हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

सिनेमाको मानचित्रः नेपाली सिनेमाको साठीवर्ष

प्रकाश सायमी, (ललितपुर)

   

विश्वमा पहिलोपटक देखाइएको  सिनेमा 'द ट्रेन अराइभल इन स्टेशन' कुनै भाषाको नभएपनि यसलाई  फ्रान्सेली दाजुभाइले बनाएका थिए । यो सिनेमा सन् १८९५ को डिसेम्बर महिनाको २८ तारिखका दिन प्रदर्शन हुँदा एसियाका धेरै मुलुक सहभागी भएका थिए । यसको ठीक एकवर्षपछि नेपालको छिमेकी मुलक भारतको मुम्बईस्थित होटल वाट्सनमा प्रदर्शन हुँदा केही नेपाली उद्योगपति पनि सो सिनेमाको प्रदर्शनमा सहभागी भएको प्रमाण पाइन्छ तर त्यसको लगत्तै भारतमा सिनेमा बने पनि नेपालीमा बन्न सकेको थिएन । तर सन् १९१३ मा भारतको मुम्बईमा बनेको पहिलो सिनेमा राजा हरिश्चन्द्रको प्रभावमा कोलकता निवासी दिव्येन्द्रविक्रम परियारले सत्य हरिश्चन्द्र सन् १९५७ मा बनाए । हालसम्म पाइएको पुष्ट अपुष्ट प्रमाणका आधारमा सत्य हरिश्चन्द्र नै पहिलो नेपाली सिनेमा मानिन्छ । केही भारतीय नेपाली केही भारतमा संघर्षरत नेपाली सहभागी भएको सो सिनेमाको स्थिर चित्र बाहेक प्रमाणका रुपमा अन्य केही भेटिएको उदाहरण छैन । पंचायतकालमा शाही नेपाली चलचित्र संस्थानका महाप्रबन्धक हुँदा सो सिनेमाको रिल चालीस हजार रुपियाँमा किनॆको चलचित्रकर्मी यादव खरेलले दावी गरेपनि त्यसको निशानी अब केही बाँकी छैन ।  

सत्य हरिश्चन्द्र बन्दा तत्कालीन राजा त्रिभुवन भारत प्रवासमा रहेको हुनाले प्रमुख अतिथिका रुपमा उनले शुभ मुहुर्त गरेको उल्लेख पाइन्छ र उनले सम्मानपूर्वक नेपाली जातिको एडेप्टेबिलिटीप्रति गर्व गरेको कुरा स्व। दिव्येन्द्रविक्रम परियार सम्झना गर्दथे ।  

सत्य हरिश्चन्द्रको  प्रदर्शनका वेला नेपालीको सहभागिता शुन्य बराबर भएपनि यस सिनेमाको प्रदर्शन पछि नेपाल र नेपालीका निम्ति आफ्नै भाषाका वारेमा सिनेमा बन्नु पर्ने आवश्यकता महशुस हुन्छ । तर पनि यस सिनेमाको प्रदर्शन पछि आशातीत सफलता नदेखिएकोले निजी क्षेत्रबाट कुनै किसिमको उत्साह देखिएन ।  

सत्य हरिश्चन्द्र प्रदर्शनको दसवर्षपछि नेपालभित्रैबाट सरकारी लगानीमा आमा नामक सिनेमा बन्ने घोषणा भएकै समय निजी क्षेत्रबाट सुमनान्जली फिल्मस्को व्यानरमा माइतीघर नामक सिनेमाको निर्माणको घोषणा भयो ।  

यी दुवै सिनेमाका निर्देशक नेपाली मूलका भारतीय भएपनि दुवैजना सिनेमा निर्माणका ज्ञाता थिए । आमा सिनेमामा सम्पूर्ण कलाकार नेपालभित्रैबाट लिइएका थिए भने माइतीघरमा नायक नेपाली भएपनि नायिकामा भारतीय अभिनेत्री माला सिन्हा, चरित्र अभिनेता सुनील दत्त, राजेन्द्र नाथ आदि समाहित थिए । दुवै सिनेमामा प्राविधिक पक्ष भारतीय प्राविधिकले सम्हालेका थिए भने माइतीघर मा संगीतकार देखि गायनमा समेत भारतीय कलाकारको सहभागिता थियो । आमा सिनेमाका निम्ति नातिकाजी शिवशंकरले संगीत दिएका थिए भने पुष्प नेपाली तारादेवी शिवशंकरले पाश्र्वस्वर दिएका थिए । माइतीघरका निम्ति तीनजना संगीतकार चयनमा भएपनि जयदेव एक्लैले  यसमा व्यावसायिक रुपले असफल भएपनि माइतीघरका गीतमा भारतका चर्चित गायक गायिका लता मंगेशकर, मन्ना डे, आशा भोंसले, गीता दत्त आदिले स्वर दिएका थिए । यस चलचित्रका निम्ति प्रेमध्वज प्रधान, नारायणगोपाल र अरुणा लामा चयन भएपनि नारायणगोपालले मुम्बई गएर गीत गाउन सकेनन् ।  

आमा भारतको सर्वाधिक चर्चित सिनेमा मदर इन्डियाबाट प्रभावित थियो भने माइतीघर बङ्गाली सिनेमा ममताबाट प्रभावित मानिन्थ्यो । दुवै सिनेमा जे अर्थमा बनिएको भए पनि यसले नेपाली जनस्थानमा एककिसिमको प्रभाव पार्यो । निर्माणको हिसाबले पहिलो मानिएको माइतीघरको प्रदर्शनमा ढिलाई भएपछि निर्मातामा निराशा देखियो भने यसका निर्देशक बीएस थापा लामो समय नेपालबाट पलायन भए । तर आमाको प्रदर्शन पछि यसका निर्देशक हीरािसंह खत्री नेपालमै बसेर अन्य सिनेमा बनाउन थाले उनले क्रमशः 'हिजो, आज, भोलि'  बनाए । बीसको दशकमा बनेको परिवर्तन साहित्यिक कृतिमा आधारित पहिलो नेपाली सिनेमा मानिन्छ । जनार्दन  समको नाटक 'चेतना'मा आधारित यस सिनेमामा गायकको रुपमा नारायणगोपालले प्रवेश गरे भने गीतकारको रुपमा चेतन कार्की ले प्रविष्टी पाए । चलचित्रमा संवाद लेखकका रुपमा चेतन कार्कीले यसै समय प्रवेश गरे । यसै सिनेमाबाट अभिनेता नीर शाह, शैल्यान केसीले प्रवेश गरे ।  

निर्देशनका दृष्टिकोणले हीरािसंह खत्रीको 'परिवर्तन' अन्तिम चलचित्र भएपनि उनले नेपाली चलचित्र जगतका निम्ति राम्रा निर्देशक चेतन कार्कीलाई जन्माएर गए ।  

 

तीसको दशकः प्रवेशको युग   

तीसको दशक नेपाली चलचित्रको निम्ति एक आकर्षक समय मान्न सकिन्छ यसै दशकमा नेपाली चलचित्रको विकासको निम्ति शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो । यस संस्थानले राजाका कथानक चलचित्रको रुपमा पहिलो सिनेमा मनको बाँध बनायो । मनको बाँध भारतमा भर्खरै बनेको बी. आर. चोपडाको नयाँ दौरबाट प्रभावित थियो तर यसले व्यावसायिकतको पुट दिन सफल भएको भान हुन्छ । २०३२ प्रदर्शित यस सिनेमाका निर्देशक प्रकाश थापा जो भारतमा संघर्षरत कलाकार थिए । उनले प्राविधिक ज्ञान नभए पनि नेपाली छायाकार बैकुण्ठ मास्केको सहयोगमा सफलतापूर्वक परिणाम दिए । आमा पछि नातिकाजी-शिवशंकरले यसमा छापलाग्दो संगीत भरे । यसै चलचित्रमा पाश्र्वगायनमा तारादेवी नारायणगोपाल गुरुवाचार्य, बच्चुकैलाश ,मीरा राणा देखापरे । गीतकारका रुपमा पहिलोपटक माधव घिमिरे चलचित्रमा देखापरे भने माइतीघर पछि किरण खरेलले यसमा चमत्कार देखाए । तर पनि प्रदीप रिमालको कस्तुरी है बास आउँछ भन्छन् र माधव घिमिरेको फूलको थुँगा बगेर गयो गीतले चलचित्रको ज्यानलाई बचायो । यसै चलचित्रबाट शैल्यान केसी, सुषमा शाही, मीना िसंह, आनन्द थापा, हरिप्रसाद रिमालजस्ता कलाकारले ठूलो सम्भावना दिए । तर चलचित्र लेखकका रुपमा आएका श्रीधर खनालको यो पहिलो र अन्तिम चलचित्र सावित भयो भने क्यामेराम्यान बैकुण्ठ मास्केको पनि यो अन्तिम चलचित्र नै सावित भयो । तर छायाकार मास्केले दुई असल सहायक मुरारि ठाकुर, मञ्जु कुमार श्रेष्ठलाई उज्ज्वल भविष्य दिएर गए ।  

शाही नेपाल चलचित्र संस्थानबाट दोस्रो व्यावसायिक सिनेमा 'कुमारी' बन्यो । नेपाली भाषामा बनेको पहिलो रंगीन चलचित्र कुमारी बिजय मल्लव्दारा लिखित उपन्यास कुमारी शोभा मा आधारित थियो । फिल्म निर्देशनमा मस्कोबाट अध्ययन गरेर आएका प्रेमबहादुर बस्नेतले निर्देशन गरेको यस चलचित्रमा नायिकाको रुपमा चैत्यदेवी िसंहले प्रवेश पाए भने यो नै उनको अन्तिम चलचित्र हुन पुग्यो । नायकका रुपमा आएका शैल्यन केसी पनि यो अन्तिम सिनेमा बन्न पुग्यो । तर खलनायक गौतमरत्न तुलाधर, हास्य कलाकार आनन्द थापा, नयाँ कलाकार लक्ष्मी श्रेष्ठले राम्रो प्रभाव पारे । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहाभागिता जनाएको यस चलचित्रमा संगीतकारका रुपमा शिवशंकर र चन्द्रराज शर्माले संयुक्ति दिए भने गायनमा प्रतिभाशाली गायक माणिकरत्न स्थापितले ख्याति कमाए । व्यावसायिक सोचको न्यूनतम अपेक्षा राखिएको यस सिनेमाबाट निर्देशक प्रेमबहादुर बस्न्यातले पनि निर्देशनबाट विदा लिए ।  

तीसको दशकमा भारतबाट प्रवासी नेपालीको तर्फबाट दार्जीलिङमा प्रताप सुब्बाले परालको आगो बनाए । कथाकार गुरुप्रसाद मैनालीको कथामा निष्कपट रुपमा न्याय गरिएको यस चलचित्रले नेपाली सिनेमाको मुहारलाई बदल्ने कोसिस गर्यो रंगमंचको प्रशस्त अनुभव बोकेका परिष्कृत कलाकार टंक शर्मा, बसुन्धरा भुषाल, विश्वमणि हिङमाङ, मेनुका प्रधान, आइ के प्रधान आदिलाई समाविष्ट गरेर बनाइएको परालको आगो धेरै किसिमले नेपाली सिनेजगतमा एक अब्बल दर्जाको सिनेमा मान्न सकिन्छ ।  पहिलो पटक नेपाली चलचित्रमा महिला संगीतकार रुपमा शान्ति ठटालले उत्कृष्ट संगीत संरचना गरेकी छिन् भने निर्देशकका रुपमा प्रताप सुब्बाले कोसेढुङ्गा बनाएका छन् । यस चलचित्रको निर्माणपछि प्रताप सुब्बाले प्रवासको बजारलाई खोलिदिएकाछन् ।  

तीसदशकको मध्यतिर निर्देशक प्रकाश थापा दौलतविक्रम विष्टको कथामा सिन्दुर चलचित्र लिएर देखापरे । उनले नयाँ नायक विश्व बस्नेत, नयाँ नायिका मिनाक्षी आनन्दलाई पर्दामा सशक्त रुपमा प्रस्तुत गरे भने यही चलचित्र मार्फत् दार्जीलिङबाट नेपाल आइ बसेका गोपाल योाजनलाई नातिकाजीसित संयुक्त रुपमा संगीतकारको जोडीमा प्रस्तुत गरे । दुबैले सफल संगीतमा आफ्नो पहिचान दिए । यसै चलचित्रबाट नवगायक उदीतनारायण झा, नवगायिका सुषमा श्रेष्ठ पर्दामा आए भने नारायणगोपाल र तारादेवी मनको बाँध पछि फेरि जमे । व्यावसायिक रुपमा अत्यन्त सफल मानिएको पहिलो नेपाली चलचित्र सिन्दुरले काठमाण्डूको हलमा बाउन्न हप्ता चलेर अभिलेख कायम गर्या । यस चलचित्रबाट मञ्जु कुमार र मुरारि ठाकुर छायाकारको रुपमा स्थापित भए भने अभिनेता नीर शाह, सुवर्ण पोखरेल, सुशीला केसीले आफ्नो पहिचान बनाए । पहिलो पटक पर्दामा देखापरेका हरिहर शर्मालाई सुब्बा साहेबको  रुपमा र शान्ति मास्केलाई बोक्सी बुढीको रुपमा अनि गोपालराज मैनाली र बसुन्धरा भूषाललाई चँखे-नक्कलीको जोडीमा सदैव सम्झिने बनाए । यसै चलचित्रबाट अभिनयमा शम्भुजित बाँसकोटा, श्रीमाला शर्मा, हरिवंश आचार्य, प्रदीप रिमाल, राजन बस्न्यात, शशि पाठक, हिमालय लोहनी आदि देखापरे ।  

यस चलचित्रको प्रदर्शनपछि निर्देशक प्रकाश थापा सफल निर्देशकका रुपमा देखापरे भने शाही नेपाल चलचित्र संस्थानले पुनः सक्रियता देखायो । यस चलचित्रको प्रदर्शनसँगै भारतबाट प्रताप सुब्बाको निर्देशनमा बाँच्न चाहनेहरु प्रदर्शन भयो । नवनायक किरण ठकुरी, नायिका पुण्यप्रभा लोहार सहित दार्जीलिङका एक जत्था कलाकारले आफूलाई  प्रस्तुत गरेको सो फिल्मले राम्रो बजार लिन  सकेन ।  

तीसदशकको अन्त्यसम्म आइपुग्दा नेपाली सिनेमामा विस्तारै व्यावसायिकता देखा पर्यो । यसैवेला प्रकाश थापाले अर्को व्यावसायिक सिनेमा जीवन रेखा बनाए । नयाँ नायक शिव श्रेष्ठ र परिचित नायिका मीनाक्षी आनन्दको मूलभूमिका रहेको जीवन-रेखामा पहिलो पटक संगीतकार अम्बर गुरुङले संगीत दिए । पाश्र्वसंगीतकारको रुपमा यो अम्बर गुरुङको पहिलो र अन्तिम चलचित्र हुनपुग्यो  । यसै सिनेमाबाट अर्जुनजङ्ग शाही, हरिबहादुर थापा, बलमानिसं स्वाँर, जयनेन्द्र चन्द ठाकुर  पहिलो पटक देखापरे । यसै सिनेमाबाट पर्दामा व्दन्द पस्किने परम्परा शुरु भयो ।  व्यावसायिक रुपमा सफल मानिएको यस सिनेमाले नेपाली सिनेमाप्रेमीलाई चलचित्र निर्माण प्रति आकर्षित गर्यो । यसपछि मात्र निजी क्षेत्रबाट सिनेमा बनाउने लहर नेपालभित्र पनि देखा पर्यो । यसक्रममा सुजाता प्रोडक्शनले भारतीय निर्देशक शरद्  पालेकरको निर्देशनमा जूनी बनाउने घोषण गरे । जुनी असफल भएपनि यस चलचित्रबाट नयाँ नायक भुवन केसी स्थापित हुन पुगे ।  

यसपछि  हेम लामाले आदर्श नारी र बी एस थापाले कान्छी बनाए । कान्छी बाट नवनायिका शर्मिला शाह नायिकाको रुपमा आए भने आदर्श नारीबाट बिजय लामा नायकको रुपमा  र अँशुमाला शाही नायिकाको रुपमा देखा परे । निर्देशकीय रुपमा आदर्श नारी हेम लामाको पहिलो सिनेमा थियो भने अन्तिम पनि हुन पुग्यो । कान्छी बीएस थापाको पुनरागमन थियो माइतीघर पछि ।  उनले यसपालि सफलताको झन्डा गाडे । यस चलचित्रबाट कृष्टि केसी, ऋद्धिचरण श्रेष्ठ, गोपाल भुटानी, गौतम तुलाधर स्थापित भए । कान्छी बाट गायनमा प्रकाश श्रेष्ठ, बिमला राई पर्दामा आए भने नारायणगोपाल र अरुणा लामाले स्तम्भ बनाए । पुराना गायक प्रसाद श्रेष्ठ यसै चलचित्रबाट पुनः गायनमा देखापरे ।  

गोपाल योंजनले  यसपछि शाही नेपाल चलचित्र संस्थानको अर्को चलचित्र बदलिँदो आकाशमा संगीत दिए । यसमा शिव श्रेष्ठ, सुषमा शाही लगायत टीका पहारी, रबीन्द्र खड्का, नीर शाह आदि देखापरे । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ् इन्डियाबाट प्रशिक्षित लक्ष्मीनाथ शर्मा निर्देशित यो सिनेमाबाट चलचित्र संस्थानले कुनै सम्भावना दिन सकेन ।  

चलचित्रको तीस दशकको इतिहासमा सरकारी र गैरसकारी लगानीमा बनेका चलचित्रको प्रभुत्व रहयो भने यसै दशकमा नेपाली चलचित्रमा प्रेम रोमान्स र संगीतप्रधान सिनेमा बने पनि केही चलचित्रमा स्पष्ट रुपमा राजनीतिक सन्देश भएका सिनेमा पनि बने ।  

तीसको दशकमा बनेका सिनेमामा कथा र संगीतको महत्वका साथै नेपाली प्राविधिकीको प्रयोग प्रशस्त भएको  पाइन्छ र यस समय बनेका धेरै सिनेमाको छायाँकन नेपालको पश्चिमी भेग पोखरा, पाल्पा र स्याङ्जामा बढी भएको पाइन्छ भने केही चलचित्रको छाँयाकन भारतको मुम्बई र दार्जीलिङमा पनि भएको देखिन्छ ।  

तीसको दशकमा नेपाली सिनेमा संगीतमा नेपालीय स्वरमा नारायणगोपाल, तारादेवी, अरुणा लामा र प्रेमध्वज प्रधानको स्वर बढी प्रयोग गरिएको छ भने संगीतकारका रुपमा बीसदशकका लोकपि्रय संगीतकार नातिकाजी, अम्बर गुरुङ, शिवशंकरका साथै अम्बर गुरुङकै चेलाका रुपमा परिचित शान्ति ठटाल र  गोपाल योाजनले कान्छी मार्फत केही कालजयी गीत प्रस्तुत गरे भने चेतन कार्कीको शब्दमा रहेको कान्छी हे कान्छी बोलको गीतले लामोसमय दर्शकपंक्तिमा छाप राख्यो । अम्बर गुरुङको स्वरमा 'कहिँ आफ्नै भुँवरीमा आफै पर्या' कि जस्ता गीतले अमीट छाप छोड्न सफल भयो भने प्रेमध्वज प्रधानको स्वरमा हाँस्ने रहरहरु ले लामो समय ओठमा बसाइँ सर्यो    

सरकारी सुविधाका वावजुद पनि यस समय बनेका सिनेमा ३५ मिलिमिटरको प्रतिस्पर्धायुक्त प्रविधिमा छायाँकन हुने गथ्र्यो भने छायाँकारले त्यही सुविधा अनुरुप चलचित्रको गुणस्तरको परिणाम दिनसक्थ्यो । बजारको उचित व्यवस्था नभए पनि चलचित्रको विपणनको निम्ति सरकारी नीति तय थिएन ।  

चालीस दशकको शुरुवातः निजी क्षेत्रको रुचि  

चालीस दशकको शुरुवातमा प्रवासबाट खगेन्द्र सुब्बाको अर्को जन्म, तुलसी घिमिरेको बाँसुरी र प्रताप सुब्बाको कहिँ अँध्यारो कहिँ उज्यालो प्रदर्शनमा आए । तर ती कुनै चलचित्रले मापदण्ड बनाउन सकेनन् । बाँसुरीबाट नयाँ निर्देशक तुलसी घिमीरे आएजस्तै सङ्गीतकारका रुपमा रन्जीत गजमेर पर्दामा आए । उनले केही सम्भावना देखाए । अर्को जन्मबाट सङ्गीतकार गोपाल योाजन मैदानमा आए ।  

आदर्श नारीको असफलता र कान्छीको सफलताको लगत्तै प्रगति प्रोडक्शनले नयाँ निर्देशक चेतन कार्कीको  निर्देशनमा विश्वास को निर्माण शुरु गर्यो  । यसै सिनेमाबाट दुई नयाँ नायिका राजश्री क्षेत्री र रोशी कार्की पर्दामा आए भने शिव श्रेष्ठ पुनः नायकमा दोहोरिए । यसै चलचित्रले चेतन कार्कीको लामो अनुभव र अध्ययनलाई पर्दा सजीव ढङ्गमा पोख्ने काम भयो उनले यसै चलचित्रबाट अभिनेत्री मिथिला शर्मालाई प्रविष्टि दिए भने रंगमाचका कीर्तिस्तम्भ रत्नदास प्रकाशलाई सम्मानपूर्वक अभिनय गराए  । विश्वास चलचित्रबाट संगीतकार गोपाल योन्जन र उनका मित नारायणगोपालको सम्बन्ध तोडियो भने प्रकाश श्रेष्ठ उनका प्रिय गायक भए ।  

चालीस दशकको थालनीमै दुई सम्भावनावान निर्देशक देखापरे शम्भु प्रधान र तुलसी घिमिरे । यी दुवै निर्देशकमा धेरै कुराको समानता थियो । शम्भु प्रधानले सम्झना र तुलसी घिमीरेले कुसुमे रुमाल दुइटै सिनेमा भारतको पहाडी राज्य पश्चिमी बङ्गालको दार्जीलिङमा छायाँकन गरेका थिए । दुवै चलचित्रका नायक जुनीबाट असफल भएका भुवन केसी थिए भने दुवै सिनेमाका नायिका तृप्ती नाडकर थिइन् । दुवै चलचित्रका संगीतकार रन्जीत गजमेर र छायाँकार विनोद प्रधान थिए । यी दुवै निर्देशक भारतमा बसेर प्रशिक्षित भए पनि नेपालमा आएर भविष्य बनाउन चाहन्थे । शम्भु प्रधानले नेपालको छात्रवृत्तिमा पुणे गएर अध्ययन गरेका थिए भने घिमिरेले सिक्किमबाट श्याम प्रधानको फिल्म रोमियो इन सिक्किम बाट फिल्मजगत्मा प्रवेश मात्र पाएनन्  त्यहीँबाट आफ्ना गुरु पाए ।  

यी दुवैले एकै समय सिनेमा मात्र बनाएन्  यी दुवै फिल्म सम्पादनमा भारतमा कार्यरत थिए । यी दुवैका पछाडि छायाकार विनोद प्रधान र संगीतकार रन्जीत गजमेर थिए । सम्झनाबाट मुरलीधरले आफ्नो स्थान बनाए भने कसुमे रुमालबाट विश्वमणि हिङमाङ स्थापित भए । यी दुवै चलचित्रबाट प्रवासीय भूमिमा संघर्षरत गायनकर्मी उदीतनारायण झा, दीपा गहतराज, निर्मला गजमेर, भारती गजमेर प्रख्य भए । गायनका हिसाबले उच्चता देखिएको दुवै सिनेमामा गीति लेखन अति कमजोर र फितलो मानियो ।  

चालीसको दशकमा भारतको बाइसौँ राज्य सिक्किमबाट प्रताप सुब्बाको निर्देशनमा मशाल बन्यो । किशन रोकाको कथामा आधारित मशाल मा नयाँ नायक तेज रसाइली देखापरे भने मुम्बईका स्थापित कलाकार डैनी र रजनी शर्माले अभिनय गरे । यस चलचित्रले कुनै पनि किसिमको प्रभाव नेपाली दर्शकलाई दिन सकेन । मशालको असफलतापछि सिक्किममा लामो समय सिनेमा बन्न सकेन ।  

चालीसको अन्त्यतिर अभिनेता नीर शाहले साहित्यिक कृतिमा आधारित सिनेमा बासुदेव बनाए भने प्रकाश थापाका सहायकका रुपमा कार्यानुभव बटुलेका प्रदीप रिमालले के घर के डेरा नामक सिनेमा  बनाए । बासुदेवबाट नयाँ नायक कृष्ण मल्ल र के घर के डेराबाट  पुरण जोशी पर्दामा आए । बासुदेवमा नीर शाहको निर्देशकीय क्षमता उच्चकोटिको देखियो भने उनले कठिन विषयवस्तुलाई सरल ढङ्गले पर्दामा रुपायित गरे  यस चलचित्रले नेपालको व्यापारी घराना चौधरी परिवारलाई आकर्षित गरे पनि सफलताको स्वाद दिन सकेन । के घर के डेरा ले अत्यन्त व्यावसायिक कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनालीलाई समेटे पनि असफलता भोग्नु पर्यो । यस चलचित्रले नयाँ संगीतकार शुभबहादुर सुनाम र शम्भुजित बाँसकोटालाई पर्दामा प्रस्तुत गर्ने बाहेक नयाँ कार्यानुभूति केही हुनसकेन । यसमा गायक ओमविक्रम विष्ट र दीपक खरेलले आफ्नो स्वर पहिलो पटक पर्दामा प्रस्तुत गर्ने मौका पाए । बाँसुरी बाट अभिनयमा उदाएका बन्नी प्रधानले झोडा नामक सिनेमा यसैवेला बनाए ।  

चालीसको दशक नेपाली सिनेमामा हेम लामा, तुलसी घिमीरे, शम्भु प्रधान, बन्नी प्रधान, शरद् पालेकर, चेतन कार्की, लक्ष्मीनाथ शर्मा, नीर शाह आए पनि व्यावसायिक रुपमा बीएस थापा प्राविधिक रुपमा निकै सफल देखिए । उनको स्तरमा पुग्न नसकेपनि शम्भु प्रधान र तुलसी घिमीरेले छुट्टै पहिचान बनाए ।  

यी दुई निर्देशकको आगमन पछि तीस दशकका सक्रिय निर्देशक प्रकाश थापा र प्रताप सुब्बा अलि सुस्त भएको देखिए पनि चालीस दशकको मध्यतिर प्रकाश थापाले सन्तान बनाए भने यस चलचित्रले नयाँ नायक अर्जुनजङ्ग शाहीको युग शुरु हुनुका साथै नवनायिकाव्दय करिश्मा के.सी र गौरी मल्ललाई पर्दामा प्रस्तुत गर्यो भने यही सिनेमाबाट भारतका चर्चित वाद्यवादक मनोहरि िसंहले संगीतकारको रुपमा प्रवेश गरे ।  

चालीस दशकमा राजनीतिक रुपले प्रभावित भएर नीर शाहले पच्चीस बसन्त नामक सिनेमाको निर्देशन गरे  पंचायती व्यवस्थाको अवसानको समय बनेको यस सिनेमाले आशातीत व्यापार गर्न सकेन । यसै समय भारतको सिक्किमबाट छाँयाकन शुरु गरेर नेपालमा निर्माण सम्पन्न भएको साइनो ले नयाँ प्रयोग र प्रस्तुतिमा बजार बनायो । नयाँ निर्देशक उग्येन छोपेलले पहिलो पटक नेपाली चलचित्रमा सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानलाई साङ्केतिक रुपमा प्रविष्टी दिए भने यही चलचित्र मार्फत् पहिलो पटक नेपाली भोटे लाप्चे र इस्लामिक पात्रको पर्दामा एकरुपता पनि दिए । मशालबाट नेपाली चलचित्रबाट पलायन भएका डैनी यसपटक यस चलचित्रमा राम्ररी जमे भने सम्झना पछि मुरलीधर यस चलचित्रबाट स्थापित भए । दार्जीलिङेली रंगमंचका होनहार प्रतिभा पुकार गुरुङ, विमला राई, के बी मोक्तान, अजय शर्मा, ध्रुव लोहगान, प्रदीप पाखि्रन आदि देखापरे ।  

शम्भु प्रधानले निष्ठुरी बनाउने घोषणा गरे तर मायालु बनाए । तुलसी घिमिरेले लाहुरे बनाए  । लाहुरेबाट श्रवण घिमीरे नायक भए । बी एस थापा पुनः नयाँ चलचित्र मायाप्रीति मार्फत् पर्दामा आए । उनले नव नायक रबीन्द्र खड्कालाई पर्दामा ल्याए भने कृष्ण मल्ल र शर्मीला शाह -मल्ल लाई पुनः दोहार्याए ।  

यसैदशक नेपाली चलचित्र उद्योगमा संयुक्त लगानीका सिनेमा निर्माणको क्रम शुरु भयो जसले गर्दा नेपाली कलाकार विस्तारै विदेश पलायन हुनथाले । त्यसमध्ये शिव श्रेष्ठ, सुषमा शाही, डली गुरुङले नेपालको भूमि छोड्न थाले । भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्काले आपसमा मिलेर शुरु गरेको यो अभियान लामो समय चल्न सकेन ।  

चालीसको दशकको अन्त्यतिर नयाँ निर्देशकमा दीपक रायमाझी- भाग्य रेखा, चन्द्रप्रकाश घिमिरे –पिरती, प्रदीप उपाध्यायले -झुमा  लिएर आए । भाग्यरेखा पछि झुमामा अभिनय गरेकी मौसमी मल्लले त्यससमय सबैभन्दा बढी पारिश्रमिक लिएकी थिई भने नयाँ निर्देशक फूर्वा छिरिङ्ग शेर्पाले आफ्नो पहिलो चलचित्रमा नवनायिका मनीषा कोइरालालाई दिनको हजार रुपिया दिएर नायिकाको पारिश्रमिको रेकर्ड तोडेका थिए ।  

चालीसको दशकको उत्तर्राद्धमा राजेन्द्र शलभको निर्देशनम विजय पराजय बन्यो । यसमा संगीतकारको रुपमा शम्भुजित बाँसकोटा आए भने श्याम राईको चोटबाट भूपेन्द्र रायमाझी आदि अगाडि आए । यी दुवै चलचित्रमा नवनायक सरोज खनालका साथमा नवनायिका रुपा राना सक्रिय रहे । यसैसमय नयाँ निर्देशक यादव खरेल चेलीबेटी लिएर आए भने पुराना निर्देशक चेतन कार्की भुँवरी लिएर देखा परे । 

चालीसको दशकमा नयाँ नायक नायिकाको लहरमा पिरतीबाट नबीना श्रेष्ठ आए भने गौरी मल्ल, कृष्टि केसी, करिश्मा केसी, रुपा राना देखापरे ।  

निर्माणका दृष्टिकोणले चालीसको  दशकमा बनेका प्रायः सिनेमामा प्रविधिको परिचय संकुचित हुँदै गयो । यसवेला बनेका सिनेमा १६ मिमीमा खिचेर ३५ मिमीमा ब्लो अप गरेर देखाउने किफायती  प्रविधि सुरु भयो जसले गर्दा खुल्ला बजारमा अन्य सिनेमासित प्रतिस्पर्धा गर्न नसकिने भयो । यसैसमय पंचायती सरकारले नेपाली सिनेमामा संरक्षण दिने घोषणा गरेपछि निजी क्षेत्रमा निर्माणको होड चल्न थाल्यो र यो सुविधाले नेपालबाहिर बन्ने सिनेमा पनि नेपालभित्रै बन्न थाल्यो ।   

साङ्गीतिक पक्षमा यस दशकमा पनि अम्बर गुरुङकै चेलाव्दय गोपाल योन्जन र रन्जीत गजमेर नै मैदानमा सक्रिय रहे । दार्जीलिङबाट आएका दुवै संगीतकारले फरक फरक परिचय दिए नेपाल भास्सिएका गोपाल योन्जनले सक्दो नेपाली गायनकर्मीलाई गाउने मौका दिए भने उनकै सहकर्मी रन्जीत गजमेरले सक्दो अनेपाली स्वरलाई नेपाली सिनेमामा प्रविष्टी दिए ।  

तुलसी घिमीरेले चिनो नामक सफल सिनेमा बनाए भने शम्भु प्रधानले निरन्तरता दिइरहे । प्रकाश थापाले कन्यादान, अधिकार जस्ता नयाँ सोचका सिनेमा बनाए । चिनोबाट सुनील थापा, कन्यादानबाट मुरलीधर खलनायकमा स्थापित भए भने नायिका गौरी मल्ल र कृष्टि केसी सर्वप्रिय भए । चालीसको दशकमै गायकबाट नायक बनेका उदीतनारायण झाले पिरती को असफलतापछि अभिनय छोडिदिए भने गायकबाट नायक बनेका भुवन केसीले निरन्तरता दिइरहे ।  

 

पचासको दशकः युवाको स्वर   

चलचित्र बनाउन कपाल पाकेको,  तालु खुइलिएको हुनुपर्छ भन्ने मान्यतालाई त्यागेर तेईस वर्षीय उग्येन छोपेल आएपछि उनको सफलताका पछाडि नीर शाहका सहायक भएर काम गर्दै गरेका श्याम राई आए भने श्याम राईका सहायक भएर काम गरेका नारायण पुरी पनि निर्देशक भएर देखापरे । पचासको दशकमा धेरै युवा निर्देशकले चलचित्रमा प्रवेश गरे ।  

त्यतिवेला दुई किसिमका निर्देशक पर्दामा आए । सरकारले स्थापना गरेको टेलिभिजनबाट प्रशिक्षित टेलिसचारकर्मीहरु र भारतका मुम्बईमा संघर्ष गरेर काम सिकेका युवा जमात । मुम्बईबाट आएका युवा पुस्तामा किशोर राना, राजविक्रम शाह, प्रकाश सायमी थिए भने नेपाल टेलिभिजनबाट प्रशिक्षित श्याम राई, रमेश बुढाथोकी, तीर्थ थापा, नारायण पुरी, महेन्द्र श्रेष्ठ, राजेन्द्र शलभ आदि थिए । ती दुवै धारका निर्देशकको सिनेमा निर्माण र प्रस्तुतिमा पृथकता अवश्य थियो ।  

छयालीस सालको आन्दोलन पछि प्रहरी सेवामा रहेका नायक अर्जुनजङ्ग शाहीलाई वहिष्कार गरिने घोषणा भएपछि उनी चलचित्रवृत्तबाट विस्तारै बाहिर भए । उनले खेल्ने शैलीका सबै सिनेमामा नवनायक राजेश हमाल देखापरे । दीपक रायमाझी निर्देशित युगदेखि युगसम्म बाट आएका राजेश हमालले भुवन केसी र शिव श्रेष्ठको ठाउँमा आफूलाई विस्तारै ठाउँ बनाए ।  

पचासको दशकको शुरुवातमै किशोर रानाको  कर्जा, प्रकाश सायमीको पृथिवी, तीर्थ थापाको सडक, रेशराज आचार्यको बोगसको निर्माण  शुरु भयो । तर यही दशकमा बनेको किशोर रानाको राँको ले प्रविधिमा नयाँ छलाङ त लगायो तर यो व्यावसायिक रुपमा अफापसिद्ध भयो । नेपाली चलचित्र जगतका सिनेमास्कोपमा बनेको यो पहिलो फिल्मबाट निर्माता निराश भए ।  

पचासको दशकमा आएका युवा निर्देशकले विचार विषयवस्तु र प्रस्तुतिमा नयाँ नयाँ शैली र शिष्टता अपनाए । नेपाली सिनेमाका गीतको रेकर्डिङ भारतको मुम्बईमा हुन थाल्यो भने प्राविधिक कार्य पनि विदेशतिर हुन थाल्यो । यही क्रममा केही चलचित्रको छायाँकन बेलायतमा समेत हुनथाल्यो । बेलायतमा छायाँकन गरिएको किरण प्रधानको पहिलो सिनेमा कस्तुरी बाट नयाँ नायक अजयशेखर देखापरे भने विदेश पलायन भइसकेकी नायिका करिश्मा केसी पुनः फर्केर नेपाल आए ।  

पचासको दशकमा बनेका प्रायः सिनेमामा मानवीय आक्रोश र मान्छेभित्र दबिएको हिँसालाई पर्दामा प्रष्ट्याउने काम दिग्दर्शकले गरे । नेपाली रंगीन पर्दामा रगत बाहेक केही देखिएन भने त्यही रक्तिम पर्दामा केही आशालाग्दा गीत पनि सुनिए राम्राराम्रा कवि गीतकारको । तीमध्ये रत्नशम्सेर थापा, मनबहादुर मुखिया, दिनेश अधिकारी, चेतन कार्की आदि पर्दामा मुद्रित भए ।  

नेपाली सिनेमाको पाँचौदशक नेपाली सिनेमामा द्वन्द्वको युग भएपनि केही सम्भावना भएका संगीतकार यसैवेला चलचित्रमा आए । दिव्य खालिङ, शक्तिवल्लभ, प्रकाश गुरुङ, शुभबहादुर, राम थापा, शिलाबहादुर  मोक्तान, युजिन लामा, न्ह्यू बज्राचार्य, सचिन िसंह आदिले आफ्नो स्पष्ट धार बनाए । यसैसमय नेपाली रजतपटमा धेरै भारतीय गायकले पर्दामा स्वर दिए । कुमार सानू, विनोद राठौर, अभिजीत, साधना सरगम, सोनू निगम, अनुराधा पौडवाल, अनुपमा देशपाण्डे, अनूप जलोटा आदिले गीत गाए ।  

यसैदशक तुलसी घिमिरेको बलीदान, प्रकाश सायमीको सिमाना, प्रताप सुब्बाको भीष्मप्रतीज्ञाले नयाँ रेखा कोर् यो । सिमानाबाट राजेश हमालको बराबरीमा धीरेन शाक्य देखापरे भने बलिदानबाट हास्यकलाकार हरिवंश आचार्य नायकका रुपमा देखापरे ।  

पचास दशकको अन्त्यतिर नया सोचका साथ निर्देशकका रुपमा रवि बराल चमेली मार्फत् देखापरे भने उज्ज्वल घिमिरे गोठालो लिएर पर्दामा आए । उज्ज्वल घिमिरेले यसपछि केही व्यावसायिक सिनेमा पनि बनाए- जिन्दगानी, विश्वास आदि । तृष्णा चलचित्रपछि पलायन भएका उग्येन पुनः चलचित्रमा यसैदशक फर्केर आए तर उनी सफल हुन सकेनन् ।  

 

साठीको दशकः आशा र भरोसाको नयाँ मार्ग  

साठीको दशकमा नेपाली सिनेमा हाइभिजन हलबाट विस्तारै माथि उठेर ठूला हलको निम्ति बन्ने अभियान शुरु भयो । तर त्यो अनुरुपको विषयवस्तु पाउन नसकेर ती चलचित्र नेपथ्यमै हराए । नेपाल चलचित्र निर्माणक्रममा भारतबाट कथा आयात गरिने कुपरम्परा यस दशक देखि विस्तारै छोडियो । धेरै लामो समयदेखि मुलुकमा चलिरहेको सशस्त्र द्वन्द्वको आभाष पर्दामा स्पष्ट देखियो । यसबेला बनेका धेरै चलचित्रमा माओवादी छापामार युद्धको प्रभाव र असर प्रष्ट देखियो ।  

साठीको दशकमा विशेष गरेर नेपाली सिनेमामा केही प्रयोगात्मक शैली र नयाँ धारका सिनेमाको निर्माणको थालनी भयो । सन् १९७० पछि भारत सरकारले उपलब्ध गराएको पुना इन्स्टिच्युटको फिल्म अध्ययन सम्बन्धी छात्रवृत्तिले त्यस अध्ययन संस्थामा पढ्न गएका नेपाली शिक्षार्थीहरुलाई कला चलचित्र सम्बन्धी चासो र उत्सुकता दिलाएको छ । बिशेषतः पुना इन्स्टिच्युटबाट अध्ययन सकेर नेपालमै चलचित्रसम्बन्धी काम गर्न थालेका फिल्मका विद्यार्थीले यसका लागि धेरै मलजल गरे । पहिलो चरणमा अध्ययन सकेर आएका प्रेम उपाध्याय, प्रदीप उपाध्याय, लक्ष्मीनाथ शर्मा, एल. एन. भट्टराई प्रवृत्तिका सिनेमकर्मीले यस किसिमका चलचित्र निर्माण नगरेपनि यस्ता खाले सिनेमा बन्नुपर्छ भन्ने बहस चलाए ।  

 

दोस्रो चरणमा नेपालमा आई कला चलचित्र छायाँकन गर्न आउने बिदेशी मूलका फिल्मकर्मीहरुले पनि यहाँका सिनेमा अनुरागीहरुलाई नयाँ धारका चलचित्रप्रति आकृष्ट मात्र गरेनन् त्यसतर्फ बाटो देखाए । त्यसमध्येमा हलिऊडका  मध्यममार्गी सिनेनिर्माता निर्देशक जापानी, फ्रान्सेली, जर्मनी सिनेमाका भ्रमणटोलीमा आएका सिनेकर्मीहरुले यसप्रति अझ बढी सकारात्मक सोच बनाइदिए । नेपाली सिने विधामा चलचित्रको चर्चा अन्तरकि्रयाको पहल राजधानीमा खुलेका फ्रान्सेली सांस्कृतिक केन्द्र, जर्मन राजदूतावासको गोयथे इस्टिच्युट, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र भारतीय राजदुतावासको  नियन्त्रणमा रहेको नेपाल -भारत सांस्कृतिक केन्द्रले बेला बेलामा मौसम अनुसार आयोजना गरिने त्यस मुलुकका चलचित्र महोत्वसव वा गोष्ठिले पनि गर्यो  । त्यसको प्रत्यक्ष देन नेपाली रंगकर्ममा सक्रिय युवा रंगकर्मी तथा युवा स्रष्टा र त्यसप्रतिको नेपथ्यमा रहेर सघाइरहेका पुस्तालाई वैचारिक रुपले आकर्षित गर्यो  र तिनै पुस्ताले भारतीय कला चलचित्र, जापानी, चीनिया, फ्रान्सेली, चलचित्रको ज्ञान प्रवद्र्धन गर्ने माध्यमका रुपमा यस किसिमको आयोजना उत्सवधर्मितालाई एक अवसरका रुपमा लियो । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |