हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

धोको अपूरै रह्यो ,(बासु श्रेष्ठ)

सन् २००७ जुलाई ४ मा नितान्त नेपाली साहित्यिक वेब साईट खसखस डट कम लोकार्पण गरेपछि नेपालको कला, साहित्य तथा सँस्कृतिको फाँटमा चर्चित व्यक्तिहरुसँग कुराकानी गरेर आवाजमा 'पाहुनासँग खसखस' नामक थप स्तम्भ राख्न मन लाग्यो । चाहे अमेरिकी भ्रमणमा रहेका साहित्यकार हुन् चाहे नेपालमा बसेका हुन् तिनिसँग या त आमुन्ने सामुन्ने बसेर अन्तर्वार्ता स्वराँकन गर्ने या अमेरिकाबाट नेपाल फोनमार्फत नै भएपनि स्वराँकन गर्ने रहर जाग्यो यस नौलो स्तम्भकोलागी । यसकोलागी शौभाग्यवश पहिलो पाहुनाको रुपमा वरिष्ठ समालोचक तथा साहित्यकार डा. तारानाथ शर्मासँग आफ्नो ईक्षा राख्ने मौका पाएँ र वहाँले सहर्ष आमन्त्रण स्विकार्नु भयो । 'त्यत्रो नाम चलेको व्यक्ति सारा नेपाली साहित्य थर्कमान हुन्छन् वहाँसँग, के म जस्तो बेअनुभवी र अस्थापित वेबसाईटकोलागी अन्तर्वार्ता दिन रुचाउनु होला  ?' भन्ने मनमा शँका लाग्दालाग्दै आफ्नो ईक्षा जाहेर गरेको थिएँ । तर सोचेको विपरित वहाँले बडो आत्मिय, सामान्य र सहज ढँगले अन्तर्वार्ता दिएर सहयोग पुर्याउनु भयो र खसखस डट कमको 'पाहुनासँग खसखस' स्तम्भकोलागी यात्रा आरम्भगर्न उत्साहित गराई दिनुभयो । 
 
यसलाई निरन्तरता दिने क्रममा क्रमशः गीतकार कृष्णहरि बराल तथा राष्ट्र्कवि माधव घिमिरे, नायक सरोज खनाल, गीतकार तथा निर्देशक यादब खरेल, गायक कुमार बस्नेत, हास्य कलाकार राजाराम पौडेल, साहित्यकार श्रीओम रोदन श्रेष्ठ तथा युवराज नयाँघरे, साहित्यकार मँजुल, गीतकार दिनेश अधिकारी, वरिष्ठ सँगीतकार शम्भुजीत बास्कोटा, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार कविताराम श्रेष्ठ, वरिष्ठ साहित्यकार जगदीश घिमिरे, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायक कृष्ण मल्लहरुसँग अन्तर्वार्ता स्वराँकन गरिई सकेको छ । ति स्वराँकनहरु सुन्न यस लिँकमा जानुहोस् । र खुशीको कुरा के भने यि अन्तर्वार्ताहरु श्रोताहरुले धेरै नै मन पराई प्रशँसा गर्नुभएको छ ।
 
नेपालमा भएका वरिष्ठ साहित्यकारहरुसँग सम्पर्कको माध्यम खोज्दै, सम्पर्क राख्दै फोनबाट अन्तर्वार्ता गर्दै आएको थिएँ । यसरी वासिँगटन डिसीबाट नेपालमा रहनुभएका साहित्यकार हरुसँग फोनमार्फत सम्पर्कमा आउनेमा राष्ट्र्कवि माधव घिमिरे (जो अन्तर्वार्ताको समयमा भरतपुर भ्रमणमा हुनुहुन्थ्यो), मँजुल, दिनेश अधिकारी, जगदीश घिमिरेहरु हुनुभयो । 
 
हाम्रो नेपाली साहित्य भाग्यमानी नै छ भन्नुपर्छ । र हामी साहित्यका पाठकपनि भाग्यमानी मान्नुपर्छ आफुलाई । साहित्यकारहरुकोमात्रै नाम लिँदा निकै लामो फेहरिस्त बन्न गयो । वरिष्ठ साहित्यकार र सँस्कृतविद्को नामलाई प्राथमिकता दिई सम्पर्क माध्यमको खोजी गर्दै र सामुन्ने भेट भएका तथा सम्पर्क हुन सकेका साहित्यकार सर्जकहरुसँग स्वराँकन गरिँदै गइयो । फलस्वरुप हालको अभिलेखालयमा उल्लेखित नाममा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ लगायत थुप्रै पाहुना बन्न आईपुग्नु भयो । तर यसै मेलोमा मैले साहित्यकार रमेश विकलसँगको सम्पर्क सूत्र खोज्दै गरिरहेको थिएँ ।
 
साहित्यकार विकलका कथा र उपन्यासहरु मेरो मस्तिष्कमा किन हो राम्रैसँग जरा गाडेर बसेको छ । वहाँका रचनाहरुको सम्पूर्ण नालीबेली नसम्झिएपनि 'आज फेरि तन्ना फेरिन्छ' नामक कथा हरेक रात सुत्नेबेलामा कसो कसो एकपटक आईहाल्छ । त्यस्तै अर्को कथा हो 'दुई रुपैयाको नोट' जुन साँच्चिकै रुपमा निकैपछि मात्र राष्ट्र् बैँकले प्रचलनमा ल्यायो । यो शिर्षक पनि रुपैयाको प्रसँगमा अगाडि टुप्लिकिन आईहाल्छ । वहाँको 'लाहुरी भैंसी' कथाका साथै 'अविरल बग्छ इन्द्रावती' उपन्यास अनि 'सात सूर्य एक फन्को' यात्रा सँस्मरणले मलाई निकै रोचक बनाएको थियो । त्यसैले पनि हो कि शायद कहिल्यै नभटेको र नदेखेको वहाँलाई म सदा नजिकको अनुभव गर्थै । त्यसैलेपनि वहाँको अमूल्य साहित्यिक विचारहरु स्वराँकन गरेर श्रोता समक्ष पस्कने ठुलो धोको थियो । 
 
इण्टरनेट भ्रमणको क्रममा थाहा लाग्यो वहाँको छोरा विजय चालिसे गोरखापत्रसंग सम्बद्ध हुनुहुँदो रहेछ । कहिल्यै विजय चालिसेलाई नभेटेपनि २३-२४ वर्ष अगाडि वहाँको भाईमार्फत वहाँले निकाल्नु भएको पत्रिका साँग्रिलाको वार्षिक सदस्य बनेको थिएँ । सँयोग, मैले 'लाईनै लाईन' नामक एक हास्यव्यँग्य मधुपर्कमा प्रकाशनार्थ पठाएको थिएँ । त्यो विजयजीले देख्नुभएछ र साँग्रिलाको वार्षिक सदस्यमा मेरो नाम देखेको नाताले मेरो त्यो लेख मधुपर्कमा तदारुकताकासाथ छाप्न लगाउनु भएको थियो । यो सबै वहाँको भाईमार्फत नै थाहा पाएको हुँ तर भेट भने हुने मौका कहिल्यै भएन । 
 
यत्रो वर्षपछि यहि नाताले मैले रमेश विकलसँग सम्पर्क कायम गर्न विजय चालिसेजीलाई विद्युतीय हुलाक पठाएँ । आफ्ना चाहनापनि राखेँ । तर खोई किन हो विजयजीको तर्फबाट कुनै सकारात्मक जवाफ आएन । अन्तर्वार्ताकोलागी म मात्र होईन अरु कैयौ आउँछन् होला । कसलाईमात्र 'नाई' 'हुन्छ' भन्ने वहाँको आफ्नै समस्या थियो होला । म पो आफुलाई एक्लो देख्छु तर उता त्यस्तो हुदैन । लर्को लागेका हुन्छ्न अन्तर्वार्ता लिनेहरुको । मन मनै त्यसैले होला मेरो अनुरोधमा कुनै जवाफ नआएको भन्ने ठानेँ । तर मैले विचारलाई त्यागेको भने पटक्कै थिईन । अमेरिकाको व्यस्त जीवनको केहि फुर्सदिला क्षणलाई सदुपयोग गरौ भन्ने धारणाले चलाएको यस साहित्यिक  वेबसाईटकोलागी चौबिसै घण्टा यसको पछि लाग्ने कुरापनि असम्भव थियो । तरपनि मौका पाएँ कि साथीभाईसँग यो कुरा चुहाई हाल्थेँ, सफल भने हुन पाएको थिईन ।
 
त्यसै वर्ष नोभेम्बरको दोश्रो साता गीतकार मित्र ज्ञानेन्द्र गदाल कोलोराडोबाट नेपाल जान लागेको थाहा पाएँ र वहाँलाईपनि सक्नुहुन्छ र भ्याउनुहुन्छ भने खसखस डट कमकोलागी रमेश विकलको अन्तर्वार्ता लिएर आउनु होला भनेको थिएँ । मित्र गदालले 'यदि म भ्याईनँ भने अरुबाट भएपनि गराउन लगाउँला' भन्नुभयो । म ढुक्क प्राःय भएको थिएँ  । तर गदालजी नेपाल पुगेको दुई हप्तापछि अर्थात डिसेम्बर १० मा साहित्यकार विकललाई अस्पताल भर्ना गरिएको खबरले मलाई  नराम्रोसँग झस्कायो । मनमनै प्रार्थना गरिरहेको थिएँ वहाँ चाँडै घर फर्कन सक्नुहोस् भनेर । तर त्यसको एक हप्तापछि वहाँ दिवँगत हुनु भएको समाचारले म स्तब्ध भएँ । यसरी एउटा मूर्धन्य र प्रगतिशील साहित्यकारको स्वराँकन गर्ने अभिलाषा अधुरै र मनको मनैमा रह्यो ।
 
खास कुरा त मेरो मनको अभिलाषामात्र अपूरो होईन सम्पूर्ण नेपाली साहित्य नै अधुरो अधुरो पारेर जानुभयो साहित्यकार विकलले । वहाँबाट हामीले जे पायौ त्यो प्रशस्त त छ तर पर्याप्त भने थिएन । हामीले त्यो पर्याप्ततालाई पूर्णता दिन सकेनौ । हामी सम्पूर्ण नेपाली साहित्यप्रेमीहरुलाई यो अभाव खट्किई नै रहने छ । एक साहित्यिक  अध्यायको अन्त्य भएकोमा हाम्रो मनमा सदा एक चोट रही नै रहने छ । वहाँको आत्माले चीर शान्ति प्राप्त गरोस भन्ने कामना गर्दै वहाँ चीर कालसम्म आदर र सम्मानका साथ हाम्रो सम्झनामा रही रहनु हुनेछ भन्न चाहन्छु 
 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |