हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

बाँकी अरू कुरा केही छैन,(राजव)

 

निबन्धकार, स्मृतिकार कमल दीक्षितसँग मेरो मुस्किलले चार पटक देखभेट भएको छ । ती भेटमध्ये पहिलो भेट ध्रुव दाइ (ध्रुवचन्द्र गौतम)ले 'अलिखित' उपन्यासको लागि मदन पुरस्कार पाउँदाको एक अपरान्ह भएको थियो । त्यो भेट नै कमल दीक्षितसँग भएको मेरो पहिलो र सबभन्दा लामो देखभेट थियो । अरू भेट त मुस्किलले चार पाँच मिनेटको अल्प भेट थियो । पछिल्लो त झन् भेट हैन देखमात्र भएको थियो । तथापि त्यसलाई पनि मैले भेटकै रूपमा लिएको छु । र, अरू भेटलाई झैं त्यसलाई पनि यो स्मृतिको प्रेरणास्रोत मानेको छु ।

ध्रुव दाइले मदन पुरस्कार पाएको पनि दुइ दशक नाघिसकेको छ । वास्तवमा ध्रुव दाइले मदन पुरस्कार पाउनुलाई तत्कालीन नेपाली साहित्य जगतले हर्षका साथ स्वागत गरेको थियो । त्यो भन्दा तीन, चार वर्षअघिदेखि नै वर्ष्यौटे रूपमा निक्लिरहेका ध्रुव दाइका अन्य उपन्यासले मदन पुरस्कार पाउने अड्कल जारी थियो । तर, चार, पाँच वर्षेदेखि त्यस्तो चर्चाको केन्द्रमा रहेर पनि उहाँको पोल्टोमा त्यो पुरस्कार खस्न सकेको थिएन । यस किसिमको कसरतपूर्ण प्रतीक्षाको पुरस्कार थियो त्यो साल ध्रुव दाइले पाउनु भएको मदन पुरस्कार । वास्तवमा त्यस साल ध्रुव दाइको वर्षौंदेखि कल्पिरहेको हातमा परेको मदन पुरस्कार, प्रयोगपरक लेखनले मान्यता पाएको, नवलेखनले मान्यता पाएको बल्ल आएर मदन पुरस्कारको दृष्टि समकालीन लेखनमा पर्न थालेको आदि अनेक सकारात्मक चर्चाको केन्द्रमा खूब घुमेको थियो । र, सर्वत्र त्यसले स्वागत पाएको थियो । ध्रुव दाइ पनि बर्षौंदेखि मदन पुरस्कार हात पार्ने आफ्नो कसरतले विश्राम पाएकोमा गदगदको शिखरमा हुनुहुन्थ्यो । र, आफ्नू पुरस्कार समारोहमा युवा लेखकहरूको जमघट गराउने घोषणा गर्नु भएको थियो । त्यही मुताविक युवा लेखक हुनुको नाताले म पनि त्यो पुरस्कार समारोहमा निम्तिएर पाटन ढोका स्थित त्यो सम्भ्रान्त कम्पाउण्डभित्रको त्यो समारोहस्थलको परिसरमा पुगेको थिएँ । त्यहीँ भेट भएको थियो मदन पुरस्कारका वास्तविक सर्वेसर्वा निम्तालुहरूको स्वागतमा व्यस्त कमल दीक्षितसँग । त्यस बेला उहाँ निम्तालु साहित्यकारहरूको स्वागत गर्दै तिनलाई समारोहका कुर्शीहरूमा विराजित गराउँदै हुनुहुन्थ्यो । र, आफ्नू परिचय नभएका निम्तालु हरएकसँग परिचय साट्दै हुनुहुन्थ्यो । त्यही क्रममा मैले पनि उहाँलाई आफ्नू नाम, धाम भनेको थिएँ । र, मेचमा विराजित भएको थिएँ ।

त्यस समारोहपछि फेरि उहाँसँग त्यस किसिमको प्रत्यक्ष भेट कतै भएन । र, म पनि फेरि ठूलाबडालाई खोज्दै महल, दरबार र वंगला धाउने परिन । वास्तवमा म अनामन्त्रित भेटबाट टाढै रहने गर्छु तर, म कमल दीक्षितका छाँट्टिएका वाक्य र भावका छोटा, छरिता, रसिला स्मृति निबन्ध निकै मनपराउँछु । मलाई मनपर्ने थुप्रै अग्रज निबन्धकारमध्ये उहाँ पनि हुनुहुन्छ । स्मृति निबन्ध लेख्ने उहाँको आफ्नै बान्की र शैली छ । गर्‍हौं कुरा पनि हल्का ढंगले लेख्ने उहाँसँग खुबी छ । म कमल दीक्षितको त्यही खुवीको कायल छु ।

गोरो, नमोटो नदुब्लो, पुड्को भने पनि हुने, नभने पनि हुने, हँसिलो कमल दीक्षितलाई पहिलो भेटको वीस वाइस वर्षपछिको पछिल्लो पटक दुइ हजार वइसठ्ठी साल पुस तीन गते अर्थात् सन् दुइ हजार पाँचको क्रिसमसको रात दोहा एअरपोर्टको यात्रुले खचाखच भरिएको लाउन्जमा अचानक देखेको थिएँ ।

दुइ हजार बइसठ्ठी साल पुस तीन गतेको रात थियो । म श्रीमती सहित अमेरिका फर्कंदै थिएँ । र, काठमाडौंबाट उडेको कतार एयरवेजको जेटबाट दोहा ओर्लिएको थिएँ । त्यसै सालको साउनमा एक जाँडरञ्जित मत्वाली मोटरसाइकल चालकको उग्र हँकाइको अन्धप्रकोप मेरो देब्रेखुट्टामा पर्न आएर मेरो त्यो निर्दोष खुट्टा भाँच्चिएको थियो । र, पुसको त्यो रातसम्म पनि मेरो त्यो खुट्टो विरामी नै थियो । पूर्णतः बलियो भैसकेको थिएन । वास्तवमा लठ्ठीको सहारामा हिँड्ने अर्थोपेडिक सर्जन बाबुकाजी श्रेष्ठको अनुमति पाएपछि मैले अमेरिका फिर्न प्लेनको टिकट काटेको थिएँ । र, त्यसरी अचानक देखेको थिएँ सुटटाइमा त्यहाँ टुपुल्किनुभएका कमल दीक्षितलाई । वास्तवमा ट्रान्जिट एयरपोर्टमा सबलाई आ-आफ्नो प्लेनको बोर्डिङ पास लिने, आफ्नू प्लेन चढ्ने लाउन्जको ढोका खोज्नेदेखिका अनेक हतारो, चटारोको कुरामा लाग्नु पर्ने हुन्छ । म पनि त्यही हतारोमा थिएँ । सायद कमल दीक्षित पनि त्यही हतारोमा हुनुहुन्थ्यो होला । किनभने त्यसरी अचानक देखिनु भएको कमल दीक्षित एकाएक अलप हुनुभयो । म पनि बोर्डिङ पासमा फरफराउँदै वेलायततिर उड्ने आफ्नू अर्को ट्रान्जिट प्लेनको लाउन्जतिर लागें । तर, कमल दीक्षितबारेको यो संस्मरणको प्रेरणास्रोत भने अर्कै छ । अन्यथा यत्ति समाग्रीको भरमा म यो संस्मरण लेख्न प्रेरित हुन्नथें ।

दुइ हजार सन्ताउन्न सालको हिमाल खबर पत्रिकाको साहित्य विशेष भएको दशैं अंकमा मेरो 'भैंस के चिल्लर' नामक कथा छापिएको थियो । हिमालको त्यो अंक प्रकाशित भएको केही दिनपछिको एक बिहान एउटा फोन आयो । मैले फोन उचालेर 'हलो' भनेपछि उताबाट :

"मैले राजवजीलाई खोजेको" भन्ने स्वर आयो ।

मैले त्यो स्वर कसको हो भन्ने ठम्याउन सकेको थिइन । त्यसकारण कसले गरेको होला फोन भन्ने अन्दाज गर्न खोज्दै मैले भनेको थिएँ :

"बोल्दै छु ...."

"...... राजवजी म कमल दीक्षित बोलेको ..." अनि आफ्नू परिचय दिँदै उहाँले भन्नु भएको थियो ।

"अहो ! दाइ नमस्कार ..." मैले अचम्म मान्दै भनेको थिएँ । मेरो लागि कमल दीक्षितको त्यो फोन सपनामा पनि न सोचिएको कुरो थियो । त्यसकारण स्वभावतः म आश्चर्यमा परेको थिएँ । त्यस क्षण मेरो नमस्कार स्वीकार्दै उहाँ भनिरहनु भएको थियो :

".... राजवजी मैले हिमालमा प्रकाशित भएको तपाईंको कथा 'भैंस के चिल्लर' पढें, मलाई निक्कै राम्रो लाग्यो, तपाईंलाई त्यसैको वधाइ दिउँ भनेर फोन गरेको .... कथा धेरै राम्रो छ ....... तराइको खूब राम्रो चित्रण गर्नु भएको छ तपाईंले ......तराइमा अझ पनि यस किसिमको शोषण चलेकै छ हगि .... कथा बेजोडको छ ....."

वधाइ र प्रशंसाको यस्तै यस्तै वाक्य बोल्दै उहाँ फोनबाट विदा हुनु भएको थियो । म अक्क न बक्क पर्दै गदगद भएको थिएँ । हिमालमा प्रकाशित मेरो त्यो कथाको प्रशंसा गर्दै फोन गर्ने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो । मेरो रचना पढेर राम्रो लाग्यो भनेर त्यसरी फोन गर्ने अग्रजहरू त्यस दिनसम्म मैले पाउन सकेको थिइन । त्यसकारण पनि त्यो फोन मेरो लागि ठूलो पुरस्कार थियो । त्यसो त कुनै पुरस्कारको लागि न मैले दौडधुप गरेको छु, न चाकरीको साष्टाङ्ग मुद्रा अर्पण गर्दै हिँडेको छु । कुनै समय म पुरस्कार बाँड्ने एक संस्थाको संचालक सदस्य पनि भएको थिएँ । त्यो संस्थाले कसरी चाहेको लेखकलाई पुरस्कृत गर्छ र पुरस्कृत हुनु पर्ने लेखकलाई कसरी पन्छाउने पाल्सी शिल्प अबलम्बन गर्ने गर्छ भन्ने भोक्ता, देख्ता व्यक्ति हुँ म । त्यसकारण मलाई पुरस्कारको उनान्सय प्रतिशत नै भरोसा लाग्दैन । तर, त्यस्तै सँग्लो हृदयदेखिको प्रशंसालाई म पुरस्कार मान्छु । तर, दुर्भाग्य यस्तो प्रशंसाको पुरस्कार पनि मैले कमै पाएको छु । तर, नेपाली साहित्यको हालको जगतमा प्रशंसा हैन खुट्टो तान्ने, झूटो लान्छना भिराउनेहरूको क्रूर जगजगी छ । त्यसकारण त्यो जगतबाट अलग बस्ने इमान्दार र स्वतन्त्र लेखकहरू कुण्ठित र मुन्ठित हुन विवश छन् । वास्तवमा ग्याँगहरूको दादागिरी समाप्त नहुन्जेल यस्तो कुरा चलिरहन्छ । अहिले त ग्याँगहरू नै पुरस्कार, तिरस्कार र निन्दा, चियो-चर्चाको व्यापार गर्छन् । त्यसकारण पुरस्कारहरू लज्जास्पद बनिरहेका छन् । यसले गर्दा कहिले काहीं पुरस्कृत हुने सही पात्र पुरस्कार थापौं कि नथापौं भन्ने मनस्थितिमा दिगमिग गरिरहेको हुन्छ । जेहोस् कमल दीक्षितजस्तो अग्रजको अचानक आएको फोन र त्यो फोनबाट मैले पाएको प्रशंसा र वधाइ ! मेरो लागि लाख करोड थियो । मेरो त्यो दिन प्रफुल्लता साथ बितेको थियो । त्यसपछि न उहाँसँग भेट भएको छ । न उहाँसँग फेरि फोनवार्ता भएको छ । तर, त्यो दिन उहाँले गरेको प्रशंसाका वाक्यविन्यासहरू मेरो स्मृतिमा नउखेलिने गरी बसेका छन् । त्यस दिन अचानक दोहामा कमल दीक्षितलाई देख्दा उहाँसँगको फोनवार्ताको त्यो बिहान मेरो सम्झनामा फेरि हूबहू फक्र्यो । वेलायततिर र त्यसपछि अमेरिकातिर उडुन्जेल पनि मेरो सम्झनामा प्रशंसाका तिनै बचनहरू खेलिरहे । तर, दोहामा उहाँसँग बोल्न पाइन भन्ने पछुतोले भने चिमोटिरह्यो । जेहोस् कमल दीक्षितबारे यो संस्मरण लेख्ने प्रेरणा प्रशंसाको त्यो बिहानी प्रसंग अवश्य हैन । त्यत्तिसम्मको कुरोलाई लिएर म यो संस्मरण सायदै लेख्थें । तर, यो संस्मरणको प्रसंग अर्कै छ । त्यही नै यो संस्मरणको प्रेरणास्रोत हो । अन्यथा कमल दीक्षितबारेका ती खेस्रे कुराहरू मेरो स्मृतिबाट कागजमा निस्कँदैनथे । त्यसकारण अब त्यो प्रेरणाको अनपेक्षित प्रसंगतिर लागौं ।

त्यो प्रसंग इ.सं. २००२ को डिसेम्बर महिनाको बीस तारिखमा घटेको थियो । त्यस दिन दोहामा कमल दीक्षितलाई देख्दा त्यो घटना मेरो मनमा स्मृति सुखको रूपमा नाच्न थालेको थियो ।

वास्तवमा तथाकथित भाग्यशाली भएर म २००२ को नोभेम्बर तीनमा श्रीमती र आफ्ना तीन सन्तानमध्ये कान्छो छोरो र छोरी लिएर अमेरिका उडेको थिएँ । र, आफ्नू भतिजो सुरेश पुडासैनी विद्यार्थीको रूपमा पहिलेदेखिनै बसिरहेको भएर त्यसको म्यासाचुसेट राज्यमा ओर्लिएको थिएँ । त्यसको एकाध दिनपछि यसै राज्यको क्याम्ब्रिज शहरमा बसोवासको व्यवस्था गरेपछि वैधानिक कागज हात नपरुन्जेलसम्मको लागि भनेर मैले एक भारतीय व्यापारीको किराना पसलमा (ग्रोसरी स्टोर) किरानीया (सेल्सम्यान) भएर काम गर्न थालेको थिएँ । वे माउथ नामको पंजावीको त्यो किराना पसल म बसेको शहरभन्दा तीस किलोमिटर पर पर्थ्यो । र त्यहाँसम्म पुग्न मैले रेल, बस र छोटो पैदल गरी तीन थरीको घन्टाभरको यात्रा गर्नुपर्थ्यो । म त्यहाँ नोवेम्बरको बाह्र तारिखदेखि काम गर्न थालेको थिएँ । त्यसको आठ दिनपछिको एक अपरान्ह मैले भन्न लागेको प्रसंग घटेको थियो ।

त्यस अपरान्ह छिरेकी एक महिलाले मसँग क्याप्रि चुरोट मागिन् । मैले उनको मागबमोजिमको चुरोट दिएँ । र, उनले दिएको दश डलरको नोटको बाँकी चार डलर एक्काइस सेन्ट म उनलाई दिँदै थिएँ, त्यतिन्जेल मेरो अनुहार गम्भीरतम नियालिरहेकी तिनले फिर्ता डलर मेरो हातबाट लिँदै मसँग सोधिन् : "तपाईं इण्डियन हो ?"

तिनको साँवलो अनुहारतिर हेर्दै मैले भने :

"हैन ...... "

मैले यसो भनेपछि तिनले भनिन् :"मलाई पनि तपाईं इण्डियन नहुनुपर्छ भन्ने लागेको थियो, तथापि सोधें, माफ गर्नु होला .... "

तिनलाई सन्चो पार्न मैले भनें :"हैन ... हैन ... केही छैन ......"

इण्डियनकै पसलमा काम गर्ने र इण्डियन अनुहारसँगै मिल्न खोज्ने अनुहार भएको मलाई इण्डियन ठान्नु कुनै आश्चर्यको कुरो थिएन । अमेरिकन ग्राहकले त मलाई तिमी पाकिस्तानी ..... इण्डियन ...... मोरक्कन ..... आदि हौ भनेर सोधिरहन्थे । र, तिनलाई जवाफ दिँदा दिँदा म थाकिसकेको थिएँ ।

"त्यसो भए तपाईं कहाँको त ....... -" आफ्नू उत्सुकताको समाधान खोज्दै तिनले मसँग फेरि सोधेकी थिइन् । र, मैले भनेको थिएँ "म नेपालबाट ......"

मैले यसो भन्नेवित्तिकै एकदमसँग उफ्रँदै आफू पछिल्तिर उभ्भिरहेको कालो वर्णको अग्लो भुँडे पुरुषतिर फर्किएर तिनले भनिन् : ".... सि डार्लिग हि इज फ्रम नेपाल ......."

उनको त्यस किसिमको उफ्राइ र अनुहारमा देखा परेको उनको खुसी देखेर म पनि त्यत्तिकै आश्चर्यमा परें । र, हडबडाउँदै उनलाई सोधें -"तपाईं कहाँबाट नि -"

"हामी बंगाली हौं .... उहाँ मेरो श्रीमान् ....." तिनले आफूसँगै उभिइरहेको उही काले पुरुषको कुमतिर हात लम्काउँदै भनिन् । उनले पनि उस्तै खुसीले मलाई हेर्दै भने - "हाइ ....."

वास्तवमा ती दम्पती म नेपाली हुँ भन्ने थाहा पाएर त्यस क्षण औधी खुसी भएका थिए । तिनको अनुहारमा वर्षौंदेखि हराएको प्रिय वस्तु भेट्टिएको जस्तो खुसीको झल्को प्रकट भएको थियो । त्यस क्षण त्यो वस्तु भएको मसँग तिनले फेरि उस्तै हतारमा सोधे- "नेपालमा तपाईं कहाँ बस्नु हुन्छ ...... ? काठमाडौंमा हो ? जहाँ एक धनी नेपाली लेखक बस्नु हुन्छ .... -"

मैले भने - "हो ...... "

फेरि उही खुसीको चमक दमकसाथ तिनले सोधे -"त्यसो भए तपाईं नेपालको सबभन्दा धनी लेखक ..... के नाम उहाँको ...... चिन्नु हुन्छ ....."

तिनको त्यो सोधाइले त मलाई झन् आश्चर्यमा पार्‍यो । सात समुद्र पारीको देशको एक शहरको एक कुनाको पसलमा आएको ग्राहकले मसँग त्यस किसिमको हर्ष प्रकट गर्दै आफूले चिनेको नेपाली लेखकबारे सोधखोज गर्न खोजेको त्यो हठात्को प्रसंगले मलाई निकै खुसी तुल्याएको थियो । तर, म झट्ट तिनको प्रश्नको जवाफ दिन नसकेर आक्मक्किएको थिएँ । र, त्यस क्षण कहीँ बालकृष्ण समलाई त भनेको हैन भन्ने लागेर मैले तिनलाई सोधेको थिएँ "बालकृष्ण सम हो ?"

मेरो यो जवाफ सुन्नेवित्तिकै श्रीमती चाहिँले भनेकी थिइन् -"ओ ! नो ..... नो .... नो "

त्यसपछि फेरि हड्बडाउँदै तिनले श्रीमानको मुख ताक्दै सोधिन् "डार्लिंग तिमीलाई सम्झना हुनु पर्ने .... के नाम रे तिनको ?"

त्यसपछि ती दुबै दम्पती आफ्ना स्मृतितिर फर्किएर सोच्न थाले । त्यसैबीच आएका दुइ ग्राहकलाई ठाउँ दिन ती काउन्टरबाट अलि छेउ लागे । र, निकै बेर उभ्भिएर संयुक्त रूपमा त्यो नाम सम्झने कोशिस गर्न थाले । र, म आएका ग्राहकहरूलाई छिटो छिटो निब्टयाउन थालें ।

म फेरि ग्राहकबाट मुक्त भएपछि मेरो फुर्सद पर्खिरहेका तीमध्ये श्रीमान् चाहिंले फेरि बिर्से झैं गरेर एकदम हडबडाएर भने "ओ अहिले मैले सम्झें .... तिनको नाम कमाल हुनुपर्छ .... तर लास्ट नेम बिर्सें.... "

तिनको मुखबाट कमाल भन्ने सुनेपछि कहीं उनीहरूले 'कमल दीक्षित' लाई भन्न खोजेको त हैन भन्ने ठम्याएर मैले तिनलाई सोधें "कमल दीक्षित हो कि ?"

"हो हो त्यही नाम हो, उहाँको अहिले मलाई सम्झना भयो .... हो हो उहाँ कमल नै हो .... " श्रीमती चाहिँले भनिन् ।

तर आफूले चिनेको कमल दीक्षित र मैले भनेको कमल दीक्षित एकै हो कि हैन भनेर जान्न विशेष हुलिया दिँदै श्रीमान् चाहिंले फेरि मसँग सोधे "उहाँ एकदम धनी हुनुहुन्छ हैन ?"

"हो .... " मैले भने ।

"उहाँको उद्योग व्यापार र दरबारजस्तो घर छ हैन ...."

"हो .... "

"उहाँ नेपालीको ठूलो लेखक हैन ?"

"हो ....."

त्यसपछि तिनले ढुक्क भएर भने "हो हामीले जानेको लेखक उहाँ नै हो .... उहाँको त घर हैन कैयौं एकड जमीनमा बसेको दरबारै रे छ ....."

त्यसमाथि फेरि श्रीमती चाहिँले थपिन् "वाफ रे वाफ कति ठूलो दरबार रे छ उहाँको ..... मैले यहाँ अमेरिकामा पनि त्यस्तो दरबारजस्तो घर भएको धनी लेखक देखेको छैन ... मैले यहाँ कवि लंगफेलोको, रोवर्ट फस्टको र अहिलेको नामुद लेखक जोन अपडाइकको घर हेरेको छु तर कसैको पनि घर त्यस्तो पाएको छैन ..."

"उहाँ त धनी मात्र हैन ह्याण्डसम र मिजासिलो पनि हुनुहुँदोरहेछ ....." श्रीमान् चाहिँले फेरि प्रशंसाको यो पुल थपेका थिए ।

म चाहिँ ट्वाँ˜˜ परेर तिनको कुरो सुनिरहें ।

वास्तवमा म भर्खर पुगेको सुदूर एटलान्टिक जगतको त्यो अमेरिकी शहर र त्यसको परिवेश मेरो लागि पूरै नौलो र बिरानो थियो । मलाई त्यसै पनि जुन पनि कुरो नौलो र अप्ठेरो लागिरहेको थियो । मनमा देश, समाज र घर छोड्दाको न्यास्रोको भुमरी पनि चलिरहेको थियो । 'नेपाल' जान्ने कसैलाई भेट्न पाए कस्तो होला जस्तो हुन्थ्यो । त्यस्तो मनस्थिति भोगेर दिन गनिरहेको अवस्थाको म अग्रज नेपाली लेखक कमल दीक्षितलाई चिन्ने विदेशी पाउँदा तीन छक पर्ने नै भएँ । त्यसकारण म तिनलाई ट्वाँ परेर हेरिरहेको  
थिएँ ।

त्यसैबीच ती दम्पती अरू नेपाली लेखक पनि चिन्छन् कि भनेर मैले तिनीहरू सामुन्ने मदनमणि दीक्षित, दौलतविक्रम विष्टदेखि ध्रुवचन्द्र गौतमसम्मको नाम लिएँ । तर तिनले कमल दीक्षितबाहेक मैले लिएको कुनै पनि नाम चिन्छौं भनेनन् । त्यसकारण मैले तिनीहरूलाई सोधें "कसरी चिन्नु भयो त तपाईंहरूले कमल दीक्षितलाई ....-"

अनि श्रीमान् चाहिँले आफ्नू कुरा खोल्न थाले "...... म त्यस बेला बंगलादेशमै थिएँ ..... सन् १९८२ को नोभेम्बरमा म रोटोरियनको हैसियतले बंगलादेशको टोलीसँग नेपाल गएको थिएँ मसँग मेरी श्रीमती उनी पनि थिइन् .... एक रोटोरियनको हैसियतले त्यही भ्रमणको सिलसिलामा हाम्रो भेट कमल दीक्षितसँग भएको थियो ..... हामीलाई उहाँले आफ्नू त्यही दरबारमा स्वागत गर्नु भएको थियो .... हामीलाई उहाँले त्यहाँ निकै आदरकासाथ सत्कार गर्नु भएको थियो .... त्यहीँ हामीलाई उहाँ नेपालको ठूलो लेखक हुनुहुन्छ भन्ने कुरा थाहा भयो ... अमेरिका आएपछि मैले केही भेटिएका नेपालीलाई उहाँबारे सोधेको थिएँ तर, ती कसैले पनि चिन्छु भनेका थिएनन् .... तपाईंलाई झैं तिनलाई पनि मैले उहाँको हुलिया दिएको थिएँ .... तर चिन्छु भन्ने चाहिँ आज तपाईं भेटिनु भयो .... मैले त उहाँको लास्ट नेम नै बिर्सिसकेको रहेछु ... बीस वर्षअगाडिको कुरा पर्‍यो नि त ...."

त्यसपछि तिनले एउटा कागजको टुक्रोमा मैले भने जसरी 'कमल दीक्षित' लेखे । र, "अब म कहिल्यै विर्सने छैन, विर्से भने मलाई यै टुक्रोले सघाउने छ .... " भन्दै त्यो कागजको टुक्रो आफ्नू बालेटमा थन्क्याएका थिए ।

त्यतिन्जेलसम्म म हुस्सुले तिनको नाम सोधेको थिइन । त्यसकारण हडबडाएर सोधें "यहाँको नाम .. -"

"ओ ! अली अप्ठेरो लाग्ला तपाईंलाई ..." भन्दै तिनले भने "तमज्दिल हुदा काजी ... "

"अनि उहाँको ..." मैले उनकी श्रीमतीतिर हेर्दै सोधें

उनले भनिन् "पाव नुरुन ..."

पाव नुरुन पेन्टिङ्ग गर्दी रेछिन् । उनका श्रीमान् तत्कालीन बंगाली रोटोरियन तमज्दिल हुदा काजी युनिभरसिटी अफ म्यासाचुसेटसँग सम्वद्ध रहेछन् । नेपाल गएको दुइ वर्षछि उनीहरू अमेरिका आएर घरजम गर्न थालेका रहेछन् । उनीहरूको सन्तानको नाममा एक मात्र छोरो रहेछ जो वर्कले स्कुल अफ म्युजिकमा संगीतमा इन्जिनियरिङ्ग गर्दै रहेछ । फरासिला तिनीहरूले फटाफट आफ्नूबारे यी कुरा सुनाएका थिए । यसपछि विदा हुँदै तिनले भनेका थिए " वास्तवमा हामी कमल दीक्षितलाई चिन्ने नेपाली खोज्दै थियौं .... आज तपाईंलाई भेट्यौं .... एकदम खुसी लाग्यो .... तपाईं नेपाल गएको बेला उहाँलाई भेटेर हाम्रो बारे उहाँलाई भन्नुस् है .... हामीले धेरै सम्झेका छौं पनि भन्नुस् है ... "

त्यो स्टोरबाट त्यसपछि उनीहरू अति खुसी भएर निस्केका थिए । ढोकामा पुगेर पनि फेरि उभ्भिदैं पाव नुरुनले भनेकी थिइन् "नबिर्सिनु होला है कमल दीक्षितलाई हाम्रोबारे भन्न .... हाम्रो हाइ उहाँलाई जरुर सुनाइ दिनु होला .... "

तर त्यो प्रसंगको अढाइ -तीन वर्षछि म नेपाल पुगें पनि । खुट्टा भाँच्चिएको प्रतापले थप चार महिनासहित दश महिना काठमाडौंमा बसें पनि । तर, यो प्रसंग सुनाउन न कमल दीक्षितलाई भेट्न गएँ, न फोन

गरें । सायद दोहामा देख्दा उहाँसँग भेट गरेको भए यो कुरो जरुर सुनाउने थिएँ हुँला । तर, त्यहाँ पनि देखाइमात्र भयो । दोहामा भेटेर यो प्रसंग सुनाएको भए सायद म यो संस्मरण पनि लेख्ने थिइन होला । किनभने त्यसबेला म तमज्दिुला हुदा काजी र पावनुरुन दम्पतीको त्यो नासोबाट मुक्त भएर हल्का भैसक्ने थिएँ । मलाई यो संस्मरण लेख्नु पर्ने खाँचोको मानसिक वाध्यता पर्ने थिएन । वास्तवमा मेरो यो संस्मरणको प्रेरणास्रोत त्यही वाध्यता हो । बाँकी अरू कुरा केही छैन ।
 

(खसखस डट कममा पाहुना हुनु भएका साहित्यकार कमल मणि दिक्षितका बारेमा प्रकाशित साहित्यकार राजवको उक्त लेख सान्दर्भिक हुने जस्तो लागेर लेखकको स्वीकृतिमा हामीले रचना द्वैमासिकको अंक ९४ बाट साभार गरेका हौँ । )


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |