हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

बाजे,(दुर्गाबहादुर शाह ‘बाबा’)

म प्रमाणपत्र तह अध्ययनको  लागि वालिङ्  बहुमुखी क्याम्पस, स्याङ्जामा पहिलो ब्याचको विद्यार्थीको रुपमा भर्ना भएको थिएँ वि.सं २०३७ मा । पढाइलाई मात्रै ध्यान नदिएर छुट्टीको समयमा कुनै न कुनै नयाँ ठाउँमा घुम्न जाने योजना हामी साथीहरुका बीच वनाईरहन्थ्यौं । यसैक्रममा एकदिन शनिबार माघको महिना पहारिलो घाम ताप्दै हामी केही साथीहरु भुम्रे वजारको उत्तरतर्फ आँधीखोला तरेर पारीपट्टिको डाँडाँमा घुम्न गयौं । त्यो दिन घुम्दै जाँदा एकजना मगर थरको घरमा पुग्यौं । उनको घरमा भर्खरका कुकुरका सेतो र कालो रङका  दुईवटा छाउराहरु रहेछन् । ती छाउराहरु पुच्छर हल्लाउदै मसँग पो निक्कै रमाउँदै खेल्न थाले । ती दुई मध्ये एउटा सेतो रङ्को छाउरो मलाई साह्रै मन पर्यो । मसँग गएका साथीलाई भनँ मलाई यो सेतो छाउरो साह्रै मन पर्यो लौन मिलाई देऊ । तर अर्कैलाई वचन दिइसकेकाले कुकुर मालिकनीले ति छाउराहरु मलाई दिन मानिनन् । मलाई एउटा कुकुर साथी चाहिएको थियो किन भने प्रमाणपत्र तहको पढाई सकिएकाले म घरमै केही काम गर्न चाहन्थेँ । यसैले पनि मेरो चाहनालाई बुझेर होला मसँग गएका मेरा मित्र कृष्ण श्रेष्ठ, अनि श्रेष्ठ, टोपे माईलाले अनेक जुक्ति निकालेर सेतो रङको छाउरो मलाई दिलाइछाडे ।

केही दिन मेरो डेरामा राखेपछि त्यो सेतो छाउरालाई मेरो घर ठूलाडिही ल्याएँ । सेतो रंगको भएकोले सबैले सेते भनेर बोलाउन थाले । तर मलाई सेते नभनी बाजेनामले संबोधन गर्न मन लाग्यो । यसको कारण मेरो आफ्नै बाजे (जीजुबुबा) खड्कबहादुर शाह म जन्मनु पूर्व नै स्वर्गवास भैसक्नु भएकाले उहाँको सम्झनामा यो नाम राख्ने अठोट गरेको थिएँ ।  तर ब्यबहारमा यो सम्बोधनले निक्कै अप्ठ्यारो पो पार्यो । मेरो बाजे खड्कबहादुर शाह परलोक भएपनि मलाई ज्यादै माया गर्ने र केही व्यवहारिक ज्ञान सिकाउनुहुने मेरो जीजुबुबाको कान्छो भाइ अर्थात मेरो कान्छा जीजुबुबा हाल ९४ बर्षको समाजसेवी/राजनीतिज्ञ छिमबहादुर शाह जीवितै भएकाले कुकुरको नाम बाजेनामाकरण हुँदा केही असमञ्जस्य स्थिति पैदा भने भयो । केही नारद स्वभावका व्यक्तिले कुकुरको नाम पनि बाजेराखिदिएर बाबु दुर्गाले अपमान गरे भनेर कान्छा जीजुबुबालाई कुरा लगाइदिए  । तर हाम्रो विचार असल भएकाले नाति बाजेबिच कुनै किसिमको असमझदारी भएन । उहाँलाई म मेरो आफ्नै जीजुबुबा मान्दथें र मान्दै पनि आईरहेको छु । उहाँको माया, सद्भाव र आशिर्वाद अहिले पनि मेरा प्रति उत्तिकै  छ ।

हामीले कुकुर बाजेलाई वोलाउँदा बाटोमा घाँसको डोको वोकेर हिड्ने देखि लिएर भद्रभलाद्मी, सन्तमहन्त र सवै सुन्ने जतिले टक्क अडिएर किन बोलाउनु भयो भनेर हेर्दथे, पछि आफैँले कुरा बुझे पछि, ए कुकुरलाई पो रहेछ  भन्दै हाँस्दै आफ्नो बाटो लाग्दथे । यी घटनाहरुले भने सबैलाई हाँसो उठाउँथ्यो । बाजे भनेर सम्बोधन नगरेसम्म कुकुर बाजेपनि आउँदैनथ्यो ।

जव म प्रमाणपत्र तहको पढाई सकेर विदामा घर बस्नु पर्यो तव मैले कृषि क्षेत्रलाई निकै महत्व दिएर काम गर्न थालेँ । मेरो व्यक्तिगत भन्दा पनि समाजमा कृषिप्रति सकारात्मक सोच जागोस् भन्ने थियो । जे खेती गरे पनि हुँदैन,पढेलेखेको र ठुलाठालुले खेतीको काम गर्यो भने सानो भइन्छ भन्ने धारणा जनमानसमा भएको मैले पाएँ । त्यसैले अब म यस क्षेत्रमा पनि उदाहरणीय बन्नुपर्छ  भन्ने लाग्यो । मैले पहिले नै चारपाते क्लवको सदस्य भएर कृषि सम्बन्धी तालीम लिई काम समेत गरिसकेकाले मलाई काम गर्न सजिलो भएको थियो । तरकारीखेती, वाख्रापालन, धान, गहुँ र सुन्तला खेतीमा विशेष ध्यान दिन थालें । पानीको सुविधा नभएको ठाउँमा आधा घण्टाको बाटोबाट गाग्रोमा पानी वोकेरै भएपनि तरकारी खेती गरेँ मैले । राम्रो चरन भएकाले बाख्रापालन पनि सफल भयो । धान खेतीका लागि सिंचाइ, मलको राम्रो व्यबस्था गरेकाले उत्पादनमा निक्कै वृद्धि भयो । गहुँ खेतीमा राम्रो गरेकाले कृषि कार्यालयवाट पुरस्कार पनि प्राप्त गरें । घर अगाडि सुन्तलाको सुन्दर वगैचा थियो । आँगनीको डिलवाट आफ्ना बगैँचामा पाकेर लटरम्मै भएका सुन्तलाका दाना टिपेर खाँदाको आनन्द नै अर्कै हुन्थ्यो । रातको समयमा मन्द गतिमा चलिरहेको हावाको लहरसँगै पारीवनमा गोलसिमल चरीको आवाज आइरहेको हुन्थ्यो र सो मधुर आवाज सुन्दै निदाउँदा मलाई साह्रै आनन्द लाग्दथ्यो । त्यसमाथि मलाई यी तमाम काम सुसम्पन्न गर्नका लागि  हर क्षण इमानदारीतापूर्वक साथ दिइरहन्थ्यो मेरो प्रिय कुकुर बाजेले । असार महिनाको एकदिनको कुरा हो ।  करीव रातको ११ बजे मेरो ओच्छ्यानको नजिकै आएर बाजेएकोहोरो भुक्न थाल्यो ।  यसो यताउति नियाली हेरें केही देखिँन । यसो निदाउँन खोज्छु झन् झन् मेरो सिरानिमै आएर भुक्यो सुत्नै दिएन । म उठेर हेरेँ केही देख्दिन बाजेले अति नै गरे पछि मेरो बुबाले समेत आएर हेर्नुभयो तर केही देख्नु भएन । त्यतिकै भुकेको होला भनेर म सुतेको मात्र थिएँ बाजे उसरी नै भुक्न थाल्यो ।  अनि मलाई शंका लाग्यो र उठेर मेरो ओच्छ्यानको सबैतिर हेर्न थालेँ । ओहो  मेरो सिरानीमा त एउटा ठूलो सर्प पो गुडुल्किएर बसेको रहेछ ।

मलाई अहिले त्यो दिन सम्झदा शरीर जिरिङ्ग भएर आउँछ । त्यो रात बाजेले मलाई मृत्युबाट जोगाएको थियो । बाजेमेरो साथी मात्र नभई मेरा लागि भगवान भएर आएको रहेछ जस्तो लाग्यो र मनमा ऊँ प्रति अझ बढी मायाको पहाड चुलियो । मेरा सबै भावनाहरु बुझ्दथ्यो । म पनि उसका सबै भावना र मर्महरु बुझ्ने कोशिस गर्दथें ।  म जागिरको दौरानमा घरवाट निस्कने बेलामा कहिल्यै पनि निराश नदेखिएको बाजे साह्रै माया लाग्दो र निराश देखिन थाल्यो । मलाई पनि उसको धेरै नै चिन्ता लाग्यो । उसको मायाभन्दा पनि मेरा केहि अठोट  पुरा गर्नु थियो । म बाजेलाई त्यतिकै छोडेर जागिरको खोजी.तिर लागेँ । 

म केही समय पछि  घर फर्कें त्योबेला बाजेको हाड र छाला मात्र बाँकी थियो । मलाई देख्नेबित्तिकै बाजे कुदेर आयो र मेरो काखमा बस्दै उसले बररर आँसु पो झार्यो । मैले पनि बुबाले –‘लौराले हान्दा गाईवस्तुले ऐया भन्दैन, पिडाको अनुभूति मात्रै गर्छभनेको कुरा सम्झिएँ । बाजेले हाम्रा पुराना दिनहरुको याद गराएको थियो त्यसदिन । यही नै ऊसँगको अन्तिम भेट थियो ।  दुर्गाले जस्तै पढेर पनि खेतीपाति गर्ने हो भने त किन पढ्नु पर्यो भनेर एक जना गाँउका मान्छेले आफ्ना छोरालाई भनेको मेरो कानले सुन्यो मेरो मन छोयो, भएन अब जागिरे पनि भएरै देखाउछु लाग्यो ।

त्यसपछिका दिनमा म जागिरमा लागें । यही कारणले बाजे र मेरा ती रमाईला क्षणहरुलाई थाति राखेर वाध्यतावश बाहिरिनु परेको थियो म । मलाई यति धेरै गुण लगाएर बाजेयो धर्तीबाट सदाका लागि विदा पनि भएको छ । धेरै पहिले देखि नै बाजेको सम्झनामा केही लेख्छु भन्ने सोचेको थिएँ । उ विदा भएर गए तापनि उसले मलाई केही पाठ भने अवश्य दिएर, सिकाएर गएको छ । इमानदारिता, सहनशीलता, माया, सद्भाव र अभावमा पनि  रमाउन जान्ने कला दिएर गएको छ । आज उसको साक्षीको रुपमा म यस धर्तीमा उभिएको छु । मृत्यु पछि पनि अर्को कुनै संसार छ भने म उसँग पुनः भेट्ने आशा पनि राखिरहेको छु । महात्मा गान्धीले आफ्नो आत्माकथामा भनेका छन् मानिस किन बढी वोल्छ, मलाई त कम बोलेरै बढी फाइदा भएको छ ।मेलै यहाँ चर्चा गरेको बाजेत मसँग झन् कहिल्यै पनि बोलेन, केवल व्यवहारबाटै मेरो मन जित्यो । मानिस मानिसका बिच पनि यस्तै व्यवहार भैदिएको भए यो संसार कत्ति शान्त र सौरम्य हुने थियो होला । ज्याँ ज्याक रुसोले आफ्नो आत्मवृत्तान्तमा भनेका छन् मलाई ठूला मान्छेसँगको परिचयले जीवनमा केही फाइदा पुगेन ।मेरा लागि पनि ठूला भनिने व्यक्तिहरुवाटभन्दा असल विचार भएका मनहरुवाट धेरै कुराको ज्ञान हासिल भएको छ । उनीहरुबाट मैले जिउने कला सिकेको छु, जीवन के हो बुझेको छु ।

सरकारी संस्थानमा जागिरका लागि दर्खास्त दिदा आफूले चिनेका ठूला ब्यक्तिहरुको नाम लेख्नु पर्थ्यो । मैले केही ठूला भनिएकाहरुका नाम लेखिरहेँ तर कहिल्यै सफल भइन । मलाई लाग्यो, संस्थानमा अव दर्खास्त दिदा ठूला मान्छेको नाम होइन की मेरा घर नजीकका कृषिक्षेत्रमा सर्वोत्कृष्ट भएका कृषकको नाम किन नलेखूँ । नेपाल राष्ट्र बैंकको जागिरका लागि भरेको फर्ममा मैले कृषक शिवप्रसाद शर्माको नाम राखिदिएँ । मेरा लागि ठूला मान्छे भनेका उनै कृषक शिवप्रसाद शर्मा बने र म सो जागिर पाउँन सफल पनि भएँ । मेरो दुई हरफ कविता संग्रहमा समावेश गरिएको एउटा शिर्षक छ  भो म त कृषक बन्छु। म जहिले पनि कृषकमा नै स्वाभिमान, परिश्रमी र जीवन्तपन   देख्दछु । मेरो जागिरे जीवनको अवकाशपश्चात पनि म कृषि पेशामै फर्कने विचारमा छु । त्यो समयमा बाजेजस्तै साथीको खोजी पनि हुनेछ मबाट ।

जीवनलाई सरस र सजिलो बनाउनका लागि पहिले त आफैले वातावरण मिलाउन पर्दोरहेछ । भनिन्छ, दुखको पहिलो कारण भनेको आफू नै हो । कैयौँ कुराहरु यस्ता छन् कि जस्लाई प्राप्त गर्न पैसा तिरीरहनु पर्दैन । जीवनका दौरानमा केही यस्ता अनुभूतिहरु हुन्छन् जस्लाई बिर्सन खोजे पनि बिर्सन सकिँदैन बरु झन मानसपटलमा चिरस्थायी बाजेझै भएर बास जमाईरहेको हुन्छ । हामी जस्ता साहित्य अनुरागीलाई यस्ता कुराहरुले छुन्छ अनि मात्र कलम चल्छ ।

अहिले तस्वीरमा मसँग भएको काले कुकुरको मालिक अर्कै हुनुहुन्छ तर हरेक क्षणमा यो मेरो घरमा आएर मलाई मात्रै होईन हाम्रा सवै परिवारलाई यस्तो आत्मीयता दिएर जान्छ कि जुनकुरा म यहाँ बर्णन गर्नै सक्दिन । यो कालेकुकुरको मालिक दुई बर्ष पहिला हाम्रो घरमा भाडामा बस्नु भएको  थियो । त्यसबेला यससँग पनि हाम्रो सामिप्यता रह्यो । अहिले उहाँहरु घर सरेर गईसक्नुभएको छ । तर पनि काले हामी कहाँ आइरहन्छ बारम्बार । दुखको कुरा के भयो भने यो कालेलाई न हामीले हाम्रो भनेर यहाँ राख्न सकेका छौं न उसले नै यो मेरो मालीक हो भनेर बस्न सकेको छ । त्यहाँ मिठो चोखो खान पाउँदा पाउँदै, टाढा बसाई सरेर पनि साङ्लाको घेरा तोडेर,त्यो किन हाम्रो घरमा आइरहन्छ होला ? मलाई के लाग्छ भने जे चिजलाई पनि मनले बाँधेको मात्र दिगो हुदो रैछ लाग्यो । यो काले यसरी मेरो घरमा आइरहँदा झन धेरै सम्झिन पुग्छु र भन्न मन लाग्छ कतै मेरो मनमा कहिल्यै नमेटिने छाप बनेर बसेको अर्को रुप  यो काले बाजेत होइन ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |