हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

के माछा पनि रुन्छ र ?

अनिल शर्मा सुवेदी, (पोखरा-७ मासबार)

"एउटा गिलासमा भरि पानी छ त्यसमा एक सय दुई वटा माछा छन् तीमध्ये दुईवटा माछा मरेछन् त्यसपछि त्यो एक गिलास पानी दुई गिलास भएछ अब भन्नुहोस् कसरी ?"


पोखराको एउटा स्थानीय एफएमको कलिङ्ग कार्यक्रममा औपचारिक कुरा गरिसकेपछि अन्त्यमा कार्यक्रम प्रस्तोताले मेरा सामु प्रश्न तेर्स्याइन । म एकछिन् रनभुल्लमा परें । मेरो दिमाखमा तत्काल यो प्रश्नको कुनै जवाफ आएन तथापि प्रसंग जोड्दै मैले भनेः- "यदि तपाइले एउटा गिलासमा एक सय दुई वटा माछा छन् तीमध्ये दुई वटा माछा मरेछन् भने अब त्यो गिलासमा कति माछा बाँकी रहे होलान् भनी प्रश्न सोधेको भए ठ्याक्कै उत्तर दिने थिएँ तर यसको उत्तर अहिले तत्काल दिन सकिन ।" मैले ठट्टा गर्दै अझै अगाडि भन्दै गएँ - "म ट्युवलाइट माइन्डेड परें त्यसैले कुरा अलि ढिला बुझ्छु के गर्ने चिम लाइट माईण्डेड परिन ।" त्यसपछि यो प्रश्नको उत्तर अर्को हप्ता मात्र दिने कुरा उनले बताइन् ।

अनि फोन राख्दै मैले यो प्रश्नबारे सोच्न थाले । प्रश्नको शब्द शब्द केलाउन थालें कतै उत्तर भेटिन्छ कि भनेर तर खासै कुनै तार्किक उत्तर भेट्न सकिन । अफिसमा पनि फुस्रसको समयमा साथीहरुसँग मैले यही प्रश्न राखें अनि गन्थन-मन्थन भयो विभिन्न साथीहरुले विभिन्न कुरा गरे विभिन्न तर्क दिए । कसैले माछा मरेपछि माछा फुलेको हुनाले पानी दुई गिलास भयो भने कसैले माछा मरेपछि आन्द्राभुँडी निस्केको हुनाले यस्तो भयो भने । यी उत्तरमा कुनै तार्किकता थिएन केबल आशंका मात्र थियो मैले सोचेको थिएँ कि यसको कुनै तार्किक उत्तर हुनुपर्छ भनेर ।

कही कतैबाट कुनै जवाफ पाउन नसकेपछि मैले अर्को हप्ता कान ठाडा ठाडा पारेर त्यो कार्यक्रम सुन्न थालें । त्यो दिनमा पनि प्रस्तोताले फोनमा आएका स्रोताहरुलाई सोही प्रश्न राखिन् तर कसैले पनि उत्तर दिन सकेनन् । अन्त्यमा उनी आँफैले त्यो प्रश्नको यस्तो उत्तर दिइनः- "ती दुई वटा माछा मरेपछि अरु सय वटा माछाहरुले दुख मानॆर रोए अनि उनीहरुको आँसुले गर्दा त्यो एक गिलास पानी दुई गिलास भयो ।

उत्तर सुन्नासाथ मलाई हाँस्न मन लाग्यो र एक्लै मुसुक्क हाँसे पनि । एक मनले सोचेः- कार्यक्रम प्रस्तोताले सारा स्रोताहरुलाई यस्तो प्रश्न सोधेर उल्लु बनाइन् । तर अर्को मनले सोचेः- होइन प्रस्तोताले एकदम सही र नयाँ कुरा बताइन् । हामीले मान्छे रोएको देखेका र सुनेका छौं यसैगरी कुकूर बिरालो आदि जन्तु पनि रोएको बेलाबेलामा सुन्दै आएका छौं । गाई भैसी बाख्रा आदि जनावर पनि कहिलेकाँही आँसु बगाएको देख्ने गरेका छौं तर माछा पनि त्यसरी आँसु झारेर रुन्छ भन्ने कुरा मैले सोचेकोसम्म पनि थिइन एक त माछा पानीभित्र रहने हुँदा त्यति देख्न पाइदैन कहिलेकाही देख्दा पनि पानीभित्र सल्बलाइरहेको अवस्थामा देखिन्छ । अझ माछाको आँखामा त परेला पनि हुदैन आँखा सँधै खुल्ला नै रहन्छ सँधै आँखा खुलै राखी माछा कसरी निदाउँछ होला सोच्दा पनि अचम्मै लाग्छ । माछा सँधै पानी भित्र नै रहने हुँदा ऊ रोएको र आँसु झारेको हाम्ले कहिल्यै पनि देख्न सक्दैनौं र संभवत माछा रुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं होला । यसरी हामीले कल्पनासम्म पनि नगरेको कुराको ज्ञान भएको अनुभूति भयो र खुशी लाग्यो अनि प्रस्तोतालाई धन्यबाद दिन मन लाग्यो ।

यसैक्रममा एक दिन ठट्टैठट्टाको क्रममा मैले साथीलाई भनेको थिएँ- "सुन्यौ साथी अस्तिनै असारमा म फेवातालमा जाँदा तालको पानी बढेर माथि माथिसम्म आएको थियो किन त्यसरी पानी बढेको होला भन्ने कुरा मलाई त्यतिबेला थाहा थिएन बल्ल पो थाहा भयो त्यो त माछाहरु रोएर माछाहरुको आँसुले पो त्यत्रो पानी भएको रहेछ ।" म अझै अगाडि भन्दै थिएँ-"म पछिल्लो पटक अस्ति भर्खर तालमा गएको त तालको पानी धेरै घटेको देखें अनि मनमनै सोचे माछाहरु पहिले जस्तो रुन छाडेछन् ।"

वास्तवमा यहाँ जेसुकै कुरा गरेता पनि यो संसारमा मानव लगायत अन्य सबैजसो जीवजन्तुहरुले आफ्नो पीडा पोख्न आँसुको सहारा लिने गर्छन् रुँदाखेरि मन हलुका भएको अनुभूति हुन्छ । म पनि जीवन यात्राको क्रममा थुप्रै पटक रोएको छु त्यसो त म मान्छे खुब रोमाण्टिक पनि छु दुई दिनको जिन्दगीलाई हाँसी खेली बिताउनुपर्छ भन्ने मान्यता राख्ने गर्छु र सँधै रमाइलो गर्न रुचाउँछु । तथापि मलाई लाग्छ मान्छे जति रोमाण्टिक हुन्छ उति नै मात्रामा भावुक पनि हुन्छ । काँचको पर्दामा देखिएका थुप्रै दृश्यहरु र विद्युतीय संचार माध्ययमबाट ध्वनि तरंगको रुपमा आएका थुप्रै संगीतहरुले मेरो आँखामा आँसुको सुनामी ल्याइदिएका छन् । हो म रुन्छु धित मरुाजेल रुन्छु तर सँधै रोएर बस्दिन एउटै कुरालाई सँधैभरि मनमा लिएर त्यही कुरा संझी संझी रोएर बस्दिन ।

हुनत लोग्ने मान्छे भएर रुनुहुँदैन भन्ने पनि गरिन्छ तर म यो कुरासँग सहमत छैन । के लोग्ने मान्छेको मन ढुंगा हो र कठोर हुन के लोग्ने मान्छेलाई वरपरको रहनसहनले छुँदैन र के लोग्ने मान्छेले दिल फुकाउन पाउदैन र हो पक्का पनि लोग्ने मान्छेले रुन पाउनुपर्छ रोएर मन बहलाउन पाउनुपर्छ तर सँधैभरि रोएर बसी आफ्नो जीवन नै समाप्त पार्न भने अवश्य होइन ।

त्यसो त रुने मामिलामा नारीहरु अलि बढी नै अग्रस्थानमा देखिन्छन् । सानो कुरा केही प-यो कि उनीहरु तुरुन्तै रोइदिन्छन् । समस्याको समाधान खोज्नभन्दा पनि रुनतर्फ नै बढी ध्यान दिन्छन् तर पुरुष पनि त्यसरी रोएर बस्न थाल्यो भने त्यो समस्याको समाधान कस्ले खोज्छ त भनेर नै लोग्ने मान्छे भएर रुनुहुँदैन भनिएको होला । हुन त रोएर वा टाउको फुटाएर समस्याको समाधान निस्कने त होइन तथापि मनलाई केही हलुका बनाउने काम रुवाइले गर्छ ।

यहाँ यी यावत् कुरा गरिसकेपछि पनि मेरो दिलको एउटा कुनाले अझै पनि कार्यक्रम प्रस्तोतासँग त्यही प्रश्न गरिरहेछः- के माछा पनि साँच्चै रुन्छ र ?



 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |