धर्म र धारणा
भुवनेश्वर भण्डारी, (हाल: अमेरिका)
विश्वमा उत्पन्न भएका जंगम (हिनडुल गर्ने) प्राणिहरुमा विविधता पाइन्छ । शरीरको
बनोट आहार-विहार, क्रियाकलाप, बसाई, हिडाई, अनुहार, रंग, वर्ण जस्ता कुरा सवैको
एकैनास हुदैन । कीट पतंग पंक्षी पशुहरु भन्दा मानिस फरक प्राणि हो, त्यो फरक पार्ने
प्रमुख तत्व विवेक वा धर्म हो । समाज शास्त्रमा भनिएको छः "आहार निन्द्रा भय
मैथुनश्च एतत्समानो पशुभि नराणाम् ॥ धर्मो हितेषोंमधिको विशेष धर्मेण हीना पशुभिः
समाना ।" अर्थात् जीवित प्राणिहरुमा खानु सवैले अनिवार्य छ, सुत्नु सवैका लागि समान
छ, डर त्राश सवैमा वरावर हुन्छ, सन्तानको उत्पादन सवैबाट हुन्छ । तर अरु प्राणिबाट
मानिसलाई फरक पार्ने एकमात्र विशेष तत्व विवेक हो । विवेक नभएको मानिसमा धर्म
हुँदैन । धर्म विना मानिस मानव बन्न सक्दैन । धर्म नभएको मानिस र पशु समान हुन्छ ।
तसर्थ धार्मिक तथा विवेकशील व्यक्ति वन्नका लागि पालना गर्नै पर्ने नियमहरुको
संगालोलाई नीति भनिन्छ । आफ्नो समाजले मानेको, अघि देखि चलिआएको नीतिको पालना
गर्नुलाई धर्म भनिन्छ । धर्म समाजैपिच्छेका फरकफरक छन् । धेरै समाजले मानेको धर्म
महत्वपूर्ण हुन्छ भने सानु समुहले मानेको धर्म कम महत्वको मानिएला तर धर्मको अर्थमा
फरक आउँदैन ।
धर्मको लक्ष्य सवैलाई विवेकशील समाज बनाउने हो । धेरै थरिको समाज भएको देशमा धेरै
धर्महरु मानिएका हुन्छन् । त्यस्तो देशमा एउटा मात्र धर्म मान्न राज्यले दवाव दिनु
मनासिव हुँदैन । नेपाल जस्तो बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक समाजले मान्यता
पाएको देशमा धर्म निरपेक्ष्य हुनु नै वेस हुन्छ । धर्म परिवर्तन गर्नु मनासिव
हुँदैन । अर्काले मानेको धर्म कदापि राम्रो हुन सक्दैन । पर धर्म भन्दा आफ्नो धर्म
दोषयुक्त भएपनि आफ्नो धर्मनै राम्रो मान्नु पर्दछ किनकि धर्ममा रहेका कस्मलहरु (खराबपन)
ह्टाएपछि स्वच्छ बन्दछ । गीताको तेस्रो अध्यायको ३५ सौँ श्लोकमा भनिएको छ: "श्रेयान्स्वधर्मो
विगुणःपरधर्मात्स्वनुष्ठितात् ॥ स्वधर्मे निधनंम् श्रेयःपरधर्मो भयावहः॥" अर्थात्
अर्काको धर्म डरलाग्दो हुन्छ । आफनै धर्ममा रहेर चोला बदल्नु बेश हुन्छ तर धर्म
बदल्नु राम्रो हुँदैन । धर्मको लक्ष्य सवै धर्मको एकै हुन्छ । यो धर्म राम्रो या
त्यो नराम्रो भन्ने धर्मको खोल ओढेर आफ्नो स्वार्थ सिद्धगर्न खोज्ने आडम्वरीहरु संग
सधै होसियार वन्नु पर्छ । धर्म सधै स्वच्छ हुन्छ । लक्ष्य सवै धर्मको शान्ति, सुख
तथा आनन्दप्राप्त गर्दै जीवनोपरान्त मोक्ष प्राप्त गर्नु हो । धर्मका नाममा
साम्प्रदायिक झगडा गर्नु, छुवाछुतको तगारो हाल्नु, जात विजात छुट्याउनु, ठूलो सानुको
गणना गर्नु आदि सवै कुराहरु तिनै धार्मिक दलालहरुको कुकर्मको परिणाम हो । यी
दलालहरुबाट हाम्रो समाजलाई बचाउनु हरेक व्यत्तिको कर्तब्य हुनआएको छ र हरेक
राष्ट्रको दायित्व पनि थपिएको छ । धर्म पानी जस्तो सफा छ तर धर्मावलम्बीहरुले विविध
रंगका वोतलहरु वनेर विश्वमै धार्मिक आतंक मच्चाएका छन् । कुनै एक धर्ममा निश्चिन्त
भएर बस्नुनै मानवजातिका लागि महत्वपूर्ण कुरा हो । धर्मले मानिसलाई निश्चित दिशा
तर्फ डोर्याउँछ । एकै समाजमा आबद्ध भएर बस्न धर्मले प्रेरणा दिन्छ । धर्मरुपी धागोमा
व्यक्तिरुपी फूलका थुंगाहरु उनेर माला सजाएको जस्तै धर्मले समाजमा रहेका प्रत्येक
व्यक्तिहरुलाई एक अर्काका समास्याहरुका बावजुद एकै ठाउँमा आबद्ध हुन प्रेरणा गर्दछ
। समाजको कल्याण गर्ने एकमात्र साधन धर्म हो । भनिएको छ: "यतो धर्म ततो जय।" अर्थात्
जहाँ धर्म छ त्यहाँ विजय हुन्छ । धर्ममा आस्था नभएको व्यक्ति निरंकुश हात्ती सरह
हुन्छ । त्यस्ता व्यक्तिहरुको समाजमा बाहुल्यता भयो भने चलेको सामाजिक संरचना पनि
ध्वस्त हुन्छ । मानब समाज दानबको रुपमा परिणत हुन्छ ।
तसर्थ, हरेक ब्यक्ति तथा हरेक समाजमा धर्म प्रति गहिरो आस्था रहनु नै मानब जातिका
लागि कल्याण हुन्छ ।