हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अजम्बरी गीत र मेरा अजर अमर रातहरु,(प्रकाश सायमी)


आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको थिएँ । यो कार्यक्रम साचारकर्मी हरिशरण लामिछानेको स्नेहादरले चलाएको थिएँ र यो कार्यक्रमको समाप्ति पनि म स्वयंले काठमाण्डू एफएम बन्द हुने दिन गरेको थिएँ । काठमाण्डू एफएममा रोबिन शर्मा, श्रद्धा शाह, कविता शेरचन र हरिशरण लामिछाने आवद्ध थिए । रोविन शर्मा, प्रकाश अधिकारी र शक्तिवल्लभ सहपाठी थिए र मेरा निकट । रोबिन केही समयअगाडि मेरो चलचित्र जनममा एउटा पार्श्व गीत गाएका थिए  मित्र नै थिए । संगीतबारे किताब लेख्छु भन्थे । तर उनले लेखेनन्, मैले लेखेँ । उनको कारणले नभइ मलाई मेरा प्रिय भाइ हरिशरण लामिछानेले आमन्त्रण गरेका थिए रेडियो नेपालमा एफएम चलाउन । मैले नसिकेको काम थियो मलाई हरिभाइले सिकाए ।
 

हरिभाइ सित मेरो २०३८ सालदेखिको परिचय थियो उनलाई मैले नै त्रिचन्द्र कलेजको टीसी नाइटमा उद्घोषण गर्न मौका दिएकोथिएँ | उनले अरुण थापाको गीतमा गजबले बोलेका थिए । त्यतिवेला भर्खर उनका पिताको दमको रोगले  देहान्त भएको  थियो | उनी उद्घोषण गर्न बर्खी पोशाकमै आएका थिए । आयोजक मानेका थिएनन् | मैले केही हुन्न भनेँ । उनले आफ्नो आवाज दिए । करामत गरे । त्यतिवेला अस्कल नाइटमा भूषण दाहाललाई पनि एक आयोजक रुपमा मैले प्रज्ञा भवनमा गीत गाउन लगाएको थिएँ उनले तिमी त्यसै लजायौ गाएका थिए । ई दुई भाइ सदैव मेरा प्रिय रहे ।  

हरिभाइ मलाई हरेक किसिमले प्रेरणा दिन्थे कहिले अन्तर्वार्ता लिएर, कहिले फिल्म बनाउँ भनेर । र उनैले गर्दा म एफएमको उद्घोषक भएँ । स्वरसम्राट नारायणगोपाल र दिव्य खालिङले गर्दा म स्टेज एनाउन्सर भएँ त्यसरी नै हरिभाइले गर्दा म एफएमकर्मी्र भएँ । क्या गजब ।  

नेपालमा एफएम आएको सयदिन पछि होटल ब्लू स्टारमा नेपालमा एफएमको आगमन बारे संगोष्ठि आयोजना गर्यो हरिभाइले मलाई पुनः वक्ताको रुपमा वोलाए म पुगे । सञ्चार मन्त्री महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा सञ्चार सचिवले के के बोले । त्यसपछि नीर शाह, राजीव राजभण्डारीले बोले । पत्रकार मित्र होम परिवागले हिट्स एफएममाथि कडा प्रहार गरे | तपाइँहरु नागरिकता च्यातेर अमेरिका जानुस् पनि भने अँग्रेजी गीत धेरै बजाए भनेर । हरिभाइले चलचित्रकर्मीका रुपमा मलाई बोल्न आग्रह गरे । मैले सामान्य तर शिष्ट तरिकामा आफ्नो विचार राखेँ होमको समर्थन गर्दै तर हिट्स एफएमको बचाउ गर्दै । हिट्सका सनी श्रेष्ठले मेरो विचारबाट प्रभावित भएर मलाई एफएममा कार्यक्रम चलाउन आग्रह गरे | मैले अन्कानाएँ । किनकि म त्यतिवेलाको व्यावसायिक रुपले अत्यन्त सफल सिनेमा सिमानाको निर्देशक थिएँ मेरा सिनेमा सबै हलमा सयदिनको रेकर्ड तोड्दै थिए । गीतहरु एकाएक हिट हुँदै थिए । सबभन्दा बढी कर तिर्ने चलचित्रको रुपमा र लगालग दुई वर्ष म्युजिक नेपाल अवार्ड जितेर सिमानाको अडियो अल्बमले इतिहास बनाउँदै थियो । र म त्यतिवेला नयाँ नायिका जल शाह र नयाँ नायक सिमान्त लाई लिएर नयाँ फिल्म सोच्दैथिएँ । वर्षमा दसबाह्रवटा सिनेमा बन्ने नेपाली चलचित्रवृत्तमा म वर्षैपिच्छे सिनेमा बनाउँदै थिएँ । सिनेमा बनाएर म डेढलाख दुई लाख पाउँथे तर एफएममा त्यो सम्भव थिएन । म गइँन एफएममा ।  

त्यो त हरिभाइ थिए जसका कारणले म माइकसम्म पुगेँ । तर म एफएमलाई सहयोग गर्न इच्छुक थिएँ । गरिरहन्थेँ । क्लासिक एफएमका जयप्रकाश रिजाललाई म नयाँ नयाँ सीडी उपहार स्वरुप दिन्थेँ उनी मेरो चयनमा बजाउथे । र उनी कहिलेकाहिँ मेरो अन्तर्वार्ता पनि गर्थे विशेषतः सिनेमाका वारेमा । त्यसवाहेक १०० मेगाहर्जमा कान्तिपुर एफएम एमएन एफ क्लासिक एफएम गुडनाइट एफएम पनि बज्थे । मैले पहिलो पटक एफएममा अन्तवार्ता दिएको गुडनाइट एफएममा प्रसिद्ध गीतकार किरण खरेललाई हो । किरण दाइलाई किरणजी भनेर दिएको त्यो अन्तर्वार्ता एउटा अनौठो विषयमा केन्द्रित थियो  चलचित्र कलाकार संघ टुक्रिने अवस्थामा थियो । कृष्ण मल्लको एउटा समूह र बसुन्धरा भूषालको एउटा समूह । म दुवै समूहमा थिइँन । चलचित्र कलाकार समूहले मेरो चलचित्र सिमाना प्रदर्शन हुने राजेश हमाललाई बहिष्कार गरेको थियो जसले गर्दा मेरो सिनेमा प्रदर्शनमा धेरै बाधा पुगेको थियो । त्यतिवेला राजेश हमालको त्यही एउटा फिल्म थियो रिलीजमा । अर्को फिल्म छोरीबुहारी पनि थियो । तर अड्किरहेको थियो ।  

प्रसँग कलाकार संघका वारेमा । र मैले बोल्नु पर्ने समन्वयका वारेमा । म अलि बढी कृष्ण मल्ल, उज्वल घिमिरे र अशोक शर्मातिर केन्द्रित थिएँ किनकि ती त्यतिवेला निकै सक्रिय पनि थिए । त्यो अन्तर्वार्ता सकिएपछि मलाई एकजना नायिकाले फोन गरेर खूब प्रशंसा गरी र भनी "तपाइँको जस्तो आवाज मैले सुनेको थिइँन । तपाइँ मेरो लागि भएपनि बोल्नुस् प्लिज ।"

तर तिनको लागि मैले कहिलेकाहिँ फोनमा मात्र भए पनि बोलिदिन थालेँ । यसरी एउटा फ्यान जन्मिइन् नेपथ्यमा ।  

करीब पाँचवर्षपछि एकदिन इमेज च्यानलमा अन्तर्वार्ता दिन जाँदा त्यहाँका मालिक आर. के. मानन्धरजीले मलाई टीभीमा एउटा कार्यक्रम चलाउन आग्रह गरे । आर. के. जी नाताले टाढाको आफन्त भए पनि परिचय चैँ उनले कर्जा फिल्म बनाएपछि नै भएको हो । उनीसित नायिका खोज्न हामी धेरै ठाउँ डुल्यौँ । उनको आग्रहलाई मैले हुन्छ भन्न सकिनँ । त्यतिवेला पनि वर्षमा दुइटा फिल्म बन्दै थियो ।  मेरो धन्दा चल्दै थियो अभिनयको एउटा स्कूल चलाउँथे बानेश्वरमा । अलि व्यस्त थिएँ । टीभीमा समय दिन गाह्रो छ मेक अप गर । बत्ती पर्ख । काम गर्ने सबैको समय मिलाऊ । गाडी खोज । आदि ईत्यादिले गर्दा मैले नाइँ भनें । बरु एफएममा चैँ यसो बेलुका आएर कुनै कार्यक्रम चलाउन सक्छु भनी दिएँ । एफएममा मेरो आकर्षण थियो ती नायिकाको कारणले । किरण खरेलको स्वरको मोहले र हरिभाइको प्रेरणाले ।  

इमेज एफएमको आफ्नै भवन थियो नयाँ सडकमा । इमेज एफएमको त्यो वेलाको नाउँ के ए टी एच नाइन्टी सेभेन प्वाइन्ट नाइन थियो । त्यसका स्टेशन प्रमुख भर्खर काम सम्हाल्न आएका थिए । भरत शाक्य ।  

भरत मेरा पुराना परिचित थिए । समकालीन त्यसमाथि निकट ।  

उनले नै मलाई एफएममा आउन बल गरे । म आएँ ।  

हप्तामा एउटा कार्यक्रम तीन सय रुपैंयाको दरमा । मेरो कार्यक्रम रातिको नौबजे पछि थियो । म तयार भएँ । नयाँ सडक म हर साँझ गइरहन्थेँ नयाँ सडक हरेक किसिमले सक्रिय ठाउँ । त्यहाँ धेरै गतिविधि भइरहने जुलुस नारा साहित्य संगीत राजनीति प्रदर्शनी आदि । र एफएमबाट फर्किने बेला एउटा भ्यानको व्यवस्था थियो जसमा म र इमेज टेलिभिजनबाट ताराभूषण दाहाल पनि फर्किन्थ्यौ । ताराभूषणलाई आजकाल भूषण भनेर चिनिन्छ । उनी अस्कल कलेजमा मेरा जुनियर थिए त्यसैले मलाई दाइ भन्थे । दुई दाइभाइ प्रायः सिनेमाको गफ गर्दै फर्किन्थ्यौँ ।  

२०५६ सालमा मैले  एफएममा प्रवेश गरेँ । 'शाम ए गजल' नामबाट पहिलो पटक गजल प्रधान कार्यक्रम चलाएँ रातिको सवा नौ बजे बुधबार । बुधवार मेरा निम्ति राम्रो दिन नभए पनि कार्यक्रम थालेँ । एफएम आएको चारवर्षपछि म मैदानमा आएँ तर भीडमा हराइने हो कि भन्ने डर प्रशस्त थियो । भरतले तिम्रो आवाजले खान्छ भने । पहिलो कार्यक्रम प्रसारण पछि फेरि मलाई अर्की नायिकाको फोन आयो तिनले भनी "यू ह्याभ गट बोल्ड भ्वायस् ।"

तिनकी मामाकी छोरी अमेरिकाबाट छुटीमा नेपाल आएकी थिइन् मेरो आवाज सुनेर निकै प्रभावित भएको तिनले सुनाई । म प्रसन्नचित्त भएँ । तिनी थिइन् झरना बज्राचार्य । झरना हरेक हप्ता मेरो कार्यक्रम सुनेर फोन गर्थी । त्यस्तै मलाई फोन गर्ने थुप्रै हुँदै गए । एफएममा फोन उठाउन एउटा मान्छे नै बस्नु पर्ने भयो । त्यो पनि व्यवस्था गरियो । अनि कार्यक्रम सकेको भोलि पल्ट मलाई भेट्न मेरा प्रशंसक एफएमको आँगनमै आउन थाले । मनोजकुमार शर्मा, सुवासचन्द्र ढुँगेल, अमोविक, पवनकुमार यादव, शैलेश बरेजु आदि मेरा नियमित भेटघाटमा रहने स्रोता भए । हामीले गजल के हो भनेर बुझ्न मासिक भेला पनि थाल्यौँ ईश्वरवल्लभ, रत्नशम्सेर थापा, कालिप्रसाद रिजाल, सनतकुमार वस्ति, शक्तिवल्लभ, ज्ञानुवाकर पौडेलसित अन्तरक्रिया गर्यौँ । कहिले देवकोटा संघ डिल्लीबजार त कहिले नारायणगोपालको पहिलो डेरा नरिसंह चोक ठमेल ।  

कार्यक्रम लोकप्रिय हुँदै गयो । अब हप्तामा तीनदिन हुन थाल्यो । म त्यसवाहेक अन्य कार्यक्रम पनि चलाउन थालेँ । म चलचित्र बनाउन छोडेर विस्तारै वृत्तचित्र बनाउन थालेँ । इमेज एफएममा मैले खुल्ला आकाश गुड मर्निङ काठमाण्डू राशिफल आदि चलाउन थाले ।  

पाँच महिनापछि मेरो कार्यक्रम बन्द गरिने जानकारी आयो । म त्यसपछि एफएम गइँन । उनैले बोलाएका थिए | उनैले 'न आइज' भने पछि म जान छोडिदिएँ । अब बेरोजगारीका दिन सुरु भए । यसैवीच म आभाससित आवद्ध भएँ एक शिक्षकका रुपमा । त्यहाँ फिल्म लेखन र श्रव्य पत्रकारिता पढाउन थालेँ । आभासमा हेमबहादुर विष्टजी प्रमुख हुनुहुन्थ्यो । उहाँले मेरो बेरोजगारी बुझेर प्रायः हरेक किसिमका तालीम आयोजनामा बोलाउनु हुन्थ्यो । म पढाउँथे पैसा पाउँथे । आभासमा मैले पहिलो लटमा मनोज पण्डित जीपी तिमिल्सेना अमृत भादगाउँले सुनन्दा डङ्गोल राज स्यःस्यः सृजना जोशी जोशिला देवकोटा छिरिङ आदि थिए ।  

आभासमा कुनै समयका मेरा शिष्य नारायण पुरी व्यवस्थापनमा आवद्ध थिए तर म उनको कारणले नभइ हेमबहादुर विष्टका कारण नजीकिएको थिएँ । विष्टजीले एकपटक मलाई पैसाको खाँचो भएको बेला पन्ध्रबीस हजारको मेरा पुस्तक किनिदिनुभएको थियो । अब त्यही समयको सम्झनामा मैले वहाँसित काम थालेँ । आभासमा पछि रोविन शर्मा आए जसका कारणले मैले इमेज एफएम छोड्नु परेको थियो पछि मलाई त्यो थाहा भो । मैले आभास पनि छोडिदिएँ ।  

फेरि ढाक्रे । एकदिन मेरी शिष्या सृजना जोशी मेरो घर आइन् र उनीसित लन्चमा जान आग्रह गरिन् । म उनीसित त्रिपुरेश्वरको कुनै रेस्तराँमा दीवान्त भोजनमा गएँ त्यहाँ हेमबहादुर विष्टजी र सुनन्दा डङ्गोल पनि थिई । दीवान्त भोजन पछि सृजनाले भनी "तपाइँले विष्टसरलाई सघाउनु पर्यो । विष्टसर रेडियो सगरमाथामा आउनु भएको छ । म्यानेजेमेन्टमा ।"  

प्रेमी ह्दयकी सृजनाले मेरो बेरोजगारीका दिन हटाउन यो चाँजो मिलाएकी रहिछिन् । मैले भने नाइँ । अब म एफएममा काम गर्दिनँ । म यो क्षेत्रको मान्छे होइन ।

सृजना मानिनन् । तपाइँका लाखौँ स्रोताको निम्ति पनि बोल्नुपर्छ । कमसेकम मेरो लागि भए पनि  

उनको आग्रहलाई त स्वीकारेँ । तर एफएममा पैसा नै छैन भन्ने मेरो गुनासोमा विष्टसरले प्रेमपूर्वक भन्नुभो "तपाइँ कति चाहनुहुन्छ" भनेर सोधेपछि मैले आफ्नो माग राखेँ । उहाँले एक शर्तमा ओके गर्नुभो ।  

यसपछि मेरो रेडियो सगरमाथा र अजम्मरी गीतसंगीतको यात्रा सुरु भो ।  

दक्षिणएसियाको पहिलो सामुदायिक रेडियो सगरमाथाको आफ्नै चरित्र थियो । काठमाण्डूको बजारमा नाम चलेका एफएम र प्रस्तोता आइसकेका थिए । म निकै पछि मैदानमा आएँ । डर पनि थियो । उपत्यकामा त्यतिवेला हिट्स एफएमका सुनीता अधिकारी रीता लिम्बू, रवि श्रेष्ठ, दीपेश श्रेष्ठ, प्रकाश थापा, कल्याण गौतम पपुलर थिए । कान्तिपुरमा गोपाल झा, प्रभात रिमाल, शरद्राज गौतम, हेम सुवेदी, दिनेश डिसी बजार तताइरहेका थिए । कति संचारकर्मी त गुडनाइट भैसकेका थिए | राजेन्द्र शलभ, श्रीओम श्रेष्ठ, शम्भुजित बाँसकोटा आदि । म त एक्लो र असहाय थिएँ । तर मलाई थाहा थिएन मेरा पछाडि थुप्रै भावक रहेछन् जो मेरा लागि जुलुस बनेर आएका थिए । म तिनका लागि २०५६ को पौष महिनाको जाडोमा एकसय दुई थोप्लो चारमा राति सवा नौबजेपछि डेढ घण्टाको लागि बोल्न थाले कालजयी गीतहरुका साथमा ।

त्यसपछि सुरु भयो अजम्बरी गीत र मेरा अजर अमर रातहरु । …………

रेडियो सगरमाथाबाट मैले पहिलो कदम उठाएँ गीतसंगीतको रोयल्टीको । र त्यही एफएमको आँगनमा २०५६ फागुन ७ गते रोयल्टी बाँडियो । त्यही महिना मैले रेडियो सगरमाथाबाट राष्ट्रगान परिवर्तन गरिनुपर्छ भनेर एक घण्टाको कार्यक्रम चलाएँ । धेरै स्रोता सहभागी भए ।  

विरोध पनि भए प्रशस्त । मेरो कार्यक्रम एक किसिमले संकट पर्न थाल्यो । एफएमका एक कर्मचारी धर्मराज लुइँटेलले विस्तारै विरोध गर्न थाले । त्यसपछि शंकर लामिछाने कोश, कोइलीदेवी संगीत कोशको जन्म भयो भावक अभियानसँगै ।  

म लखेटिने काम हेमबहादुर विष्टजीले छोडेपछि विस्तारै सुरु भयो । त्यसपछि व्यवस्थापनमा नयाँ टीम आए र मंगलमान शाक्यजी प्रमुख रुपमा आउनु भो । उहाँले पहिलो भेटमा नै भन्नु भो "म तपाइँको जोडदार फ्यान हुँ ।" म उनको निर्देशमा अगि बढेँ उनी मेरा स्कुलमा जुनियर रहेछन् । माया गर्न थाले । तर त्यो माया विस्तारै बदलामा बद्लियो । म फेरि फ्याँकिएँ ।  

रात्रिकालीन मेरो कार्यक्रममा मेरा इन्चार्ज थिए भाइ जीतेन्द्र रावत । काठमाण्डू ढोकाटोल निवासी रावत मलाई खूब माया गर्थे  मलाई फ्याँकिने दिन उनी छुटीमा बसेर यो काम अरुलाई अह्राए । मैले मानिनँ । कार्यक्रम चलाएँ र सँधैका लागि विदा मागेँ । र राति एक्लै लखर लखर घर फर्केँ । मसित मेरा सहायक अनीता गुरुङ पनि थिइन् उनी मेरा शिष्या पनि थिइँन् मिडिया हाउसमा । उनले यो खबर मलाई पहिलो पटक गरेकी थिइन् ।  

म घर पुग्नुमात्र थियो फोनको लश्कर सुरु भो । मैले सोचेँ रेडियो सगरमाथासित मेरो सम्बन्ध सकियो तर होइन रहेछ । भोलिपल्ट मलाई व्यवस्थापनले फेरि बोलायो म पुगेँ । तर अचम्म एफएमको आँगनमा लाठी प्लेकार्ड लिएर मेरा शुभेच्छुक उपस्थित थिए । उनीहरु व्यवस्थापनका विरुद्ध नारा लगाउँदै थिए । मलाई बीचमा उभ्याइयो र भाषणबाजी सुरु भो ।  

राजीव काफ्ले सबभन्दा आक्रोशित थिए । उनी मार्न र मर्न तयार थिए । लोकनाथ मनेन, कर्मु लामा दिनभरि धर्ना दिन खाजा र पानी बोकेर आएका थिए । कति चिनेका, कति नचिनेका ।  

व्यवस्थापन र आन्दोलनकारीका बीच केही सहमति भो । म फेरि बेलुका कार्यक्रम चलाउन गएँ तर पहिले जस्तो उत्साह ममा भएन । म भारी मनले घर फर्केँ । मैले मेरी पत्नीलाई भने 'अब म एफएममा काम गर्न चाहन्नँ ।'

उनलाई भन्न जरुरी थियो किनकि घर उनले चलाउँथिइन् । उनी मेरो काम भविष्य र मानसम्मानको ख्याल गर्थिन् । सिनेमा बनाउँदा पनि उनी खुशी थिइन्, नबनाउँदा पनि । म त्यतिवेला सगरमाथामा स्वयंसेवकका रुपमा काम गर्थे । म बाहेक त्यहाँ उपेन्द्र अर्याल चट्याँग मास्टर लोकपि्रय थिए ।  

श्रीमतीले भनिन् काम त एफएम मै गर्नुपर्छ । त्यहाँ तिमीले केही गरेका छौ ।  

म ताज्जुब भएँ  तिनी पनि मेरो कार्यक्रम मनपराउँदी रहिछिन् । उनले आफ्ना एक सिनियर डा. छत्र अमात्यको हवाला दिएर भनी । तिम्रा धेरै प्रशंसक छन् त्यसमध्ये म पनि हुँ ।  

म अलमलमा परेँ । हुन त सगरमाथामा हुँदै नै मलाई हिट्स एफएम र कान्तिपुर एफएमबाट बोलावट आएको थियो तर म काठमाण्डूमा बस्ने मुडमा थिइँन ।  

काठमाण्डू बाहिर जाने मेरो मूर्खताप्रति परिवार त हाँसे तर त्यो मेरो इच्छा थियो | साराले त्यसको सम्मान गरे । म पोखरामा एफएम स्थापना गर्न संस्थापक स्टेशन म्यानेजर भएर पहिले पोखरा गएँ | चारजना केटालाई लिएँ । कोही मेरा विद्यार्थी कोही मेरा प्रशंसक । आरजु विष्ट सल्यानी, दीपेन्द्र श्रेष्ठ, पारस पौडेल र नवीन पखेली ।  

रेडियो अन्नपूर्णाको गुन्जन मेरो स्वरमा २०५८ सालको बैशाख बाह्रगते पोखरा भेगमा भयो । म अब एफएम पर्यटक भएँ | कोही मलाई संचारजगतको गणेशमानिसंह भन्थे । कोही मलाई सत्यनारायण गोयन्का भन्थे । पोखरामा मैले खासै केही केही गर्न सकिनँ जे गरँ  मेरा भाइबहिनीले गरे । कोमल शेरचन, पूर्णिमा गुरुङ, अमित रिजाल, नवीन, दीपन्द्र, आरजु, जेनिश, दीक्षिता,  शिखा श्रेष्ठ राजु भण्डारी आदिको विशेष योगदान रह्यो । राजु मेरा सबभन्दा प्रिय र स्नेही रहे ।  

त्यसपछि मैले र मेरा भाइ हरिशरण मिलेर चितवनका मित्र विक्रम पाण्डेको कालिका एफएम स्थापनामा सघायौँ । कालिका पछि मैले धवलागिरि एफएम, भक्तपुरको भक्तपुर एफएम, म्याग्दीको म्याग्दीकाली एफएम, बुटवल एफएम, गोर्खाको गोर्खा एफएम, हेटौँडाका केही एफएममा सम्बद्ध भएँ ।
एफएम धेरै छन् आज म कहिँ छैन । तर म सबैसित साथमा छु एक्लो र नितान्त एक्लो ।
 

 

 

Comments

prakash sayami

Thank you basu ji
for publishig this article and thanks all readers who response me politely .

गोपाल रेग्मी

एउटा रङ्गकर्मी, कला र साहित्य साधनामा लागेको पौरखीको छोटो आत्म-वृतान्त र त्यसमा उनिएको नेपाली  श्रव्य-दृश्य जगतको इतिहासका केहि घतलाग्दा  घडीहरुको  मीठो  प्रस्तुति | लेखक सायमीजी र प्रस्तोता खसखस डट कम दुबैमा एक अंगालो धन्यवाद  !

Amrita Lamsal

प्रकाशजीको लेख राम्रो लाग्यो, नेपालको संचार माध्यममा धेरै राजनीती खेलिने तथ्यको प्रतक्ष र परोक्ष अनुभव त थियो नै तर उँहा पनि यसको शीकार हुनुहुन्थ्यो भन्ने चाँही थाहा थिएन| जुन बेला रेडियो सगरमाथा खुल्यो र यसले भर्खर भर्खर खुट्टा टेक्न थालेको थियो त्यती खेरको कहानी साथीहरुबाट खुबै सुन्न पाईन्थ्यो| किनकि, त्यती बेला आफू पनि काठ्मान्डौँको संचार समुहकै सेरोफेरोमा समय बिताईन्थ्यो, भला माध्यम एफएम वा रेडियो नभएर अरुनै थियो तर सो लेखमा उल्लेख गरिएका नामहरु मध्धे परिचित नामहरु पनि भएको हुँदा कमेन्ट लेख्ने जाँगर गरेको!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |