स्थिति
हरि घिमिरे, (भर्जिनिया)
म युद्धबाट भर्खर हिडेको
ढुङ्गा बोकेर
पानीका मुहान सुकि सके
रगतका मुहान फुटिसके
मसँग
फगत ढुङ्गाहरु बाँकी छन्
मेरो सुरक्षार्थ
ढुङ्गा मात्र ! म डडेलो लागेको पाखाबाट
भर्खर झरेको
पानी नपाएर सबै तड्पिएका छन्
ओखति नपाएर सबै पिल्सिएका छन्
मैले मेरा बच्चालाई पानी दिन सकिन
उनीहरुका यद्धका घाउहरुमा
तितेपाती दल्न सकिन
अजस्र रक्तप्रवाहको बीचमा
उनीहरुको आँसु पुछ्न सकिन।
धिक्कार छ-रक्तपिपासुहरु!!
तर त्यो भन्दा ठूलो धिक्कार छ
मभित्रको नामर्दीपनलाई
जसले 'त्यो' युद्धलाई रोक्न सकेन।
त्यसैले म भन्छु-
उनीहरुको दुष्टता भन्दा पनि
मेरो सक्रियताले कुनै भूमिका खेल्न सकेन।
हे भगवान्!
दुष्टहरुको दुष्टता के खतरा हुन्छ र?
सज्जनहरुको सक्रीयहिनता जस्तो खतरा अर्को केही छैन।
अक्टोबर १४,२००९