हाम्रो चाहना
आनन्दप्रसाद शर्मा, (हाल: वाशिंगटन डि.सी.)
अग्ला पर्वतसृंखला हिमचुली मैदानसारा ठूला ।
चौडा सागर अन्तहीन गहिरा दुर्भेद्य खाडी ठूला ॥
लाखौँ लाख अनन्त यो गगनका ती पिण्ड तारा ठूला ।
यो ब्रम्हाण्डसरी विशाल मनका नेपालवासी ठूला ॥
सारा धार्मिकग्रन्थ सार पृथिवी सम्पूर्ण जाति हित ।
रामायण कुरान बाईवल वा सन्देश हुन् वुद्धका ॥
ती भन्दा शुभ उच्च स्वच्छ मनका सत्प्रेम सद्भावना ।
सर्वोत्कृष्ट छ यो सफा हृदयको हाम्रो भलो भावना ॥
चोखो निश्छल स्वच्छ वाल मनको मुस्कान बोली मीठो ।
चढ्दो यौवनमा नयां मिलनमा माया वधूको मीठो ॥
सङ्लो निर्मल भावना अनि मीठो निस्वार्थ सेवा प्रीत ।
सर्वोत्कृष्ट मीठो सहिष्णु ममता हाम्रो छ यो मित्रता ॥
आंधीसाथ तुफान वेग वहने हावा हुरी तेजिलो ।
ज्वाला अग्नी प्रचण्ड ताप विजुली चट्याङ शक्ति ठूलो ॥
भैचालो बलवान भेल पहिरो अद्भूतकॊ क्षमता ।
ति भन्दा वलियो अभेद्य दरिलो हाम्रो छ यो एकता ॥
जन्मस्थान र धर्म संस्कृति कला जातीय भाषा रीति ।
मान्छेलाइ अवश्य लाग्दछ सवै प्यारा पहिचान यी ॥
आफ्नो प्राण वरावरी प्रिय कुनै लाग्दैन संसारमा ।
त्यो भन्दा प्रिय 'शान्ति' बुद्ध मनका हाम्रो छ यै चाहना ॥
Comments
Bishnu Sheetal
कवि आनन्दप्रसाद शर्माले आजको पुस्तालाई छन्दमा कविताका कोशेलीहरु दिइरहनु भएको छ, यो पुस्ताले उहालाई धन्यवाद दिनु पर्दछ । छन्दमा भावनाहरु अभिब्यक्त गर्न निकै ठूलो क्षमताको आबश्यता पर्दछ । यो क्षमता उहाँमा पाउनु हामी सबैको भाग्यको कुरा हो । यस्ता कविता पढीरहन पाइयोस ।
Gopal Regmi
अर्को उच्च कोटिको कविता कवि आनन्द शर्माबाट ! शार्दूलविक्रडित छन्दमा, अन्त्यानुप्राशको उपयोगले कविता मधूर र गेयात्मक बनेको छ ! भावको कोमलता त कवि शर्माको विशेषता नै हो ! भविष्यमा पनि यस्तै मीठा मीठा कविताको आशा गर्दै कवि शर्मा र यस्तो राम्रो कविता पस्कने खसखस डट कमलाई पनि धेरै धेरै धन्यवाद !