने ? यही सोचले म पनि बाटो लागेको थिएँ । आजको जीवन शैली, बढ्दो महङ्गी, बेरोजगार समस्या, गरिवी आदि कारणले गर्दा नै आजका नेपाली युवाले विदेसिन बाध्य हुनुपरेको छ । आफू जन्मे, हुर्के, पढे, बढेको गाउँ, ठाउँ, आफन्त, छरछिमेक, घरपरिवार छोडेर विदेसिने रहर कसको पो हुन्छ र । बढ्दो महङ्गीका कारण सामान्य जीवन धान्नु वा दैनिक गुजारा चलाउनु पनि कमाउनु जमाउनु जस्तै भइसकेको छ हाम्रो देशमा । मासिक दसपन्ध्र हजारसम्म कमाउने बाटो आफ्नै देशमा हुने हो भने पनि जो कोही विदेसिने थिएन । दिनहुँ विदेसिने देशको युवाशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश जानबाट रोक्ने नारा र प्रतिवद्धता जुनसुकै राजनीतिक पाटीले गरेपनि त्यो यथार्थ र व्यवहारमा लागु हुन सकेको छैन । जसका कारण देशको युवाशक्ति दिनहुँ विदेसिने लहर बढेकोबढेकै छ । रोकिनेको ता कुरा छोडौं । कम समेत भएको छैन । दिनहुँ जसो विदेशबाट सन्दूकमा कैद भएर लास आउनु यसकै परिणाम हो ।                                                                                                

 

       स्वदेशमा रोजगार नपाएपछि र आफ्नो कुनै खाइजिविकाको बाटो नभएपछि विदेसिनु आफैंमा त्यति नराम्रो कुरा होइन । सकिन्छ भने रोजगार वा कामका लागि विदेश जानु राम्रो होइन । नजानु नै बेस हो । सकिदैन भने जानु पनि उति नराम्रो चाहिँ होइन । मर्नु भन्दा त बहुलाउनु निको भने जस्तो । यसरी जाने नै हुँदा जानु भन्दा पहिले आफू जाने देश, आफूले गर्ने काम, पाउने पैसा, सुरक्षा सम्बन्धि, जाँदा लाग्ने रकम आदिका बारेमा विस्तृत बुझेर मात्र जानु पर्दछ । वैदेशिक रोजगारमा जाने आफूले पनि यस्तो अठोट गर्नुपर्छ कि म त्यहाँ गएर जस्तो सुकै कठिन काम गर्नु परे पनि गर्छु । दुईचार वर्ष बसेर दुईचार पैसा कमाएर ल्याउँछु । म त्यहाँ दुःख गर्न जाने हो । दुःख गर्छु भन्ने दृढ अठोट र इच्छाशक्ति बनाएर जानु पर्छ । त्यहाँ तपाइँ जतिसुकै राम्रो भएपनि तपाइँ प्यारो हुने होइन । तपाइँको काम प्यारो हुने हो । काम गर्नुृ भयो भने त्यहाँ तपाइँले पैसा पाउनु हुन्छ । काम गर्नु भएन भने पैसा पाउनु हुन्न । अझ कतिपय खाडी मुलुकहरूमा त काम गरेको पैसा पनि नदिने वा कम दिने गरेको सुनिन्छ । काम गरेपछि पैसा पाइन्छ । आफूले लिन सक्नु पर्छ । कानुनी रूपमा भएपनि जान सक्नुपर्छ । यहाँबाट जाँदै आफू जुन कामका लागि जाने हो त्यो कामका लागि आफू सक्षम छु कि छैन वा आफूले त्यो काम गर्न सकिन्छ कि सकिदैन । त्यो कुराको राम्रोसँग हेक्का राख्नु पर्छ । त्यसपछि मात्र जानु पर्छ । हल्लाको पछि दगुर्नु हुँदैन । विदेशमा काम गर्न जाने वा लाने भनेकै युवा शक्ति हो । हाम्रो देशबाट मात्र होइन । विश्वका अधिकांश गरिव राष्ट्रका गरिव जनताहरू स्वदेशमा वेरोजगार भएपछि नै विदेशमा रोजगारीका लागि जाने हो । विश्वका विभिन्न विकशित, अल्पबिकशित, विकाशोन्मुख देशका बेरोजगार नागरिक वा युवा शक्ति नजिकैका दोस्रो  वा परका तेस्रो विकशित वा सम्पन्न मुलुकमा गएर काम गर्ने गरेको पाइन्छ । यस्ता देशहरूमा नेपाल बाहेक भारत, चिन, फिलिपिन्स, थाइल्याण, श्रीलङ्का, भियतनाम, इण्डोनेशिया, रूस आदि थुप्रै छन् । देशको युवा शक्ति विदेसियो भनेर बेलाबेला चिच्याउनेको सङ्ख्या हाम्रो देशमा ठूलो छ । चाहे ती राजनीतिक दलका नेताहरू हन् वा देशका बौद्धिक वर्ग । शासन सत्ता आफ्नो हातमा भएको बेला समस्याको जरो पहिल्याएर त्यसको दीर्घकालीन निराकरण गर्नपटी लागिदिए कति राम्रो हुने थियो । कुरा र नाराले मात्र देशमा परिवर्तन हुने भए सायद नेपाल आजसम्ममा विश्वकै अग्र स्थानमा हुने थियो होला ।

 

       तपाइँ कामदार, पर्यटक, व्यवशायिक वा जुनसुकै रूपमा विदेश जाँदै हुनुहुन्छ भने सकेसम्म कामदारको रूपमा नजानुहोस । सक्नु हन्छ भने यहीँ केही गर्नुहोस । यहाँ खुट्टा टेक्ने ठाउँ पाउनु भएन भने मात्र जानुहोस । यसरी विदेश जाँदा पनि तपाइँले त्यहाँ बसुन्जेल सिकेका राम्रा कुराहरू त्यहाँबाट फर्कदासँगै लिएर आउनुहोस । यहाँ ल्याएर त्यसलाई उपयोग गर्नुहोस । पर्यटक वा अन्य प्रयोजनले जाँदै हुनुहुन्छ भनेपनि आफू त्यहाँ बसुन्जेल वा त्यस देशको भ्रमण गरुन्जेलको समयावधिमा सिकेका, जानेका, बुझेका राम्रा कुराहरूलाई यहाँ ल्याएर उपयोग गर्ने गर्नुहोस । यसरी तपाइँ विदेशबाट फर्कदा त्यस देशमा भएका राम्रा पक्षहरूलाई मात्र लिएर आउनुहोस् । नराम्रा पक्षहरूलाई त्यहीँ छोडेर आउनुहोस । जहाँका भएपनि राम्रा पक्षहरू मानवहितका लागि राम्रै हुन्छन् । तपाइँ पढेलेखेको युवा भएपनि अनपढ भएपनि एक पटक घुमफिरकै लागि भएपनि विदेश जानुहोस । तपाइँले त्यहाँ धेरै कुरा सिक्ने र बुझ्ने मौका पाउनु हुनेछ । धेरथोर पैसा पनि कमाउनु हुनेछ । राम्रो र इमान्दरिताका साथ काम गर्नुहोस । राम्रो र इमान्दारिताकासँग काम गर्नुभयो भने त्यहाँ तपाइँ सबैको हाइहाइसमेत हुनसक्नु हुन्छ । यसरी जाँदा श्रमिकको रूपमा जाने भए श्रमको मूल्य भएको देश हेरेर जानुहोस । त्यहाँ जाँदा तपाइँलाई लाग्ने रकम, त्यहाँ गएर आफूले गर्ने काम, तलव र सुरक्षा आदिका बारेमा स्पस्ट भएर बैधानिक तरिकाले मात्र जानुहोस । म त हरेक युवाले एक पटक विदेश जानु पर्छ भन्छु । त्यहाँ गएर पाँचसात वर्ष बस्ने । केही कमाएको पैसाले त्यसपछि स्वदेशमै आएर केही गर्ने । यस्तो मनस्थितिले जानुहोस् । उतै पलायन हुने वा वर्षौवर्ष नफर्कने यो चाहिँ राम्रो प्रवृत्ति होइन । यस्तो मनस्थितिले चाहिँ विदेश नजानुहोस् । आफ्नो देश भनेको आफ्नो देश हो । आफ्नो माटो हो । आफ्नो देशको माटोको आफ्नो छुट्टै सुगन्ध हुन्छ । यो आफ्नै घर जस्तो हो । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दापनि प्यारो हुन्छ । विश्वको जुनसुकै कुनामा पुगेपनि नेपाली, नेपाली जस्तो भएर रहनुहोस । सधैं नेपाल र नेपालीलाई माया गर्नुहोस् ।

 

       यदि तपाइँ रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ भने सक्नुहुन्छ नजानुहोस् । सक्नु हुन्न जानुहोस् । कुनै निश्चित समयसम्म बसेर स्वदेश फर्कनुहोस् । उतै पलायन किमार्थ नहुनुहोस् । फर्कदा त्यहाँका राम्रा पक्षहरू सँगै लिएर फर्कनुहोस् । नराम्रा पक्षहरूलाई त्यहीँ छोडेर आउनुहोस् । यहाँ आएर राम्रा पक्षहरू र ज्ञानगुनका कुराहरूको उपयोग गर्नुहोस् । हरेक मुलुक पढेका वा नपढेकाहरूकालागि पनि एउटा विशाल किताव हो । त्यहाँबाट तपाइँले धेरै कुरा सिक्नसक्नु हुन्छ । त्यहाँ पढेकाले मात्र होइन । नपढेकाले पनि जान्ने, बुझ्ने र सिक्ने ज्ञानगुनका कुराहरू धेरै हुन्छन् । सबै कुराहरू पढेर मात्र जानिने हँदैनन् । देखेर, भोगेर जानिने कुराहरू पनि धेरै हुन्छन् । ती कुराहरूलाई फर्कदासँगै लिएर फर्कनुहोस् । यस्ता राम्रा पक्षहरूलाई स्वदेशमा उपयोग गर्नुहोस् । गराउनुहोस् । यस्ता असल कुराहरूले हामी र हाम्रो समाज र राष्ट्र्को हितै गर्दछ । यो एउटा असल नागरिकको दायित्व पनि हो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |