हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कुमारी आमासँग केहि दिन,(बासु श्रेष्ठ)



कुमारी आमा विद्यमान पुरुष प्रधान (विशेष गरि) नेपाली समाजप्रतिको विव्देष हो ।

कुमारी आमा नारी स्वतन्त्रताको प्रखर आवाज हो ।

कुमारी आमा पुरुषको विरोध गरेपनि पुरुषकै सहारामा बाँच्ने आमा हो ।

कुमारी आमा नेपाली राजनैतिक वातावरणप्रतिकोपनि विव्देषको भावनापपनि हो ।

कुमारी आमा व्दैध मानसिकतामा अल्झिएको छ ।

 

कुमारी आमासँग केहि दिनका क्षणहरु विताउँदा उब्जिएका भावहरु हुन् यि ।

 

अनपेक्षित तवरले सापटीमा हात लागेको अनुपम रोशीव्दारा लिखित 'कुमारी आमा' उपन्यास पढ्ने अवसर पाईयो । नेपाली साहित्यप्रतिको आफ्नो ज्ञानको कमीको अभावमा न त यसभन्दा पहिले अनुपम रोशीको नाम सुनेको थिएँ न त यस उपन्यासको बारेमा कुनै चर्चा परिचर्चा । तर भर्खर प्रकाशित भएको र चाख लाग्दो शीर्षक देखेपछि पैँचोमा पढेँ । पछि बुझ्दै जाँदा एक गजल सँग्रहको कृतिकार भै सकेकी, नेपाली साहित्यिक गतिविधिमा क्रियाशील अनि बुटवल घर भएकि र हाल काठमाण्डौँमा बस्दै आएकि एक कृतिकार रहिछन् जसले लेखन क्षेत्रमा थुप्रै थुप्रै सम्भावना बोकेको व्यक्तिको रुपमा पाएँ र यस बारेमा केहि लेख्न झक्झक्यायो ।

 

नारी स्वतन्त्रताको चरम पक्षपातीको रुपमा लेखिएको यो उपन्यासमा धेरै ठाउँमा पात्र होईन लेखिका आफैँ बोलेकी छिन् । अझ भन्ने हो भने उपन्यासको पहिलो र दोश्रो खण्डमा कुनै पात्रको अनुपस्थितिमा लेखिका आफैँ बोलेकी छिन् । यसरी कतिपय ठाउँमा पात्रको सट्टा लेखिकाको भावना प्रकट भएको छ । हुन त कृति आफैँ कृतिकारको विचार हो । कृतिकारले आफ्नो कृति मार्फत कुनै एक निश्चित सोच या विचार सम्प्रेषण गर्ने गर्छन् । तर जब त्यस विचारलाई प्रकट गर्ने कुनै माध्यमको चयन गरिन्छ सोहि माध्यम अनुसार प्रकट गरियो भने रचनामा स्वाभाविकता आउँछ । तर कुमारी आमामा यसको अभाव देखिन्छ । साथसाथै 'कुमारी आमा' उपन्यास कहिले कहिले राजनैतिक निबन्ध पढेको आभास समेत हुन्छ ।

 

थोरै पात्रहरुको उपस्थिति रहेको यस उपन्यासमा पुरुष प्रधान नेपाली समाजको अझ विशेष गरि पुरुषहरुको बन्धनबाट नारीलाई स्वतन्त्र गर्न र गराउन सरगमलाई मूल पात्रको रुपमा उभ्याइएको छ । पुरुषले जसरी नारीलाई भोग्याको रुपमा लिएको छ त्यस्तै नारीलेपनि पुरुषलाई भोग्याको रुपमा लिनुपर्ने तर्क गरिएको छ । पुरुष प्रवृत्तिको विरोधको आवाज त ठिकै छ । यो पँक्तिकार लगायत अन्य नारीवादी जो कोहिलाईपनि यस्तो विचार उचित लाग्नसक्छ । तर पुरुषको स्वेच्छाचारीको नक्कल गर्दै नारीलेपनि स्वेच्छाचारीको अवलम्बन गर्यो भने यो समाज कस्तो हुन्छ होला सहजै कल्पना गर्न सकिन्छ । यसतर्फ लेखिकाको ध्यान गएको छैन । दमनले विद्रोहको आवाज उठ्नु र उठाउनु स्वाभाविक हो तर बदला लिएर जस्तालाई त्यस्तै व्यवहार गर्नु चाहिँ कदापी ठिक होईन ।

 

जतिसुकै नारी स्वतन्त्रताको आवाज उठाएपनि पुरुषको विद्यमानता र पुरुषसँगको सँसर्गमै उपन्यास अगाडि बढेको छ । त्यसकारण लेखिकामा विद्रोहको स्वर चर्को भएपनि त्यसलाई समान भावले त्यस स्वरलाई उराल्न नसकेको अनुभव हुन्छ । अर्थात उपन्यास व्दैध मानसिकतामा अल्झिँदै बढेको अनुभव हुन्छ । कुनै विषयमा अति बायस भएर सोचियो भने त्यसबारेको धारणा राम्रो बन्न सक्दैन भन्ने कुरापनि यो उपन्यास पढेपछि लाग्छ ।

 

उदाहरणकोलागी रोहिणी आफ्नो लोग्ने सुन्दरसँग लुकिचोरी आफ्नो प्रेमी सिद्धान्तसँग यौन सम्पर्क गर्छे । तर रोहिणी पुरुषलाई भोग्याको विषय बनाउन असमर्थ छे । उ अविरलसँग सँगै बस्ने रहर गर्छे पनि । लेखिकाको उपन्यास लेखनको उदेश्य अनुरुप यदि रोहिणीले आफ्नो लोग्ने सुन्दरको नपुँसकताको कारणले अविरललाई भोग्याको साधन बनाउन सफल भएको भए उपन्यास साँच्चै सशक्त हुने थियो होला । अनि पुरुषको यौन स्वच्छेचारीको बदला नारीपनि यौन स्वेच्छाचारी हुन चाहनुको एउटा उदाहरणः के रोहिणीले आफ्नो लोग्नेबाट पाउन नसकेको यौन सन्तुष्टि अरुबाट प्राप्त गर्न खोज्नु अपराध हो ? स्वभावतः यो भनाई पुरुषको यौन दुराचार प्रवृत्तिप्रतिको आक्रोस हो । तर पुरुषको दुराचारको उपचार या रोकथाम होइन बदलाको भावनाले ओतप्रोत भएको भावना हो यो । त्यस्तै .....मेरो सन्तान जन्माउने चाहना थियो, तर म कुनै पुरुषलाई पति परमेश्वर मान्न तयार थिइनँ ।

 

मूलपात्र सरगम जनयुद्धमा लागेर त्यसभित्र हुने आन्तरिक घात प्रतिघात, बेइमानी, यौन दुराचार आदिसँग वाक्क लागेर जनयुद्ध त्याग गरेकी मूलपात्र हुन् । साथीसँगको सँसर्गमा गर्भाधान गरेकी सरगम विना बाबुको सन्तानको आमा बन्ने कठोर निर्णय लिन्छे । नारीले चाह्यो भने जस्तोसुकै कठोर निर्णयपनि लिन सक्छे भन्ने कुराको उदाहरण हो यो । जीवन यापनकोलागी काम गर्ने क्रममा अमेरिकी पर्यटक रिचर्डको सँसर्ग र सहायताले अमेरिका भ्रमणमापनि पुग्छिन् । तर अमेरिका भ्रमणमा आउनु उपन्यासको उदेश्यसँग केहि लिनुदिनु देखिँदैन । किनभने अमेरिकामा सरगमको कुनै त्यस्तो विशेष क्रियाकलापहरु हुन्न । सिवाय अमेरिकामा रोहिणी तथा सिद्धान्त भेट्नु र रोहिणीको यौन उत्कण्ठाले भरिएको कथाको उजागर गरिने माध्यम बनाइएको छ । अमेरिकी बसाईमा सरगम रिचर्डकै घरमा बस्छ । बरु सरगमले रिचर्डको सट्टा डायना, सायरा या जुली या एलिजावेथ आदिजस्ता एक्ली आमा पात्रसँग उठबस गराएको भए उपन्यास सशक्त हुनसक्थ्यो । किनभने अमेरिकमा कुमारी आमा थुप्रै छन् अनि एक्लो आमापनि थुप्रै छन् ।

अर्को कमजोरी हो रोजीसँग सिद्धान्तको परिचय हुँदा बेलायती हुन्छे भने तिनै रोजीलाई पछि अमेरिकी बनाइएको छ । कृष्ण धरावासी तथा युवराज नयाँघरेको भूमिका र विमल भौकाजीको मन्तव्य रहेको यस उपन्यासमा भूमिकाकारलाई धन्यवाद दिँदा युवराज नयाँघरेको नाम छुटेको पाइन्छ ।

 

समग्रमा कुमारी आमा नौलो विषयमा आधारित भएपनि नारीलाईपनि अपाच्य हुने प्रस्तुतीले उपन्यासकार अनुपम रोशी विफल नै मान्नुपर्छ । सम्वेदनशील र बिद्यमान समाजले भोगी रहेको तर कसैले बोल्ने या विरोध गर्न नसकेको विषयलाई उपन्यास लेखनको विषय बनाएकोमा भने प्रशंसाको पत्र भएको छिन भन्न हिच्किचाउनु हुन्न | लेखकीय सम्भावना भने प्रचुर रहेको भन्ने कुरा चाहिँ उपन्यासले देखाउँछ । बायस नभई कुनै अर्को विषयमा उपन्यास लेखिन् भने पक्कै एक सफल उपन्यासकार बन्न सक्ने सम्भावना छ ।

Comments

anand aryal

लेख्ने क्रममा कमजोरी त अबस्य  हुन्छ तर समग्रमा मलाई राम्रो लग्यो 
नेपाली साहित्यमा एउटा अमुल्य योगदान हो यो कृति ...............

bikram shrestha

वासु जी
मैले समिक्षा राम्रै संग पढे । किताव पनि राम्रो संग पढेको छु ।
नेपाली साहित्यमा पछिल्लो समयमा आएको उत्कृष्ट किताहरु मध्यको यो पनि एक हो । त्यो पनि महिला लेखकको,यसलाई हामीले गर्ब मान्नु पर्छ । र राम्रो कुरालाई राम्रो पनि भन्न सक्नु पर्छ । नराम्रो र अप्ठ्यारो मात्रै लेखेर राम्रो समिक्षक भइन्छ भन्ने लाग्दैन मलाई । 
तपाइले महिलालाई नै अपाच्यहुने खालको उपन्यास भन्नु भएको छ । 
महिलाकै हक अधिकार र स्वतन्त्रताको कुरा गर्दा यदि कुनै महिलालाई अपाच्य भएको छ भने त्यो महिला पुरानै परम्पराको सिकार भएकी छे या लेखिकाको दुस्मन । होइन भने महिलाकै हितको कुरा महिलालाई अपाच्य हुन्छ भन्ने लाग्दैन मलाई ।
अनि लेखक असफल नै भएको भन्नु भएको छ । त्यो एकदमै गलत लाग्यो । लेखकलाई कुन आधारमा सफल र असफल भन्ने ? कला, शैली , विचार, सिद्धान्त वा पुस्तक विक्री ? आधार छुट्टाउनुभएको छैन ।
र अर्को कुरा तपाइ आफैले यो किताव राम्रो संग पढ्नु भएनछ जस्तो लाग्यो । होइन भने रोजालाई रोजी भन्नु हुने थिएन र भाषगत ट्रुटि पनि छन । थाह छ यो सामान्य मिस्टेक हो तर तपाइले उपन्यासको त्यस्तै सामान्य मिस्कटेलाई बढी उचालेकाले मैले यो भन्न वाध्य भएको हुँ।
धन्यवाद ।

mani lohani

कुमारी आमा भिन्न विषयमा लेखिएको पछिल्लो समयका उत्कृष्ट उपन्यासहरुमध्ये एक उपन्यास हो । जसमा नारी स्वतन्त्रताको कुरा गरिएको छ । परम्परागत मान्यताको विपक्षमा रहेर गरिएको शालिन विद्रोहको कथा हो कुमारी आमा । उपन्यासकार अनुपम रोशीले कतै पनि पुरुषको विरोध गरेकी छैनन् । मलाई लाग्छ, उपन्यासको शौन्दर्य भनेकै यही हो । 
बासुजीको समीक्षा पढें । बासु जीले धेरै कुरा सिकाउन खोज्नु भएको रहेछ । कसैले लेखेको कुरामाथि टिप्पणी गर्नू निकै सहज छ तर आफैले लेख्नु निकै कठिन । सापटीमा पाएको किताबको सापटी लेखिएको टिप्पणी हुनुपर्छ या प्रायोजित हुनुपर्छ । यदी यो दुबै होइन भने उहाँले दोहो¥याएर किताव पढे अझ राम्रो । 
कुमारी आमा नयाँ लेखिकाको संभावनायुक्त उपन्यास हो । उपन्यासका आफ्ना सीमा र कमजोरीहरु छन् । तर उपन्यास बासु जीले प्रभावित भएर भने झै चाही छैन । 
कुमारी आमा पढेको र कुमारी आमाको बारेमा एक राष्ट्रिय दैनिकमा समीक्षा लेखेका कारणले मैले यति भनेको हुँ । धन्यवाद ।

उमा सुबेदी

बासुजी नमस्ते ,तपार्इँको वेवसाइट भित्रका पुस्तक समिक्षा पढेँ ।कुनै पुर्वाग्रह नराखी जस्ताको तस्तै रूपमा समिक्षा गर्न सक्ने थोरै समिक्षक मध्येमा यहाँलार्इ पाएँ ।ज्यादै खुसी लाग्यो। ।समिक्षा ज्यादै मेहेतन गरेर लेख्नु भएको छ ।यस्तो स्पष्ट बोल्ने समिक्षक नेपाली साहित्यमा कमै देखेकी छु मैले ।
..

Ujwol Kumar

अनुपमा रोशीको कुमारी आमा उपन्यास पढेँ । यो उपन्यास विद्यमान समाजलाई एउटा ठूलो चुनौति हो कि जस्तो लाग्यो मलाई । अनि नौलो प्रस्तुति पनि पाइयो यो पुस्तकमा । 

anupam roshi

धन्यवाद समिक्षाको लागी
तर दुखको कुरा यहाँले पनि एउटा पुरुष अहम् मानसिकताले यो उपन्यास पढ्नु भएछ । मैले यो  उपन्यासमा यहाले भने जस्तो, या यहाँलाई लागे जस्तो पुरुष प्रति विद्रोह गरेकी होइन । न त्यो विवहा र सम्वन्धको विरोध हो ।
यो त एउटा स्वतन्त्रताको खोजी हो जो एउटी स्त्रीको हकमा पर्छ ।
र त्यो परम्पराको अन्त्य गर्नु पर्छ भनेकी हुँ जसले महिलालाई दास बनाएको छ ।
   यो समिक्षा पढ्दा मलाई लाग्यो तपाईमा पुरुष अहमको गहिरो अभिमान रहेछ । मैले पुरुषहरु भित्रको त्यही अभिमानको विरोध गरेकी हुँ न कि पुरुषको ।
 त्यसैले कुमारी आमा  पुरुषहरुसंगै जोडीएर आएको हो । वाँकी कुरामा  ठिकै छ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |