हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

नेपाली राष्ट्रिय झन्डाका विशेषताहरू

डा तारानाथ शर्मा, (मिशिगन राज्य विश्वविद्यालय, पूर्व ल्यान्सिङ)

कुनै पनि राष्ट्रको पहिलो परिचय त्यसको झन्डाबाटै पाइन्छ। विश्वका विभिन्न मुलुकहरूका प्रतिनिधिहरू भेला भएको सभास्थलमा म सधैँ नै हाम्रो प्यारो चन्द्रसूर्याङ्कित झन्डालाई खोजिरहेको हुन्छु। हाम्रो झन्डा नेपाली राष्ट्रियताको प्रतीक हो अर्थात् हाम्रो आफ्नो साँचो परिचय हो। यसले हाम्रो इतिहास बोकेको हुन्छ। हाम्रा परम्पराहरू, जातीय एकताका पवित्र र आत्मीय भावनाहरू तथा हाम्रो समस्त अस्तित्वबोधको गौरवलाई यसले अक्षुण्ण रूपले प्रतिनिधित्व गरेको हुन्छ। संयुक्त राष्ट्रसङ्घजस्तो सर्वमान्य एकमात्र अन्तर्राष्ट्रिय संस्थामा समेत हामी पनि विश्वमा सगर्व, जीवित र कार्यरत छौँ भन्ने बोध सबैमा गराउँदै हाम्रो झन्डा अरू सम्पूर्ण देशका झन्डाहरूका हाराहारीमा निर्धक्क, स्वतन्त्र र ससम्मान फर्फराइरहेको छ।

हामी नेपालीहरूलाई त आफ्नो झन्डा त्यसै पनि राम्रो लाग्ने नै भयो, तर अरूले पनि यसको अद्वितीय आकारलाई प्रशंसा नै गर्दै आएका छन् । लौ, तारानाथले त आफ्नो झन्डालाई अद्वितीय पो भन्यो र यसले पक्कै पनि कुनै कुमालेले आफैँले निर्माण गरेको माटाको हाँडीलाई सबैभन्दा राम्रो छ भनेर सर्काएको जस्तो भावुकतावश यसो भनेको हुनुपर्छ भन्ने पनि कसैकसैलाई लाग्न सक्ला। हुनता आफ्नी आमा जस्तीसुकै भए पनि सबैभन्दा राम्री, सबैभन्दा असल र सबैभन्दा प्यारी लाग्नु स्वाभाविकै हो र यस स्वाभाविकतामा पनि अवश्य भावुकताले ठूलो भूमिका खेलेको हुन्छ, तापनि साँच्चै नै मेरी आमामा अरू नारीहरूमा नभएको र नदेखिएको सद्गुण छ भने त्यसको उल्लेख छातीमा मुड्की बजारेर गर्नु सुपुत्रको धर्म हो। हो, म त्यसै धर्मको पालना गर्दै नेपालको झन्डा अद्वितीय, अतुलनीय र अनुपम छ भन्ने मेरो तर्कलाई यहाँ सप्रमाण, सहर्ष र सगर्व प्रस्तुत गर्छु।

नेपाल आज बनेको भर्खरको र कलिलो देश होइन । हजारौँ वर्षअघि रचित वेदमा यसको पहिलो उल्लेख "निप"   शब्दमा भएको पाइन्छ । वैदिक संस्कृत (अर्थात् अति पुरानो संस्कृत)मा "निप" भनेको 'कोल्टे परेको वा पहाडी क्षेत्र ' हो। "निप" सित "आल" गाँसिएर "निपाल" हुँदै 'नेपाल' भएको हो। उदाहरणका लागि  

"हिम+आल"=हिमाल, "पञ्च+आल"=पाञ्चाल अथवा पन्जाब वा "बङ्ग+आल"=बङ्गालजस्ता छिमेकी शब्दहरूलाई लिन सकिन्छ। (सन्दर्भका लागि ज्ञानमणि नेपालकृत 'नेपालनिरुक्त' भन्ने ग्रन्थ हेर्नुहोला।) हाम्रो देशलाई पौराणिक कालमा पूरै 'नेपाल'का नामले चिनाइएका अनेकौँ दृष्टान्तहरू छन्। विष्णुगुप्त कौटिल्यले आफ्नो अर्थशास्त्रमा उत्तम श्रेणीको ऊन निकासी गर्ने देशका रूपमा नेपालको ससम्मान उल्लेख गरेका छन्। यसरी वेदकालीन परम्परादेखि पौराणिक काल र ऐतिहासिक कालसम्म निरन्तर विकसित हुँदै आएको यस प्राचीन देशको परिचय दिने झन्डा पनि वैदिक विधिबाटै बनेकाले यसलाई अति प्राचीन मान्नुपर्छ र सत्य तथ्य पनि यही नै हो।

हाम्रा प्राचीन मन्दिरहरूमा टाँगिने धार्मिक र सांस्कृतिक  ध्वजाहरू तीनकुने हुन्छन् । वैदिक युगदेखि नै ध्वजाहरू तीनकुने थिए। तिनलाई अड्याउने लौरा वा डन्ठातिर ती ध्वजा पूरै माथिदेखि तलसम्म भए पनि हावामा फर्फराउने दिशातिर तीनकुने हुँदै चुच्चिनु तिनको विशेषता थियो। यसरी छेउतिर चुच्चिँदा ती ध्वजालाई हावाले सजिलै फररर्‍र पार्न सक्ने हुनाले व्यावहारिक दृष्टिकोणले नै तिनको आकृति तीनकुने हुँदै आएको हजारौँ वर्षको परम्परा छ र त्यसै परम्परामा हाम्रो नेपाली झन्डा पनि अरू समस्त राष्ट्रहरूका चारपाटे झन्डाहरूभन्दा बेग्लै आफ्नै अविस्मरणीय इतिहास बोकेर दुइटा तृकोणमा विकसित भएको हो। वैदिक प्रभावले तीनकुने हुनाले नै हाम्रो झन्डा नैतिकताको प्रेरक राष्ट्रिय चिह्न पनि हो।

वैदिक समयदेखि नै विजयी सेनाहरू हात्ती, रथ, घोडा वा पैदल जुनसुकै रूपमा पनि आफूसित आफ्नो निशाना, पताका वा ध्वजा लिएर अघि बढ्थे, आफ्नो परिचय दिन्थे। रामायण र महाभारतयुगमा त झन ठूल्ठूला सैनिक समूहहरूले तीनकुने ध्वजा बोकेर बिजुली चम्केको गतिमा शत्रुहरूमाथि जाइ लागेका अनेकौँ आकर्षक वर्णनहरू पाइन्छन्। केही सय वर्षअघि तिब्बती सेनाले वा चिनियाँ सेनाले उत्तरतिरबाट हाम्रो मातृभूमिमा आक्रमण गर्दा हाम्रा वीर सिपाहीहरूले साहसी प्रतिकार गरी विजय हाँसिल गर्दा होस् वा डरलाग्दा र विशाल अङ्ग्रेजी साम्राज्यवादी हमलाहरूलाई छिन्नभिन्न गरी आच्छुआच्छु पार्दै तिनका चकित र थकित फौजहरूलाई सिमाना कटाउँदा होस् यही हाम्रो चन्द्रसूर्याङ्कित द्वितृकोणात्मक झन्डाले हाम्रा लडाकु वीरहरूलाई अनन्त प्रेरणा दिएको थियो र हाम्रो राष्ट्रिय अस्तित्व बचाएको थियो।

नेपाली जनमानसमा "रातो राम्रो, गुलियो मीठो" भन्ने विश्वास अनादिकालदेखि नै चलिआएको छ । देश, जाति र संस्कृतिको रक्षाका लागि ज्यान हत्केलामा राखेर लड्ने हाम्रा श्रद्धेय पुर्खाहरूका सैनिक वा जङ्गी कार्यहरूसँग अनन्य रूपले गाँसिएको हाम्रो झन्डा वा निशानालाई हाम्रा आदरणीय कवि गोपालप्रसाद रिमालले यसरी अभ्यर्थना गरेका छन्:

रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो     

 ज्यूँदो रगतसरिको बल्दो यो शान हाम्रो     

जबसम्म चन्द्रसूर्य आकाशमा रहन्छन्    

 तबसम्म नै रहन्छ जङ्गी निशान हाम्रो

 यसरी प्रारम्भदेखि नै गरिमायुक्त इतिहास बोकेर हाम्रो उज्ज्वल प्रतीक रहँदै आएको चन्द्रसूर्याङ्कित झन्डा समस्त नेपाली जनताको अद्वितीय र अमर सम्पदा हो। चन्द्र र सूर्य उज्यालाका प्रतीक हुन्। पितातुल्य सूर्यको प्रखर तेजलाई मातातुल्य चन्द्रमाका शीतलता र स्नेहको मलमले ढाकिदिँदै हामी मानवछोराछोरीहरूको रक्षण गर्ने हुनाले नै यी दुवैको उपस्थिति वैज्ञानिक दृष्टिकोणले पनि सार्थक र स्तुत्य छ। चन्द्रमाको भए पनि वा सूर्यको भए पनि किरण अवश्य प्रज्ञा वा ज्ञानको द्योतक हो। मातापिताबाट पुत्रपुत्रीले पाउने स्याहारसुसार तथा अर्तीउपदेशको ज्वलन्त उदाहरणका रूपमा हाम्रो झन्डामा अङ्कित चन्द्रसूर्यका प्रज्ञामय किरणहरू हामीमाथि अहोरात्र बर्सिरहनु हाम्रो ठूलो सौभाग्य हो। जुन दिन हामी हाम्रा महान् पुर्खा सिद्धार्थ गौतम बुद्धका बन्धुत्वका, शान्ति, स्नेह र सहृदयताका एवम् आध्यात्मिक र भौतिक जीवनको सामञ्जस्य गर्दै अँगाल्नुपर्ने मध्यम मार्गका अमर सन्देशहरूलाई त्यागौँला, त्यसै दिन हाम्रो आत्मीय एकीकरणमा, हाम्रो प्रबल र सुन्दर जातीयतामा र हाम्रो राष्त्रिय अक्षुण्णता र अखण्डतामा पनि वज्रपात होला। तर विश्वको सर्वोच्च शिर सगरमाथाको शिखरबाट सच्चिदानन्द शिवका सदैव स्नेहशील स्वयम्भू चक्षुले हामीमा सन्मार्गतिर लाग्ने सदुपदेशको वर्षा गरी नै रहने हुनाले हामीले कुनै अनर्थ भई नै हाल्ला भन्नुपर्दैन।

 नेपाली सांस्कृतिक परम्परामा गतेलाई भन्दा तिथिलाई पहिलो र बढी महत्त्व दिइन्छ। जन्मकुण्डलीको निर्माणमा होस्, जन्मदिवस मनाउँदा होस् अथवा विवाहको शुभलग्न निर्धारणमा होस्, तिथिलाई नै प्राथमिकता दिने चलन छ। स्वर्गीय पुर्खाहरूको श्राद्ध गर्दा पनि तिथि अनुसार नै गर्ने हाम्रो संस्कृति हुनाले वर्षैपिच्छे हेर्दा उही गते नपरेको हो। यहाँ विचार पुर्‍याउनुपर्ने कुरो के छ भने तिथिको गणना चन्द्रमाको गतिअनुसार अर्थात् चन्द्रमा हाम्रो पृथ्वीवरिपरि कति पल्ट घुम्यो भन्ने समय अनुसार हुन्छ भने गते चाहिँ पृथ्वीले सूर्यको परिक्रमा गरेका आधारमा गनिएको समय हो। हाम्रा विद्वान् ज्योतिषीहरूले पृथ्वी र चन्द्रमा दुवैका गतिको अनमेल स्तितिलाई गहीरो अध्ययन र अन्वेषण् गरी वर्षभरिको शुद्ध गणना गर्दै र चन्द्र र सूर्यका समयलाई ठ्याक्क मिलएर हरेक साल त्यस  वर्षको पात्रो तयार पार्छन्। त्यसमा घण्टाको त के कुरो, एक निमेषको पनि फरक पर्दैन

 अन्तर्राष्ट्रिय कहलिएको क्राइस्टेली पद्धतिमा भने वर्षवर्षको गणना नभई चारचार वर्षमा फेब्रुअरी महिनामा एक दिन बढाउने र मिलाउने चलन छ र त्यस कामचलाउ पारामा पनि पृथ्वी सूर्यका वरिपरि घुम्ने समयको मात्र वास्ता गरी चन्द्रमालाई पूरै बेवास्ता गरिएको हुन्छ।

 चन्द्रमाले पृथ्वीको परिक्रमा गरेको समयमुताविक गनिने दिन अर्थात् तिथिको बढी महत्त्व हुनाले नै हाम्रो झन्डामा चन्द्रमा मास्तिर रहेको हो। फेरि चन्द्रमा हाम्रो पृथ्वीबाट सबैभन्दा नजिकको अन्तरिक्ष पिण्ड हो र हाम्रा धेरै चालचलन, गतिविधि र कार्यक्रमहरूमा त्यसको प्रभाव अरू टाढाटाढाका अन्तरिक्ष पिण्डहरूको भन्दा धेरै नै बढी हुन्छ। त्यसै हुनाले चन्द्रमालाई झन्डाको माथिल्लो खण्डमा चितृत गरिएको हो। सूर्यलाई झन्डाको तल्लो भागमा राख्नु चन्द्रमालाई भन्दा कम आवश्यक ठानेर नभई तिथिको मर्यादापछि गते वा सूर्यबाट हुने दिवसलाई पनि उस्तै सम्मान गरिएको हो।

 अष्टमातृका र चौसट्ठी योगिनीका रूपमा मातृशक्तिको पूजा गर्ने विशिष्ट नेपाली परम्परा अनुसार नै चन्द्रमालाई माता मानी झन्डामा माथि राखिएको हो। सप्तशती चण्डीको "प्राधानिकम् रहस्यम्"मा हाम्री आदिमाता लक्ष्मी हुन् र यो जगत् उनैको सृष्टि हो भनिएको कुरालाई यहाँ सम्झन सकिन्छ।

 कसैकसैले राणाहरू चन्द्रवंशका र शाहहरू सूर्यवंशका भएकाले राणाहरूले झन्डामा आफूलाई माथि राखेर शाहलाई तल पारेको भन्ने अबुझ तर्क पनि प्रस्तुत गरेका छन्। राणाहरू शाहहरूलाई जहिले पनि आदरका दृष्टिले हेर्थे र व्यवहार पनि त्यसरी नै गर्थे। त्यसो हुनाले राणाहरू पो सूर्यवंशी हुन् र शाहहरू चन्द्रवंशी हुनाले चन्द्र पहिले र सूर्य तलतिर राखेको भन्ने तर्क पनि गरिएला, तर यस्तो भनाइ इतिहाससित मिल्दैन। १९०३ सालको कोतपर्वपछि मात्र प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको प्रादुर्भाव भएको हो र हाम्रो राष्ट्रिय झन्डा भर्खरको राणाकालमा बनेको नभई  वैदिक युगदेखि नै चल्दै आएको हो। पौराणिक कालमै प्रारम्भ भैसकेका र चल्दै आएका चन्द्रवंश र सूर्यवंशका भारतीय क्षतृय राजाहरूका प्रशस्त उदाहरण पाइन्छन्। सूर्यले आफ्नो विवस्वान् नाउँ राखेर पत्नी सङ्ज्ञाद्वारा जन्माएका वैवस्वत मनु र उनकी श्रीमती श्रद्धाका सन्तानहरूको राजकुल नै सूर्यवंशी कहलाएको थियो अनि चन्द्रवंश पनि राजा पुरुरवाबाट हजारौँ वर्ष अघि थालिएको हो। त्यसै हुनाले जङ्गबहादुर प्रधानमन्त्री हुनुभन्दा पहिले कुँवर थरमा रहेका सामान्य प्रजा स्तरका राणाहरूलाई सूर्यवंशी वा चन्द्रवंशी भन्नु वा शाहहरूलाई पनि पौराणिक प्रसिद्ध राजकुलसँग मिसाएर बढाइँचढाइँ गर्नु औचित्यहीन नै देखिन्छ। जे भए पनि चन्द्रवंशी र सूर्यवंशी राजाहरूकै प्रतिनिधित्व मात्र हाम्रो झन्डाले गरेको छ भनेर आफैँलाई गौरवान्वित तुल्याउन नै शाह र राणाहरूले चन्द्रवंशी र सूर्यवंशी भनेका हुन सक्छन्, तर त्यस सोचाइले वा प्रचारले राष्ट्रिय झन्डाको महत्त्वमा कुनै असर पार्न सक्ने छैन।

 गणतन्त्रात्मक लोकतन्त्र भारतको झन्डामा सम्राट् अशोकको चक्र छ र त्यसको राष्ट्रगान सुप्रसिद्ध बङ्गाली कवि रवीन्द्रनाथ ठाकुरले उपनिवेशवादी बेलाइती सम्राट् पञ्चम जर्ज पहिलो पल्ट आफ्ना भारतीय प्रजाहरूलाई दर्शन दिन दिल्ली आएका वेला लेखेको प्रशस्ति नै त हो। कवि ठाकुरले "जनगणमन-अधिनायक जय हे भारतभाग्यविधाता" भनेर "हे भारतभरिका जनताका अधिनायक, हे उपनिवेशी साम्राज्य भारतका भाग्यविधाता" भनेर व्यक्तिपूजा गरेका थिए वा सम्पूर्ण भारतीय जनतालाई परतन्त्र राख्ने विदेशी राजाको गुण गाएका थिए। चक्रपाणि चालिसेले "प्रचण्ड प्रतापी भूपति" भनेर आफ्नै राजाको गुण गाए त त्यसमा आश्चर्य किन मान्ने? तर स्वतन्त्र भारतले भने त्यही विदेशी राजाको प्रशस्तिलाई पनि राष्ट्रगानका रूपमा सादर अङ्गीकार गर्‍यो, परम्पराको राम्रो सम्मान गर्‍यो। हामी नेपालीहरू चाहिँ उत्ताउला भएर भूइँमा न भाँडामा हुँदै पुराना जे कुरालाई पनि फेर्ने अबुझ अभियानमा लागेका छौँ अनि शाह, राणा वा राजा भन्ने शब्द वा उनीहरूका समयको छनक दिने कुनै पनि कुरालाई एकोहोरो जनविरोधी, लोकतन्त्रविरोधी र प्रगतिविरोधी भन्दै इतिहासै नामेट गराउन उद्यत देखिन्छौँ।

 के इतिहास पनि मेटेर मेट्न सकिन्छ र? के पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णका समस्त जनतालाई एउटै साझा फूलबारीका फूलहरू मान्दै गरेको महान् एकीकरणलाई हुँदै नभएको पार्न सकिन्छ र? के चन्द्रशम्शेर राणाको तृचन्द्र कलेज, करिया अ-मलेख गरेर निर्माण गरेका चन्द्रनिगाहपुर, अ-मलेखगन्ज र चन्द्रनहरलाई धूलामा मिलाउन सकिन्छ र?

 जे भए पनि र जस्ता भए पनि हाम्रो इतिहासका समग्र पात्र र घटनाहरू जुनजुन युगबाट जसरी गुज्रँदै आएका छन् ती सबै कुरा हाम्रा सम्पदा हुन्, संस्कृति हुन् र अविस्मरणीय सत्य तथ्य हुन्। पृथ्वीनारायण शाहका सालिगको शिर छिनालेर वा सिम्हदरबारलाई खरानी तुल्याएर हाम्रो गौरवशाली इतिहासलाई भताभुङ्ग पार्छु भन्नु सूर्यलाई हत्केलाले छेलेर पूरै निभाउँछु भनेजस्तै मूर्खता हो। यी सबै ऐतिहासिक पात्र तथा घटनाको अविचलित रूपले निरीक्षण गर्दै आएको अनन्तदेखिको निष्पक्ष साक्षी यही हाम्रो रातो रङको द्वितृकोणात्मक चन्द्रसूर्याङ्कित राष्ट्रिय झन्डा नै त हो।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |