हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रजनी र उनीभित्र उम्रिएका असारहरू,(कुमारी लामा)


रजनी
कहाँ रजनी हुन्थिन् उनीभित्र यी भावनाका सागर नभइदिएको भए ? उनका कोमल सरल भावनासँगै जीवनको गहिरो दर्शनलाई थाहै नदिई हामी सामु पस्किन्छिन  उनी यस निबन्ध सङ्ग्रहको शीर्षकले नै हत्केलामा असार उमारर भनी हामीलाई असार अई , सिर्जना भई, उर्वर भूमि सरह भई प्रगति उन्नतिको पथमा लम्कन प्रोत्साहित गर्छ यस सङ्ग्रहका निबन्धहरू एउटा मानिसको जीवनका प्रत्येक क्षणहरूलाई यति सजीवसँग कैद गर्न सफल छन्, हामी रजनीका अनुभूति भावनाहरू आफ्नै अनुभूतिहरूसँग मिलाउन सक्छौं उनको सफलता भनेकै मलाई लाग्छ सरल भाषा शैलीमा कोमलतापूर्वक प्रस्तुत भई नजानिंदो तरिकाले जीवनका कटु सत्यहरू खुट्याउनु हो
 

रजनी आफ्नो काम, कर्तव्य धर्मप्रति यति सजग छन्, उनलाई पुस माघको कठ्याङ्ग्रिने जाडोले पटक्कै छुँदैन उनी घरभित्रको न्यानो मायालु वातवरणलाई छोड्दै बाहिरको मुटु गाँठोपार्ने चिसोमा प्रत्येक दिन विहानै सङ्घर्षका पाइलाहरू लम्काउँछिन् उनी यति दृढ छन्, उनको अगाडि सिर्फ लक्ष्य उनी भन्छिन्, हिंडिरहन्छु तबसम्म जबसम्म लक्ष्यमा पुग्दिन उनका यस्तै यस्तै नितान्त व्यक्तिगत भावनाभित्र रूमल्लिएका सरल निबन्धभित्र हामी जीवनको एउटा गहन दर्शन भेट्छौं मलाई लाग्छ रजनीको पहिचान भनेकै भावनालाई सरल ढंगले प्रस्तुत गरी नजानिंदो तरिकाले जीवनसँग सम्वन्धित दर्शनलाई छुनु हो उनी उज्यालो टिपेर आफ्नो पोल्टाभरि भर्न ज्यादै उत्साहित छिन् उनी आफैंसँग प्रश् गर्छिन्, के सूर्यका किरण हुन सक्छु ? यो प्रश् अवोध बालकको उत्सुकताले भरिएको जिज्ञासाझैं लाग्छ तर यसलाई गहिरिएर विचार गर्ने हो भने यही प्रश्नभित्र एउटा सिङ्गो जवाफ भेट्छौं हामी । उनी सूर्यको किरण झैं तेजस्वी भई सबैमा जीवन दिन चाहन्छिन् । सायद सबैमा आशा जगाउन चाहन्छिन् उनी ।

रजनी कता कता आफ्नै भावनाका उडानमा हराएझैं लाग्छ मलाई । उनी
मलाई सही उत्तर मिलेको छ भन्दै आफूभित्रको बगैंचामा अझै पनि हरियाली नछाएको विरोधाभासपूर्ण अभिव्यक्ति दिन्छिन् । उनी लेख्छिन्, मैले दूवो ठाउँ ठाउँको खालिपनका लागि रोपेको थिइन । मलाई लाग्छ उनीभित्र अझै पनि केही खालिपना कायमै छ । उनी अझै पनि आफूमा केही अभावको महसुस गर्छिन् । यो अभाव, यो असन्तुष्टि केवल असन्तुष्टि मात्रै नभई आफूलाई अझ अगाडि सफलतातर्फ बढाउने कडी पनि हुनसक्छ । भनिन्छ नि जहाँ अभाव छ, त्यहाँ सिर्जना हुन्छ । उनी आफूभित्रका अभावलाई केलाउँदा केलाउँदै फेरि हत्केलामै असार उमार्ने मीठो कल्पना गर्छिन् । असार एक बिम्ब हो सिर्जनाको, उर्वरताको अनि नयाँ बाटोको । उनी पनि असार झैं उर्वर हुन चाहन्छिन् । उनको सकारात्मक सोचसँगसँगै पूरै वातावारणनै असार असार भएको महसुस गर्छिन् रजनी । आखिर मनै त रहेछ । उनी भन्छिन्, असार बोकेर हिंडिरहेछन् दिनहरू । असार भएर दौडिरहेछन् समयहरू । सम्पूर्ण वातावरण असार भएको छ ।

एउटा असल शिष्यको धर्म निभाउँदै घटराजसरलाई जीवनका अन्तिमा दिनहरूमा भेट्न गएको घटनाको बयानले हामीलाई भावविह्वल पारिदिन्छ । मृत्युसँग लड्दै गरेको अन्तिमा घडीमा पनि उनको अनुहारमा छाएको कान्ति र शान्त भावले हामीलाई पनि मृत्यु एक सत्य हो र त्यसको साहसका साथ सामना गर्नुपर्छ भन्ने पाठ सिकाउँछ । नबोलिकनै पनि घटराजसरका आँखाहरूले बोलिरहेका ज्ञानका अनि जीवनका सत्यहरूका भावनाहरू रजनी हामी सामु चित्रसरी छर्लङ्ग पर्छिन् । जीवनका यति गहन विषयमा विचारमग्न हुँदाहुँदै पनि उनी एउटा घर बनाउने आशा र त्यो आशा यथार्थमा परिणत भएकोमा खुशीले फुरुङ्ग हुन्छिन् । उनी आफ्ना नितान्त व्यक्तिगत भावनाहरू पोख्छिन् । गर्वले जीउ पुरै फुलेको महसुस गर्छिन् उनी तर एकै छिनपछि आफूअघि विशाल चुनौती तेर्सिएको पाउँछिन् । एउटा सत्य हामीलाई खुसुक्क भन्छिन् उनी घरको मालिक हुन त सजिलो छ तर त्यसको संरक्षण गर्नु ? हो वास्तवमै यो एउटा जटिल प्रक्रिया हो हाम्रो जीवनजस्तै ।
 

जिस्किंदा जिस्किंदै फेरि उनी प्रकृतिको निरन्तर चलिरहने प्रकृयालाई प्रकृति हृदयको भाका सुन्छ मा मीठोगरी पोख्छिन् । प्रकृति आफ्नो नियममा निरन्तर चलिरहन्छ । कहिले शिशिरको कठ्याङ्‌ग्रिने जाडो सहदै त कहिले चैत वैशाखको रापिलो तापमा रापिंदै । प्रकृतिमा एउटा धैर्यता छ नियमसँगै चल्ने तर जीवन सधैं संघर्षरत छ । रजनी प्रकृतिको अनुशासित बानीलाई यसरी व्यक्त गर्छिन् प्रकृतिको नियम नै हो उम्रनु, बढ्नु, फैलनु र आफ्नो अस्तित्व कायम राख्‍न खोजिरहनु । उनी यो यथार्थलाई प्रष्ट पार्छिन् । प्रकृति शान्त र अनुशासित भई आफ्नै चालमा अगाडि बढिरहेकी छिन् । तर हामी मानिस भने निरन्तर अन्तरद्वन्द्वमा अल्झिरहेका छौं केही पाउने आशामा सायद । तर हामी मूर्खहरू अनभिज्ञ छौं, यी तँछाडमछाडको, यी संघर्षको र यी द्वन्द्वहरुको अन्त केवल शून्यता, पीडा र निराशा हो । रजनी आफ्ना सरल शब्दहरूभित्र अहिलेको अन्योल र निस्सासिंदो समयलाई कैद गरी प्रकृति र जीवनबीचको गहिरो खाडललाई मनछुने गरी प्रस्तुत गर्छिन् ।

 रजनी आफ्नो जीवनमा घटेका ससाना घटनाहरूलाई पनि यति राम्ररी गुँत्छिन्, हामी एकछिन सोच्न बाध्य हुन्छौं । उनको कुशल वक्ता बन्ने रहर अनि मञ्जुल, डायमण्ड शम्शेर, नरेन्द्रराज शर्मा, जस्ता प्रभावशाली हस्तीहरू समक्ष बोल्दाखेरी मनभरि उर्लिएका डरका, उमंगका र उत्साहका भेलहरू उनी सहजै संगाल्दै तीनका मीठा सम्झनामा हराउँछिन् । एकैछिनमा उनी अर्कै संसारमा हराउँछिन् । उनी पलेँटीमा मञ्जुलले गाएका गीतहरूसँगै उड्दै उनको घमण्डरहीत प्रभावशाली व्यक्तित्व र विनम्रताको इर्ष्या पनि गर्न पुग्छिन् । चुलबुले रजनी हाम्रो समाजमा आधुनिकता र सभ्यताको नाममा भित्रिएका विकृतिहरूले हाम्रो मौलिकतालाई ढाक्दै गएको यथार्थलाई हामी समक्ष सभ्यताको रङबाट पोख्छिन् । केवल कपाल हाइलाइट गरी आफ्नो मौलिक रूपलाई बिगारिएको सानो घटनालाई उदृत गर्दै उनी घुमाउरो तरिकाले अहिलेको आधुनिक सभ्य समाज जहाँ कृत्रिम सौन्दर्यको पूजा हुन्छ, पैसा र सम्पत्तिलाई ठूलो मानिन्छ तर मानिसहरू यही बाहिरी खोक्रो कुराहरूमा अल्झिएर आफ्ना मौलिकता, सभ्यता र संस्कृतिलाई बिर्सिएको यथार्थलाई धैर्यताकासाथ प्रस्तुत गर्छिन् रजनी । उनी प्रश्‍न गर्छिन् हामीलाई, के यही हो त सभ्यताको रङ ? तर यो प्रश्‍न अनुत्तरित छ उनकालागि ।

उनले यो सङ्ग्रहमा समकालीन विषयहरूलाई पनि सही तरिकाले समेटेकी छन् । लामो समयपछि खुलेको शहरले उनलाई नयाँ जोश र उमंग दिन्छ । उनी खुशी छिन बिनाकारण नै । सायद केही आशाका किरणहरू उनी देख्दैछिन्, त्यसैले उनी खुशी छिन् । लामो बन्दपछि खुलेको शहरको यात्रा उनी आफ्नो स्वतन्त्रतासँग दाँज्न पुग्छिन् उनी । उनी भन्छिन्, यहाँ कति मिठास छ खोलाइको उन्मक्तिमा । वास्तवमै बन्दनरहित भई खुला रूपमा विचरण गर्न पाउनु सन्तुष्टिको चरम बिन्दु हो भन्ने सत्यलाई उनी आफ्ना कोमल भावनासँगै हामीसँग साट्‌छिन् । उनी आशावादी छिन् प्रत्येक नौलो बिहानीसँग । उनको भविष्यसँग अनि सफलतासँग । समय हो निरन्तर बगिरहन्छ त्यसैले एउटा साललाई बिदा गरी अर्को साललाई अँगाल्नुपर्दा उनी कहिल्यै दु:खी हुन्नन् । उनलाई राम्रो ज्ञान छ प्रत्येक विहानीले आशाका किरणहरू ल्याउँछन् अनि नयाँ चिजको सृजना हुन्छ । उनलाई लाग्छ, प्रत्येक सोच र विचारले भरिपूर्ण छिन् । उनलाई अनिश्‍चितताको त्रासले कहिल्यै छुँदैन ।

 पितृवात्सल्यले भिजेको साडी लगाएर क्याम्पस गएको उनको बयानले हामीलाई पनि त्यस्तै आदर्श पिताको चाहना गराउँछ । यहाँ बुबाले मायाले लगाइदिनुभएको साडी लगाई क्याम्पस गएको मीठो सम्झना साथै बुबाको आशीर्वादका कारण उनले पाएको सफलता पनि हामी नियाल्न सक्छौं । उनी यो भन्न पनि पछि पर्दिनन्, उनको बुबाको आशीर्वाद मात्रै हैन बरू आफैंभित्रको आस्था र विश्‍वासका सिंढीहरू चढ्दै उनी अगाडि बढ्दैछिन् । आस्था वास्तवमै एउटा मीठो बन्धन हो प्रगतिका लागि, उन्नतिका लागि । संसार यसैमा अडिएको छ । उनी भन्छिन्, आस्था भगवान् हो, जसले शक्ति दिन्छ। यो विल्कुलै सत्य हो । उनी आफ्नो पथमा आस्थाका साथ अग्रसर छिन् उनको आस्था धमिल्याउनेहरूलाई पछि पार्दै । यहाँ हामी रजनीको दार्शनिक भावनाको गहिराइ भेट्छौं । उनी जीवनमा केहीसँग पनि नडराई आस्था र विश्‍वासलाई अँगाली अगाडि बढ्न हौसला दिन्छिन् हामी सबैलाई ।

 रजनी एक सकारात्मक सोचबाट अगाडि बढिरहेकी एक सबल र सचेत नारी हुन् । उनको भित्री भावना यस सङ्ग्रहका प्रत्येक निबन्धमा झल्किन्छ । उनी कहीं कतै पनि निरसता, अनिश्‍चितता र त्रासलाई पस्किन्नन् । यसबाट के पुष्टि हुन्छ भने उनी एक चेतनशील आधुनिक नारी हुन् जसले आफूलाई सामाजिक बन्धन र पीडाहरूबाट धेरै पहिले नै छुट्कारा दिलाइसकेकीछिन् । अब उनीभित्र केवल सुखद् भविष्यको आशा छ र त्यसको लागि उनी दृढ संकल्प र आस्था अनि विश्‍वासकासाथ आफ्ना पाइलाहरूलाई अगाडि बढाइरहेकी छन् ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |