हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

युगकविका अमर विचारले प्रेरित हामी

डा. गोविन्दराज भट्टराई, (प्राध्यापक अङ्ग्रेजी, त्रिभुवन विश्वविद्यालय)

(युगकवि सिद्धिचरण श्रेष्ठको अन्ठानब्बेऔँ जन्मजयन्तीको अवसरमा)

प्राध्यापक डा. गोविन्दराज भट्टराई 

 

बरु बाँच युवक दुई घडी मात्र  

चम्की उज्वल पारी समस्त ।

  





यी पङ्क्तिहरु युगकवि सिद्धिचरण श्रेष्ठद्वारा आधा शताव्दी अघि रचिएका हुन् । त्यस बेला एकातिर राणाकालीन दमनचक्र चरम उत्कर्षमा पुगेको थियो अर्कातिर प्रथम विश्वयुद्धपश्चात् विश्वव्यापी स्वतन्त्रताका लहरहरु उठेका थिए त्यसमाथि नब्बे सालको भूकम्पले गर्दा उथलपुथल मच्चाएको थियो देशको ह्दयमा पीडा विद्रोह र आन्दोलन उम्लिँदै थियो । त्यसैबेला सम्पूर्ण मुक्ति र स्वतन्त्रताको आकाङ्क्षा राखेर अन्धकार विरुद्ध लड्ने केही नेपाली स्वप्नद्रष्टाहरु जन्मिए । सिद्धिचरण तीमध्ये एक हुन् । त्यसैबेला शारदाको जन्म हुनु एक ऐतिहासिक आरम्भ थियो । त्यही कालदेखि नै सिद्धिचरणले क्रान्तिको उद्घोष गर्न थाले । सिद्धिचरणको राष्ट्रिय जीवनमा अथवा उनका सिर्जनामा तीनवटा विशेषता छन्- स्वच्छन्दता मानवता तीव्र विद्रोह चेतना ।
  

नेपाली साहित्यमा कलाको कुरा गर्दा सिद्धिचरणको स्वच्छन्दतावादी स्वरको सम्झना हुन्छ तर उनलाई अमर गराउने तफ्व ता त्यो विद्रोही चेतना हो जुन त्यस अन्धकार युगको साहित्यमा प्रकट भयो । उनी निरङ्कुशताका प्रतिरोधी भएकैले ९७ सालमा लामो कारावास सजाय तोकियो । उनीमाथि मानवीय र दैवी विपत्ति थपिए । तर उनी झुकेनन् । 

त्यसकालका रचनामा कविको ह्दय क्रान्तिको उद्घोष गर्दै विश्वकम्पित गराउने चेतना बोकर जुर्मुराएको पाइन्छ । तर उनमा सदैव त्यही एक स्वरमात्र नभएर अन्य हाँसो रोदन पीडा र प्रेमले वशिभूत गराइएका क्षणमा पनि कविताहरु जन्मेका छन् । त्यहाँ छाँयावाद र प्रगतिशील ध्वनि पाइन्छन् ।  


निरङ्कुशताविरुद्धको लडाइमा अनेकौँ यातना पीडा र हन्डर थिए; कठोरताको वन्धन थियो तिनको वेवास्ता गर्दै उनले निरन्तर स्वतन्त्रताको निम्ति बलिदान गर्न आह्वान गरे जसले अनेकलाई प्रेरित
गर्यो । त्यो एक सिङ्गै युगको पुनर्जागरण पथप्रदर्शन र नवनिर्माणको निम्ति आह्वान थियो- 

खोलनलाई जनको चाला बोल्छु म डरको भाषा  

रोक्दछ भन्दैमा वैभव पथ के म नलेखुँ अव कविता ! 


कवि अदम्य उत्साहले र आत्मविश्वासले भरिएका छन् कुनै शक्तिले वशीभूत गराउन सक्तैन । वैभवको पथ अवरुद्ध होस् कुनै पर्वाह छैन, 'जनको चाला खोल्न' उनको निडर कलम अघि सर्छ ।
शुषुप्त जनचेतना जाग्रत गराउनेहरु भर्खरै फाँसीमा चढेका थिए । त्यसैबेला कविमा क्रान्तिकारी स्वर चर्किंदै गएको थियो ।  

बोलिदे हे मेरो प्यारो हिमाल विश्व थर्कोस चूर्ण होस् वास्ता नराख  

नासिने यो विश्वको गिन्ति छ के र ! उच्चताको स्वच्छताको श्रोत छोड

  

उच्च र स्वच्छ हुँ भनेर सगौरव अडिएको हिमालयलाई कविले चिरनिन्द्रामा बेस्सरी झट्कार्छन् । फेरि अर्को हुङकार गर्छन-

ज्वाला दन्कोस दनदन यहाँ मृत्यु आई फुकेको  

पापाचारी यदि छ त यहाँ माथ नै ताक्छु त्यसको ।  

 

यसरी कुर्लंदाकुर्लंदै कविलाई नियतिले दण्डित गरेको छ । अग्निपरीक्षा लिएको छ आफ्नै ह्दयको स्पन्दन अतीव पि्रय पुत्रको प्राण लिएर अनि उनको कवि अझ उग्र र दुर्दमनीय भएर गर्ज्यो विश्वव्यथाको पीडा भएर- 

आज नखाऔँ नसुतौँ सब मिली हडताल मचाऔँ  

कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ ।  


यो विधि राणाकालको विरोधमा उर्लेको गर्जन थियो, चुनौती थियो । त्यसपछि अझ भीषण बलीदानी संघर्षको लागि उद्यत भएको कवि ह्दय बोल्छ-  

भाग सवै जन दुर म बाट या सब मिली मार मलाई  

नत्र कुनै दिन भैरव बन्दै नाच्छु म नरमुण्ड लगाई ।

  

यसरी उनी एक क्रान्तिकारी शक्ति थिए उनका त्यस्ता स्वरहरु कोपिला विम्बप्रतिबिम्बमा सङ्कलित छन् । फेरि उता उर्बशीमा पुग्दा उनै कवि सम्वेदनशील प्रणय कविको रुपमा असाध्यै नरम भएको पाउँछौँ । उर्बशी खण्डकाव्य महाभारतको एउटा कथालाई सूक्ष्माकारमा कुँदिएको सुन्दर मूर्ती हो । ९७ सालको क्रुरताले 'उर्बसी' जन्मायो । यद्यपि कारागारमै रच्न थालिएको उर्वशी २० वर्ष पछि मात्रै जगत्मा आयो ।  

उर्बशीमा पार्थिव सुख र आध्यात्मिक सुख या अतीन्द्रीय प्रेमको द्वन्द्व छ र अन्त्यमा गएर पहिलोले हार्छ त्यही हार उर्वशीको हार हो अनि कविको पनि । अर्जुन भएर उनले बोले-  

स्वप्न पलाऊ स्वप्न पलाऊ छरिता धार वहाई  

कल्मस मनको सव पन्छाऊ मोहन ज्ञान चुडाई

  

यस्तो चेतनाबाट सुरु गरेको जीवन यात्रा परिपक्व अवस्थामा पुग्दा कटु यथार्थले कविलाई अर्को भाषा बोल्न लगायो-  

विपुल नपाउनुले यस्तो डामेको संसारमा  

तिम्रो अर्जुनलाई नपाउनु होइन क्यै वात यहाँ  

तिम्रा ती प्रति कदम अगाडि छन् लाखन फेरि कदम  

सम्झी अव ता पाऊ उचाल छन् अझ विजय हजारन ।
  

यसरी सिद्धिचरण हरेक युगका लागि आशावादका प्रतीक हुन् अनन्त प्रेरणाका स्रोत हुन् । उनलाई कुनै नैराश्यले वशिभूत गराएन । उनमा आशा छ भविष्यप्रतिको निष्ठा छ र विश्वास संयम र धैर्य पनि ।  

मानवता हो विस्तृत बन्नु हो पशुता खुम्चिनु चाहिँ  

देख्दा देख्दै शिखर उज्यालो किन म रुकूँ यो फेदीमा;
  

सिद्धिचरण श्रेष्ठको जीवन एउटा त्रिवेणी हो । उनले अन्धकार युगमा गाएको मानव स्वतन्त्रताको गीत उनले निरङ्कुशता विरुद्धको लडाइँमा अर्पेको जीवन र कलिलो नेपाली साहित्यलाई दिएको गौरवमय उचाई- एउटा जीवनमा त्योभन्दा बढी कति गर्न सकिन्छ र  ? उनका कोपिलामा र मेरो प्रतिबिम्बिमा अत्यन्तै शक्तिशाली विद्रोह र आक्रोशका कविता छन् । कुहिरो र घाम (कवितासङ्ग्रह)मा उनलाई नेपाली सहित्यमा रोमान्टिक धाराका प्रवर्तक मध्येका एक भनिएको छ । उनका कृतिमा ज्यानमारा शैल, शवरी, मङ्गलमान, बाँचिरहेको आवाज, जूनकीरी, बालीवध, भीमसेन थापा हुन् । त्यस अतिरिक्त सिद्धिचरणका प्रतिनिधि कवितासङ्ग्रह सिद्धिचरणका जेल संस्मरण आदि पर्दछन् । नेपाल भाषामा पनि सिस्वाँ फुरवाँ लगायतका कृति प्रकाशित छन् । उनका चुनिएका कवि माधवलाल कर्माचार्यको सुन्दर अनुवादमा Poems by Siddhicharan Shrestha शीर्षकमा प्रकाशित छन् । उनी राष्ट्रियताको भावनाले उठेका स्वतन्त्रताप्रेमी योद्धा र अत्यन्तै सरल भाषामा कविता रच्ने कवि हुन् । उनका कविता सबै जीवनवादी आशावादी सुधारको उत्थानको मुक्तिको उद्देश्यले रचित छन् ।

 

उनको मृत्युपश्चात प्रकाशित लघुकाव्य आँसुलाई यसरी चिनाइएको छः प्रकृति र विद्रोहको स्वर सन्धान गर्ने कविले 'आँशु' काव्यमा विषादको गीत गाउन चाहेका छन् । समाजमा व्याप्त असमानता, कुरीति, गरीबी, शोषण, भ्रष्टता देखेर वा धर्म र न्यायका पाप र पुण्यले आवाद गरिरहेको देखेर कवि समयप्रति आक्रोश व्यक्त गर्छन् र त्यसको विरोधमा उठ्छन् । सामाजिक परिवेशमा कविले मानवतावादी स्वर उरालेका छन् । त्यसैगरी 'भीमसेन थापा' एउटा राष्ट्रिय गाथा हो भने 'मङ्गलमान' कृष्णचन्द्रिसंह प्रधानज्यूका शब्दमा एउटा मिथकीय चरित्रको जीवनगाथा हो । यसमा एउटा सामाजिक यथार्थ जातीय विवाद केही परिवर्तनका चाहनाहरु जनसमाजमा देखिएको अलिकति प्रगति अनि देशसँग गरिएको बलात्कार र तिनको विरोधमा लाग्ने धेरथोर नारा पनि हुन् मङ्गलमान ।

 

आजको सामाजिक यथार्थता बदलिएर किनारिएकापट्टि लाग्ने समय छ । यतिखेरको राजनीति साहित्य सबैकुरा पिछडिएका किनारिएका मार्जिनल पट्टि फर्केको छ । धेरै अघिको स्थितिबोध गराउने एक अछूत नेतालाई मिथकीय पात्र बनाएर मङ्गलमान रचेका छन् । तर यथार्थ पनि हो । 

 

वर्तमानको आवाज त्यसमा प्रतिध्वनित छ । तर आज पनि मङ्गलमानको भोगाइ दोहोरिएकै छः 

माछो-माछो भ्यागुत्तो भो यत्न भयो व्यर्थ 

देश मात्रै ठगिँदै गो लाखौँ लाखौँ पल्ट

  

यो शताव्दी लामो निरङ्कुशता विरुद्धमा धेरै सर्जकहरु लडे अझै लड्दै छन् तर जागृतिकालमा परेका सिद्धिचरणको पुस्ताले खपेको कष्ट आज केहीसँग तुलना छैन । उनको सम्झना मात्रले सम्पूर्ण साहित्यको शिर गौरवले ठाडो हुन्छ । जबजब यो राष्ट्रमा अधिनायकताको कालो बादल मडारिन्छ तब हामीलाई उनै सिद्धिचरणको सम्झना हुन्छ ।   

उनी अनन्य प्रेरणाका स्रोत हुन् । तर उनको अझै समग्र मूल्याङ्कन भइसकेको छैन । उनका अप्रकाशित रचनाको खोजी र प्रकाशन गर्नु पर्ने दुर्लभ र अप्राप्य कृतिको पुनर्मुद्रण गर्नु पर्ने अझ अङ्ग्रेजी हिन्दीमा झैँ 'सिद्धिचरण समग्रमा (Complete Works of Siddicharan) निकाल्नु पर्ने, अझ त्योभन्दा ठूलो कुरा सिद्धिचरणमाथि गम्भीर अध्ययन समीक्षा समालोचना र अनुसन्धान गर्नु गराउनु पर्ने । यतिखेर एउटा कुरा भन्नु पर्दछ- जसले आफ्नो जीवनको सर्वस्व यो राष्ट्रलाई अर्पित गर्यो यो राष्ट्रले पनि तिनको केही ऋण तिर्नु पर्दछ । सिद्धिचरणलाई राम्ररी स्थापित गराउने दायित्व यो राष्ट्रको पनि हो । राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्रिसंह प्रधान… जस्ता शिद्धिचरणका समकालीन व्यक्तित्वहरुको उपस्थितिमा मैले धेरै बोलें कि जस्तो डर लाग्न थालेकोले आज यही रोकिन्छु । धन्यवाद ।  

 

(२०६६-२-६ गते शनिबार कविको अन्ठानब्बेऔँ जन्मजयन्तीको अवसरमा राष्ट्रपति भवनमा पाठ गरिएको अंश ।)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |