गजल
दीपक जडित, (एङकरेज, अलास्का)
सँधै लेखिरहें परदेशबाट यो रित्तो मानोको कथा ।
आफ्नै हातले छाउन नसक्दा चुहिएको छानोको कथा ।
आज फर्किएर घरमा आमाको अघिल्तिर उभिएर,
के लेख्न सकुँला आमालाई ढाट्दा आएको आनोको कथा ?
टाल्दैछु केहि प्वालहरु म आफ्नै घरमाथी दया गरी,
छ उस्तै बगाल छुटाई हिंड्ने माहुरीको रानोको कथा ।
धेरै सम्झनाले लखेटीरहे झन् सपनाले खेदै खने,
कठै! सम्झें यहि आँगनभरी छरिएको सानोको कथा ।
सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।।
02/01/2010