हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

क्रिसमस कसको चाड ?

भारती गौतम, (बोस्टन)


पतझडले नांगिएका रुखहरुले हिऊँको सेतो ओढ्ने ओढ्न थाले पछि अनि जमीनभरी सुकेर झरेका पातमाथि सेतो गलैचा ओछिईन थाले पछि यो मुलुकले वर्षेनी क्रिसमस भित्र्याउने गर्छ। नाग पंचमी देखि हाम्रो मुलुकमा प्रवेश गर्ने दशैं तिहार जस्तै अक्टोवरको अन्त्यमा मनाईने हलोईन(भुत-प्रेतको चाड) देखि नै क्रिसमसले आफू आऊँदै गरेको संकेत दिन थालिसकेको हुन्छ। ढोकाका कुना कुनामा ठड्याईएका ढोड, आंगन करेसा भरि सजाईएका कंकाल, मुरकुट्टा र माकुराका जालाहरुले हलोईन को परिचय दिएको हुन्छ र घर घरमा क्यान्डी माग्दै हिडेका दिन त्यो चाडको पराकाष्टा हुन्छ। त्यसपछि हरिया रुखहरु रंगिएर राता, खैरा र पहेला हुदै भूईमा झर्न थाले पछि टर्की, कर्नब्रेड,(मकैको रोटि), पम्पकिन(फर्सी) पाई, क्र्यानवेरी सस र चौडा डाईनिङ टेवुल वरीपरी खचाखच भरिएका परिवारको संख्याले थ्यांक्स गिभिङ लाई चिनाएको हुन्छ। थ्यांक्स गिभिङमा उब्रिएको टर्की रेफ्रीजेरेटर बाट रित्तिनु अगाडिनै रंगी चंगी बत्तीहरुले चम्किएका झ्याल ढोका, करेसा, आंगन र छानाहरुले क्रिसमसको शुरुआत को संकेत गरेको हुन्छ। त्यतिमात्र नभएर बाटा, चौवाटा, गल्ली, अफिस, भवन सवैलाई नै बिहेमा दुलही सिंगारे जस्तै झपक्क सजाएको देख्ता राति आकाश नै नौलाख तारा र जुन संग पृथ्वीमा छुट्टी मनाउन झरे जस्तो लाग्छ। त्यतिमात्र हैन गाढा हरियो, सेतो र रातो रंगले रंगिएका शहरका कुना कुना देख्ता ईन्द्रेणी पनि आफ्ना सातै रंग वोकेर यतै बसाई सरे जस्तो लाग्छ। नोभेम्वरको अन्त्य देखि नया वर्ष को पहिलो दिन सम्म नै क्रिसमसको जादुले वातावरण मनमोहक र रोचक हुन्छ।
 

नयांवर्षसंग जुम्ल्याहा जस्तो भएर आउने यस चाडमा शुभकामनाको संदेश बोकेका कार्डहरु, एक अर्कालाई पठाईएका कोशेलीका प्याकेटले हुलाक ब्यस्त हुन्छ भने किनवेचको घुईचोले पहिले देखि भै राखेका दोकानहरु र पछि सिर्जिएका दोकानहरु खचाखच भरिएका देख्ता कुम्भ मेलाको संझना आउछ। अमेरिकामा हुने व्यापार वर्ष भरीमा यो एक महिना सवै भन्दा बढि हुन्छ भनिन्छ। गाडि पार्कगर्न तीन फन्का पार्किङलटमा घुमेको बेला, दोकानमा कसैलाई नछोईकन हिड्न गाह्रो भएको बेला र सामान किनेर पैसा तिर्ने लाईनमा सधैको भन्दा दसौं गुना बढी समय पर्खिनु परेको देख्ता आर्थिक मन्दिका बिभिन्न पक्षको मार परेको अमेरिका अर्कै मुलुको कथा होला जस्तो लाग्छ। आगामी छ महिना सम्म पैसा तिरिरहनु परे पनि आफन्तको लागि सवैले ह्रदय मात्र हैन वालेट पनि फराकिलो पारेको देखिन्छ यसबेला।
 

दुई दशक भन्दा पनि अगाडी दुईजना साना साना केटाकेटि बोकेर यो मुलुकमा आएको दोस्रो महिनामा अकस्मात सारा घर दोकानहरु रंगिएर चम्किएको देख्ता आफूले छोडेर आएको मुलुकको दिपावलीको संझना दिलाउने क्रिसमस अहिले आफ्नो र आफ्ना परिवारको जीवन पद्दति नै हुन पुगेको तथ्य स्वीकार गर्दा मलाई आफू यस प्रक्रियामा एकलै नभएको लागेको छ। अहिले क्रिसमस यहाँका सवै सरह मेरो पनि पारिवारिक चाड हुन पुगेको छ। घरमा सजाईएको क्रिसमस ट्रि, त्यसमुनि उपहारका खात, वरीपरी झिलीमिली बत्ती, दोकानमा किनमेल, उपहार साटासाट सवै मैले पनि गर्ने गरेकि छु। कलिलो उमेरमा आफ्नो मुलुक छोडेर आए पछि ती केटाकेटिहरु ले यस भुमीलाई नै मातृभुमि भन्नु पर्यो र उनीहरुको आमा म आफूले यो मुलुक आफ्नो पार्नु पर्यो । मैले एउटा सुटकेस भरि दुईदशक अगाडि बोकेर ल्याएको नेपालले मेरा छोराछोरीलाई पुग्ने गरि नेपाल शायद ल्याउन सकेन। अहिले को परिस्थिति भन्दा बेग्लै त्यस समयमा उनीहरुका सवै नै अनेपाली साथीहरु वीच उनीहरुको घरको कोठा भित्रको नेपालले बनाएको नेपालीत्व शायद उनीहरुलाई नेपाल दिन पर्याप्त थिएन। हाम्रो संस्मरणमा कुँदिएको दशैंको उत्साह र तिहारको चमक ती बालकको कानमा झन्किने दन्त्य कथाको कुनै रोचक प्रसंग छिचोल्न नसके पछि "देश गुनाको भेष"बाट शुरु भएको परिपाटी पारिवारिक परम्परा बन्न पुगेको छ। क्रिसमस को जन्म जेजसरि भएको भए पनि अनि क्रिसमसको कारक जुनै पृष्ठभूमी भए पनि सामान्यतया देखिने क्रिसमस भनेको खुशी मनाउनु, आफ्ना मानिएकाहरु प्रति कृतज्ञता व्यक्त गर्नु, परिवार वीचको निकटता दरिलो पार्नु, केटाकेटीको अनुहारमा खुशी रोप्नु भएको हुँदा यस प्रथा अपनाऊँदा एउटा सहि प्रथाको अनुसरण हुन पुग्छ। शायद यसको उत्पत्ति र पृष्ठभूमी सान्ताक्लजको झोला भित्र उहिल्यै हराए झैं लाग्छ। यसैले लाखौंको संख्यामा भित्रिन थालेका अरु मुलुकका बाबु आमाले साना साना छोराछोरीको अनुहारमा खुशी छर्न बर्षको एकपटक जे बहानाले हुन्छ केहि प्रयास गरेको लाई कुनै अर्थ लगाउन मिल्दैन, यस अर्थमा क्रिसमस नामले नै किन नहोस्। मान्छेको ह्रदय धेरै फराकिलो छ, यसमा आफन्त मात्र नभएर परचक्रीलाई आफ्नो स्वीकार्ने पक्ष पनि अट्टाएको हुन्छ।

 

धेरै शताव्दि सम्म पनि क्रिस्चियन लेखकहरुले क्रिसमस जिसस को जन्म भएको वास्तविक तिथि मानि आएकामा अठारौं शताव्दितिर आएर अरु लेखकहरुले यसलाई खण्डन गर्न थालेको पाईएको छ। प्राचिन युरोपका बिभिन्न धर्माबलम्बीहरु सवैले नै जाडो महिनामा कुनै न कुनै चाड मनाउने गर्थे र ती चाड मध्ये कसैले प्रकाशको चाड मनाऊँथे, कसैले खेती किसानीबाट फुर्सद भएकोमा खुशी मनाउने गर्ने गरेको पाईएको छ भने कसैले जाडो सकिएपछि आउने बसन्तको स्वागतको लागि समारोह मनाउने गरेको पाइन्छ। पछि क्रिस्चियन धर्माम्वलम्वीहरुको प्रभाव बढ्न थाले पछि क्रिसमस भनी क्रिस्चियनहरुले बिशेषगरी यो चाड मनाउन थालेको पनि पाईएको छ। तर पनि यहुदि धर्म मान्नेहरुको चाड देखि लिएर हाम्रो मुलुकतिर पनि कुनै न कुनै हिऊँदे चाड यसै बेला पर्न आउनुले पनि क्रिसमस जाडो महिनामा पर्नु पछाडि बिभिन्न चाडहरुको पृष्ठभुमी यसमा समावेश भएको मान्न सकिन्छ।
 

अमेरिकामा क्रिसमस मनाउने प्रथा ब्रिटिश र जर्मनहरुले आफू संगै ल्याएका थिए। ईसाई धर्म मान्नेहरुले जिससलाई संझिएर मनाईन थालेको क्रिसमसले पछि गएर धार्मिक भन्दा ब्यापारिक अनि सामाजिक रुप लिन थालेको हो। अमेरिकी स्वतन्त्रता क्रान्ति पछि ब्रिटिशहरुको चाड भनेर क्रिसमस मनाउने क्रम एकताका घट्तै गएको थियो।  त्यसबेला अमेरिकामा भन्दा बेलायत र जर्मनीमा क्रिसमस लोकप्रिय हुने गर्दथ्यो। तर १८२० तिर क्रान्तिको असर मलिन हुदै गए पछि क्रिसमसको चहलपहललाई जिवित पार्न तत्कालिन केहि लेखक कविहरुले  आफ्आफ्ना रचनाको माध्यम द्वारा क्रिसमसलाई फेरि पारिवारिक र सामाजिक बनाउन प्रयास गरेका थिए।  चार्ल्स डिकेन्सन को "क्रिसमस केरोल"भन्ने रचनाले पनि क्रिसमसलाई सांप्रदायिक र धार्मिक समारोहको सट्टा क्रिसमस पारिवारिक प्रेम, सद्भावना, र समझदारीको उत्सवमा परिणत गर्न मद्दत गरेको बताईएको छ।  सन् १८७० देखि अमेरिकामा सार्वजनिक बिदाको रुपमा कानुनी मान्यता पाएको क्रिसमसको महत्वपूर्ण अंग सान्ताक्लजको शुरुआत पनि क्लिमेन्ट क्लार्क मुर नामक लेखकले सन् १८२२ मा लेखेको कविता "ए भिजिट बाइ सेन्ट निकोलोस" बाट शुरु भएको मानिएको छ। पछि गएर एकजना जर्मन अमेरिकन कार्टुनिस्ट थोमस नास्टले अहिले हामीले सान्ताक्लज भनेर चिनिने आकृति को रुप दिएका रहेछन्।
 

माथि उल्लेखित जे सुकै पृष्ठभुमीमा क्रिसमसको जन्म भएको भए पनि अधिकांश बिद्यालय, क्याम्पस केहि दिन अगाडी देखि नया वर्ष सम्म बन्द हुनु , त्यसदिन सवै कार्यालय, हुलाक, दोकानहरु, बैक समेत बन्द हुनुले पनि यो अवसरलाई केवल क्रिस्चियन धर्मावलम्वीहरुले मनाउने चाड भन्दा फराकिलो परिभाषामा पारेको छ। आफूलाई जतिसुकै बेग्लो ठान्न बल गरे पनि घर बाहिर पाईलो राखे देखि र घरै भित्र पनि यस चाडको मातवाट आफूलाई भिन्न पाउनु र दशैंको मुखमा हाम्रो मुलुकमा पुगेको ले मलाई यो चाड वारे केहि मतलव छैन, ठान्नु उस्तै देखिन्छ।


क्रिसमस यसो हेर्दा त मनचिन्ते झोला जस्तो पनि लाग्छ। अरु बेला जे जस्तो भए पनि सवैले आ-आफ्ना नातेदार र साथीभाईहरुलाई "क्रिसमसमा तिमीलाई के दिऊँ
?" भनी सोधेको पाईन्छ। केटाकेटीले गएको क्रिसमस देखि नै आउने क्रिसमसको लागि आफूलाई मन परेको खेलौनाको सूची तयार गरेका हुन्छन्। सान्ताक्लजले मध्य रातमा आएर खेलौना दिन्छ भन्ने विश्वासमा क्रिसमसको झिसमिसेमा उठेर सजाईएको रुख मुनि हतारिएर दौडिने केटाकेटिको सपना पुरा गर्ने क्रिसमसले बयस्क बीच पनि एक अर्का प्रतिको स्नेह र समझदारी को पुष्टी पाएको हुन्छ।
 

"एलिजाबेथलाई कोचको ब्याग मन पर्छ" एलिजावेथका पति जोनले भन्दै गरेको सुनिन्छ दोकानमा। त्यस्तै 'जोनलाई डेलको ल्यापटप मन परेको जस्तो लाग्छ' भनी एलिजावेथले भनेको सुनिन्छ।

"ड्याडिलाई निलो रंगको स्वेटर मन पर्छ" भनि आठ वर्षको अस्टिनले भन्छ।

"ममीलाई हिराको टप मन पर्छ" छ वर्षकी एमलीले भनिराखेकी हुन्छे।

त्यसैगरी हजुरवालाई के मन पर्छ ? हजुर आमालाई के मन पर्छ ? अस्ट्रेलियामा हुने मामालाई के मन पर्ला ? भनी कमसेकम वर्षमा यहि एक समय भए पनि घरैमा भएका र घर बाहिर भएका आफन्तको वारेमा र उनीहरुको चाखको वारेमा केहि समय बिताउन बाध्य बनाउने मात्र क्रिसमसको परिभाषा भए पनि सवै प्रकारको पृष्ठभुमीले यसको अनुसरण गर्दा अन्यथा नहुन सक्छ। वर्षमा एक दिन मात्र भए पनि आफन्तले आफन्तका लागि बिताएका दुईपल साच्चै भन्दा त यो चाडको वरदान मान्न सकिन्छ।


    "क्रिसमस ट्रि मुनि पाईने उपहारहरुमा सवै भन्दा उत्तम उपहार एक अर्काको मायामा पोको पारिएको परिवार नै हो"

                                                                                 वर्टनहिल।

    "क्रिसमस भनेको उपहार खोल्नु हैन तर आफ्नो ह्रदय खोलेर फराकिलो पार्नु हो"

                                                     जिनिस मेडिट्री।


जे नामको फूल भए पनि मिठो वास्ना आएको छ भने फूलको नाम र पृष्ठभूमीले केहि फरक पर्दैन। परिवर्तनसंग डराउने हामी कतिपयको लागि क्रिसमस भनेको पराई चाड जस्तो लाग्न पनि सक्छ अरु केहि नभए पनि यो चाडले सिकाउने एक अर्काको सम्मान र स्नेह गर्ने, परिवार भेला भएर हांस खेल गर्ने आफ- आफ्नो गच्छे अनुसारका साना तिना उपहार साटासाट गर्न सिकाउन पराई रितिकै अनुसरण गर्नु परे पनि अपराध नठहरिएला। घरमा हरियो रुख सजाएर घर वरीपरी बत्ती बालेर, साना तिना उपहार आफन्त संग साटासाट गरेर,आफू आफू वीच हास खेल गर्दा आफूले अनुसरण गरेको परम्परा प्रतिको उपेक्षाको अर्थलागे पनि त्यसको परवाह बिना निर्धक्क भन्न मन लाग्छ
सवैमा "मेरी क्रिसमस र ह्याप्पी न्यू इयर"।

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |