हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मदन पुरस्कारमा अम्लिसोको मर्याङ् मर्याङ्

बसन्तकुमार बस्नेत, ()

अन्तरङ्ग

 

२०२६ सालमा इलामको नाम्सालिङ्मा जन्मनुभएका युवराज नयाँघरे नेपाली निबन्धलेखनको वर्तमान कालखण्डका सर्वाधिक लोकप्रिय लेखक हुनुहुन्छ । 'एक हातको ताली' निबन्धकृतिका लागि २०६५ सालको मदनपुरस्कार विजेता लेखक नयाँघरेका अनाम पहाडमा फनफनी, नीलडाम, काठमाण्डौंलाई कोर्रा, मखुण्डोको मन, मुहुर्तको वरिपरि र संवेदनाका स्वरहरु प्रकाशित छन् । आधा दर्जनबढी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानबाट विभूषित लेखक यसैवर्षको दशैंको अवसरमा नयाँ कृति लिएर पाठकमाझ आउँदैछन् । अनुकरणात्मक शब्दहरुको सुन्दर प्रयोगबाट लोकबोलीमा जीवनको पोट्रेट  खिच्न सिद्धहस्त लेखक नयाँघरेका निबन्ध सम्बन्धी यी अनुभूतिहरु वार्तामा आधारित छन् । पाठकले उहाँलाई yrnayaghare@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ ।   

 

 लेख्नुको अर्थमा

 

नेपाली निबन्ध लेखनमा म विगत २५ वर्षदेखि लागिराखेको छु । शैलीगत हिसाबले नितान्त अलगधारबाट आफूलाई हिँडाउने मेरो प्रयास छ । खासगरी भाषामा म अत्यन्त सचेत छु । हाम्रो निधि भन्नु पनि  आखिर हाम्रो भाषा नै त हो । नेपाली भाषा अहिले दुई किसिमले चेपुवामा परेको छ । विश्वव्यापीकरणको प्रभावले अंग्रेजी हिन्दी लगायत बाह्य भाषाको चेपुवा एकातिर छ । अर्कोतिर संघीयताका मुद्दाहरुसितै स्थानीय भाषाहरु जस्तै मैथिली, लेप्चा, राई, लिम्बू, नेवारी आदि भाषाहरुको वर्चस्वका कुराहरु पनि उठिरहेका छन् । यसर्थ नेपाली भाषाले तिनका प्रभावहरुबीच पनि आफ्नो मौलिक पहिचान चाहिं कायम राखिरहनुपर्छ भन्ने पक्षमा म छु । यसको मतलब यो होइन कि नेपाली भाषाले अरु भाषाहरुलाई थिचोमिचो गर्नुपर्छ । तर यसले आफ्नो पहिचान चािहं कायम राख्नु पर्छ । त्यस हिसाबले म भाषामा अत्यन्त सचेत छु । ग्रामीण बोलीचालीलाई म टपक्क टिप्न रुचाउँछु । सुरुमा मलाई भाषासित अलि सम्बन्ध कायम नभएको भनेर भनियो । तर मलाई त्यस्तो लाग्दैन । एउटा कलाकारले रंग छ्याप्पै हालिरहँदा कैलेकाहीं सम्बन्ध सेतु ढिलो पुग्छ । त्यस्तै लेखकले पनि विचार चिन्तन शिल्प शैली मार्फत् पाठकसम्म पुग्दा कहिलेकाहीं करेन्टलाई अलि बाधा पुगेजस्तो हुनसक्दछ । तर पाठकमात्रै सोचेर लेख्ने हो भने पनि केही लेख्नै सकिदैन ।  

निबन्ध लेख्दा विषयहरुको उठान कसरी गर्ने भन्ने समस्या मलाई पर्छ । विषय खोज्दा खासगरी नेपाली समाजमा राजनीतिले पारेको अस्तव्यस्ततासँगै तयार भएका दृश्यहरुलाई खिच्न मलाई मन पर्छ । द्वन्द्वले पिल्सिएका समाजलाई नजिकबाट हेरेर मेले लेख्न थालें । मेरा निम्ति लेख्न ठूलो कुरा चािहंदैन । बादलमा आएको झिल्का जस्तो चट्याङ पर्दा एउटा झिल्काले ठूलो असर गर्छ । मेरा निम्ति लेखन त्यही हो । मलाई निबन्ध लेख्दा वरपरको कुरा सरक्क उतारिदिन मन लाग्छ । त्यसो गर्दा अनपेक्षित रुपमा अरु सन्दर्भ उठेको भनेर मलाई प्रतिक्रिया दिइन्छ । तर ती पनि एकअर्कासित गाँसिएकै सन्दर्भहरु हुन् । त्यसो गर्दा ती कहिले कथा कविता दृश्यचित्र र तस्वीरजस्तो पनि हुन पुग्छन् । तर मेरो लेखनको प्रयोजन चािहं गाँसिएको सिक्रीजस्तो हो । सिक्री अलग्गै केही पनि हुँदैन । तर सिक्री बनिसक्दा ती सबै एकअर्कासित गाँसिएर आएका हुन्छन् । तसर्थ विषयवस्तुलाई बुझाउन परिवेश ल्याउने मेरो प्रयास रहन्छ । त्यहाँ पात्र पनि उभिन्छ । त्यसको बोलीचाली पनि थपक्कै आउँछ । पात्रले सम्झेको धेरै परको कुरा पनि आउँछ । तसर्थ त्यो एकदमै जरुरी छ जस्तो लाग्छ ।  

 

फहरिदै निबन्धको झण्डा  

 

हिजोका लेखकहरुले पहिलो र दोस्रो विश्वयुद्धको ह्याङ्ओभर लेखे । तर मेरो सानो लेखकले छिनछिनको द्वन्द्व र युद्ध भोगेर लेख्नुपर्यो । सायद मेरो लेखनको मूल चूरो पनि त्यही हो । सम्प्रदाय धर्मपिच्छेका युद्ध हरेक दिन भइरहेका छन् । संघीयता र केन्द्रभाजनका कुरा राजनीति र गणतन्त्रका कुरा उठेका उठ्यै छन् । ती सबैलाई अति नजिकबाट छान्ने छुने र पर्गेल्ने मेरो प्रयास छ । म एकहदसम्म सफल छु जस्तो पनि लाग्छ । किनकि नेपाली निबन्ध हिजो उति पढिदैनथ्यो तर आज तपाईले हेर्नुभयो भने प्रतिवर्ष मात्रै एउटै किताब पाँचौं छैटौं संस्करणसम्म प्रकाशित भएको पाउनुहुन्छ । कृतिगत रुपमा हेर्ने हो भने कविता कथा र उपन्याससँगै नेपाली निबन्ध पनि एकसाथ आइरहेको छ । साझा प्रकाशन नेपाल एकेडेमी र निजी क्षेत्रका प्रकाशकहरु निबन्धमा राम्रा किताबहरु आइरहेको बताउँछन् । त्यसमा हामीले गौरव गर्नुपर्छ ।  

 

रिक्ततामा क्रमभङ्ग  

 

नेपाली निबन्धमा अर्ती उपदेश दिनेमात्रै परम्परा बस्यो । कसैलाई तर्साउनु छ भने गाई हिमाल आदिको बारे निबन्ध लेख् भनेर अथवा यो एउटा एलिट र सम्भ्रान्त विधा हो भनेर पण्डितहरुले साँघुर्याउन खॊजे । यो पनि एउटा भयानक अवस्था भयो । पाठ्यक्रममा पनि तपाईले हेर्नुभो भने त्यहाँ कथा कविता आदि लेख्न लगाइदैन । सोझै निबन्ध लेख्न अह्राइन्छ । त्यसैले निबन्ध विधा लेखकलाई सुरुमै तर्साउन प्रयोग गरिएको छ । तर नेपाली निबन्धलाई पनि सजिलो तरिकाबाट लैजान सकिन्छ भन्ने प्रयास विश्वविद्यालय र विद्वानहरुबाट भएन । एकातिर यो गर्न नसकिने काम हो भनेर तर्साईयो । अर्कोतिर बहुत् थोरै मान्छेले मात्र यो जोखिम उठाउन सक्छन् भनेर एकप्रकारको रातो झण्डी देखाउने काम गरियो ।  

म आफूले चाहिं पाठकलाई सरक्क सम्बोधन गरेर नितान्त अनौपचारिक ढंगले लेखें । त्यसरी लेख्दै जाँदा पाठकहरुकै कुरा पनि कतिपय ठाउँमा आएका छन् । हाम्रै पिँढी पँधेरा बार्दली र बुइँगलका कुरा लेखेको छु । कताकता अलि पत्रकारिता जस्तो भएर पनि आयो । कविताजस्तो पनि हुन गयो । मैले विचारलाई संगीतमा ढालिदिएँ । चिन्तनलाई बोलीचालीको शैलीमा अभिव्यक्त गरिदिएँ । हिजो यसैको अभाव भयो । त्यसैले नेपाली निबन्धमा शंकर लामिछानेबाट यहाँसम्म आउँदा केही अपवादलाई छाडेर ठूलो रिक्तता उत्पन्न भयो ।  

धेरै विद्वानहरुले यस क्षेत्रमा काम गरेको देखिन्छ । आदरणीय कृष्णचन्द्र दाइ (कृष्णचन्द्र सिंह प्रधान-सं) बितेर जानुभयो । उहाँले त्यसमा कोसिस गर्नुभयो । तारानाथ (ताना शर्मा-सं) दाइले अलिकति कोसिस गर्नुभयो । मनुजबाबु मिश्रको अलिकति प्रयास रह्यो । यात्राको सन्दर्भमा लैनिसंह बाङ्देलको प्रयास छ । जनकलाल शर्माको प्रयास छ । यति हुँदाहँदै पनि निबन्धकार र पाठकबीचको सम्बन्ध अलिकति टाक्सिएको अवस्थामा रह्यो । पछिल्लो समयमा साचार माध्यमले निबन्धकार र पाठकलाई अलि नजिक्याउने काम गरे । हिजोको दिनमा यो देखिएन । समालोचकहरुले पनि निबन्ध सम्भ्रान्त विधा हो भनेर छोडिदिने लेखकहरुले पनि यसलाई यत्तिकै विशिष्ट ठानिदिने कारणले महाशून्यता उत्पन्न भयो ।  

 

मदन पुरस्कारको मेलो

 

म अघिल्लो दिन लेखेर भोलिपल्ट पुरस्कृत भएको लेखक होइन । यी २५ वर्षहरुमा थुप्रै  हिउँदबर्खा मैले खेपिसकेको छु । म एकपछि अर्को ढंगले नेपाली निबन्धमा प्रस्तुत हुँदै आइरहें । त्यसलाई पाठकले पनि अनुभव गर्न सक्नुहुन्छ । २०६५ को मदन पुरस्कार पाउनु अघि नै तीनवटा पुस्तकहरुले सो पुरस्कार पाउँछन् कि भन्ने गाइँगुइँ पाठक समूदायमा सुनिन्थ्यो । सँगसँगै मैले पनि कताकति नजानिँदो ढंगले अपेक्षा गर्न थालेको थिएँ । पुरस्कृत 'एक हातको ताली' निबन्धसंग्रह मेरो पाँचवर्षको स्वप्न योजना हो । यसबीचमा म अमेरिका गएँ । त्यहाँ जाँदा पनि मैले यो किताबमा काम गरिरहें । सम्पादन संयोजन गर्ने काम भइरहेको थियो । एकपटक कृष्णचन्द्र दाइलाई भूमिका लेखाउने इच्छा थियो । उहाँले आठ नौ महिना लगाइदिनुभो । आउँदैन कि भन्ने लागिराखेको बेला २०६५ को अन्त्यतिर यो किताब आयो । पुरस्कारमा सहभागी थुप्रै किताबहरुको बीचबाट मेरो किताबले मदन पुरस्कार पायो ।

तर लेखकको  लागि पुरस्कार सबैथोक होइन । सबैभन्दा ठूलो पुरस्कार त पाठक हो । किनभने मदन पुरस्कार नै पाइसकेका कतिपय यस्ता किताब छन् जो गुमनाम छन् । तिनको कुनै अस्तित्व देखिएको छैन । ती अहिले कहाँ छन्  तसर्थ कुनै पनि लेखकको लागि पुरस्कार अन्तिम हुन सक्दैन । तर पुरस्कारले लेखकलाई उर्जा चाहिं दिन्छ । प्रोत्साहन र सामाजिक स्वीकृति पनि मिल्छ । म पनि मदन पुरस्कारलाई त्यही रुपमा नै लिन्छु ।  

म निबन्ध बाँचुन्जेल लेखिरहन्छु । मदन पुरस्कार मलाई 'तँ अझै पनि निबन्ध लेखिराख् है?' भनेर होस्टेमा हैंसे गर्न दिइएको जस्तो लाग्छ । पुरस्कारको कारण हिजोआज लेखनमा दवाव त हुन्छ । त्यही भएर त पहिले बग्रेल्ती लेखिरहने मान्छे हिजोआज थोरैमा आइसकें । किनभने मबाट अपेक्षा धेरै छ । पहिले मेरो एक दुई अनुच्छेद हेरिन्थ्यो भने अब त एउटा पंक्तिको पनि अल्पविराम समेत हेरिन्छ । तसर्थ दवाव एकदमै पर्छ । तर दवाव पर्छ भनेर नलेखिदिने  म एकपटक लेखेर त्यसैको ब्याज खाएर बस्ने पक्षमा छैन ।   

 

जोबाट म अन्तरमा छोइएँ  

 

मेरो अंग्रेजी कमजोर छ । यसो भन्न मलाई अप्ठ्यारो लाग्दैन । नेपालीमा म एउटा लेखकमा मात्रै सीमित छुइनँ । तारानाथ दाइको शैलीबाट म अत्यन्त प्रभावित छु । कृष्णचन्द्रदाइको चिन्तनबाट म छोइएको छु । शङ्कर लामिछानेको स्टाइल मलाई मन पर्छ । माधवप्रसाद पोखरेलको शैली पनि मन पर्छ । धरावासीदाइ (कृष्ण धरावासी- सं) को अनौपचारिक शैली मलाई मन पर्छ । विराट उडानमा देवकोटा (लक्ष्मीप्रसाद देवकोटा- सं) अनुपम हुन् । देवकोटालाई जुनै विधामा पनि त्यत्तिकै सम्मान गर्न सकिन्छ । निबन्धमा त म अझै गर्छु । नेपाली निबन्धका मोटामोटी अनुहार यिनै हुन् जस्तो मलाई लाग्छ ।  

भारतीय लेखकहरुमा मलाई निर्मल बर्मा असाध्यै मन पर्छन् । उनको शैली सा-है राम्रो लाग्छ । तसर्थ पाएसम्म उनको चाहिं म खोजीखोजी पढ्छु ।  

 

निर्बन्ध हुँदै सुदूर यात्रा  

 

म नियात्रा पनि लेख्छु । नियात्रामा यात्राका अनुभूतिहरु हुन्छन् । तर निबन्धमा आत्मपरक कुरा बढी हुन्छन् । निबन्ध निर्बन्ध हो । नियात्रामा त आफूसँगै परिवेश उतार्नुपर्छ । कविता पनि लेख्ने गरेको छु । तर उपन्यासमा जाने चाहिं रहर छ  । दुर्गम पहाड कर्णाली जस्ता माथिमाथिका भूगोलको दुनियाँलाई बुझेर एउटा उपन्यास बनाउने रहर छ ।   

 

भूइँको छाप  

लेखक आफ्नो भुइँबाट टाढा जान सक्दो रहेनछ । एउटा यथार्थवादी लेखकले  आफ्नो भुइँ छोड्दैन । त्यसलाई सप्पै कुरोले छुन्छ । टाट्नो पँधेरो बाँसघारी आलीमा टेक्दै हिंडेका पाइतालाका डोबहरु रुखबिरुवा इत्यादि सबले छुन्छ । पछि त त्यो फोबिया जस्तै नै हुन्छ । जिन्दगीभर त्यसले छोड्दैन । मेरो लेखनमा पनि त्यसको प्रशस्त प्रभाव छ ।  

केटाकेटीमा नाम्सालिङ्बाट यसो माथि हेर्दा पर्मेजुङ्का डाँडाहरु गोर्खेबजार सुन्तले टुँडिखेल इलामबजार मास्तिर चुरेघाँटीको  चहलपहल आलु ओलन सुन्तला बोकाइएका खच्चडका भारीहरु अम्लिसोको भारी हल्लाउँदै मर्याङ् मर्याङ् मर्याङ् गर्दै हिंडेको आवाज अहिले पनि कानमा गुन्जीरहेजस्तो लाग्छ । कतै न कतै मेरा निबन्धमा तपाईं यिनै विषयवस्तुहरु पाउनुहुन्छ ।  

तसर्थ मेरो लेखनमा पनि त्यहाँको सुस्केरा त्यहाँका खोलानाला वनजंगल सबै दृश्य भएर आउँछन् । चित्र भएर आउँछन् । म आफूलाई  जतिसुकै आधुनिक बनाउन खोजुँ समकालीन  र वैज्ञानिक युगको लेखक बनाउन खोजूँ तर ती सुस्केरा र खुईयबाट मुक्त हुन सकेको रहेनछु । त्यो बिर्सी दिएँ भने म पाखण्ड, नौटङ्की र फन्टुस लेखकको रुपमा देखिन्छु जस्तो लाग्छ ।  

 

२०६७ ०५ २७

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |