हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जगदीश दाई र सम्झना,(बासु श्रेष्ठ)

बितेका केहि दिनहरुमा अपरिचित व्यक्तिहरुको क्यान्सरबाट मृत्यु भएको समाचारबाट विचलित भईरहेको म आज अर्को मृत्युको खबरले झन् विचलित भएँ । भेटघाट भएर आत्मियताकासाथ सम्बन्ध कायम भईसकेको वरिष्ठ साहित्यकार जगदीश घिमिरेको निधनको समाचार एका बिहानै सुन्नुपर्यो । काममा जानकोलागी सदा झैँ नुहाएर बाथरुमबाट निस्केपछि श्रीमतिले यो खबर सुनाईन् । तिनले फेसबुकबाट थाहा पाईछिन् । म एकछिन स्तब्ध भएँ । बिरामी हुनुभएर अस्पतालमा राखिनुभएको समाचार पढेको थिएँ । अलि केहिदिनपछि जगदीश दाई तँग्रीनुभएपछि फोनमै भलाकुसारी गरौँला भन्ने राखेको मेरो सोच पानीको फोका झैँ प्वाक्क फुट्यो । आफैंलाई धिक्कार्दै मनमनै तैँले अस्तिनै फोन गर्नु पर्दैनथ्यो?” भनेर आफैँलाई गालीगर्दै दुख मान्न थालेँ ।

मेरो र जगदीश दाईको सम्बन्ध अलि अचम्म खालको छ भनेपनि हुन्छ । वहाँसँग ईमेलमार्फत सम्पर्क भएको चाहिँ सन् २००८ को सेप्टेम्बरको शुरु ताका हो । स्याटेलाईटको नामबाट लेखिएको एउटा ब्लग http://www.mysansar.com/archives/2008/08/id/3046 मैले माईसँसारमा पढेँ । त्यस ब्लगमा जगदीश घिमिरेको बारेमा र वहाँको रोग र निदान अनि समस्याहरुका बारेमा उल्लेख गरिएको थियो । र त्यसै ब्लगमा वहाँले व्हिस्पर अफ द ब्लेडभन्ने उपन्यास पढ्न चाहेरपनि नपाएको भन्ने उल्लेख थियो । मैले त्यो उपन्यास तत्काल वहाँलाई उपलब्ध गराउन चाहेँ र अमेरिकी बजारबाट किनेर वहाँकोलागी पठाएँपनि । वहाँको धन्यवाद सहितको ईमेल पाएपछि मलाई केहि सन्तोष मिलेको थियो । साहित्यकारप्रति श्रद्धा राख्ने मैले असाध्य रोगले च्यापेको एक साहित्यकारको सानो ईक्षा पुरा गर्नसकेको थिएँ भलै कहिल्यै वहाँसँग नबोलेको वहाँलाई नदेखेको होस् । यसरी हाम्रो सम्बन्ध गाँसिएको थियो । यसबिच जगदीश दाईको एउटा राम्रो बानी उल्लेख गर्न चाहन्छु । त्यो के भने ईमेलको जवाफ लेख्न असाध्य 'प्रम्प्ट', अर्थात कहिल्यै ढिलो नगर्ने । ईमेलको तुरुन्त जवाफ लेख्ने वहाँको बानी थियो जसकालागी म कायल थिएँ ।

मैले खसखस डट कम चलाएको एकवर्ष भैसकेको थियो । यसको पाहुनासँग खसखस भन्ने स्तम्भकोलागी म साहित्यकारहरुको नामावलीमा उचित व्यक्ति खोज्दैथिएँ । त्यतिबेला अन्तर्मनको यात्रा भर्खर बजारमा आएको थियो र यसले राम्रै हल्लाखल्ला मच्चाएको थियो । मेरो हातमा पनि परिसकेको थियो र पढिपनि सकेको थिएँ । बजारमा तातो तातो बहस चलिरहेको साहित्यकार र ईमेलमार्फत भएपनि सम्पर्कमा रहेको व्यक्ति जगदीश दाईलार्ई नै उचित व्यक्तिको रुपमा निर्क्यौल गरेँ र फोन र ईमेलमार्फत आफ्नो ईक्षा जाहेर गरेँ । वहाँले खुशी खुशी अनुमति दिनुभयो । त्यसपछि म वहाँका बारेमा जानकारीहरु बटुल्दै प्रश्नहरु तयार गर्ने क्रममा सोहि कृति मदन पुरस्कारले पुरस्कृत भएकोपनि सुखद समाचार पढ्न पाईयो । मलाई अझ थप प्रश्न गर्ने साधनहरु प्राप्त भएको अनुभव गरेँ अनि मनमनै व्यक्ति त साँच्चिकै राम्रै पो छानेछु भन्ने गर्व गरेँ । सो कुराकानीको लिँकः http://www.khasskhass.com/audio/Jagdish%20Ghimire.mp3 यहाँ छ ।

जे होस् यसरी भएको हाम्रो सम्पर्कलाई मैले बेला बखत फोन या ईमेल गरेर क्रमिकता दिएको थिएँ । यसबिच मेरो अनुरोधमा खसखस डट कमकोलागी वहाँका रचनाहरुपनि प्राप्त भए । अब एउटै धोको थियो वहाँसँग भेटने । कहिले र कहाँ अनि कसरी भन्ने कुनै टुँगो लागेको थिएन । तर यसकोलागी साईत जुराईदिनुभयो कमल दाई (कमलमणी दिक्षित) ले ।

गत मे महिनामा नेपाल भएको समयमा मदन पुस्तकालय हेर्ने ईक्षा राखेर पाटन ढोका पुगेको थिएँ । कमलदाईसँग भेटघाट र भलाकुसारीपछि वहाँले सोध्नुभयो अब तपाईको कार्यक्रम के छ र कसकसलाई भेट्ने विचार छ भन्नुभयो । मैले सररर नाम लिएको मध्ये रमेश खकुरेललाई तुरुन्तै फोन गर्नुभयो तर उठेन । अनि लगत्तै मैले लिएको अर्काे नाम जगदीश घिमिरेलाई फोन गर्नुभयो र मलाइपनि कुरा गराउनु भयो । जगदीश दाईसँग मैले आफ्नो भेट्ने इक्षा व्यक्त गरेँ अनि वहाँले समय दिनुभयो । मैले हस् भनेर फोन राखेपछि हाम्रो वार्ता सुनेर बस्नुभएको कमलदाईले मलाई भन्नुभयो जगदीशजीकहाँ जान त्यति सजिलो छैन, तपाई जान सक्नुहुन्न । त्यसकारण म तपाईलाई लगीदिन्छु । तपाई भेटने दिन यहि ठाउँमा आउनोस हामी सँगै जाउँला

मेरो मन हर्षले गद्गद भयो । मेरोलागी कमलदाईको प्रेम र सद्भाव पाएर आफैलाई धन्य सम्झेँ । साथमा श्रीमतिपनि थिइन् । हामी पर्सीपल्ट मे १० का दिन मदन पुस्तकालयमा पुग्यौँ र कमलदाईको गाडीमा बसेर लाग्यौँ किर्तिपुरतिर जगदीश दाईलाई भेट्न । बाटोमा एकछिनको ट्रफिक जाममा परेर जगदीश दाईको घरमा पुग्दा मलाई साच्चै अनुभव भयो म एक्लै आएको भए गाहारो नै हुने रहेछ । अनि मनमनै कमलदाईलाई धन्यवाद भन्दै जगदीश दाईको स्वागतमा घरभित्र पसियो । हामीलाई नै कुरेर बसी रहनुभएको रहेछ । दुर्गा भाउजुपनि काममा जान लाग्नुभएको मानिस हामी आउने थाहा पाएर काममै जानु भएनछ । यो हामीप्रतिको सद्भाव र प्रेम थियो । म साँच्चै फुलेल भएको थिएँ ।

ईमेल र फोनमा सिमित जगदीश दाई र मेरो परिचय अहिले आमुन्ने सामुन्ने विशाल भएर फैलिई रहेको थियो । के के न बोलौँला, के के न सोधौँला भन्ने लागेको मेरो मन त्यहाँपुगेपछि हर्षले ति सब हराए । आफ्नै शैली र मतापमा हाम्रा कुराकानी भए । कुनैपनि औपचारिकता थिएन । झन कमल दाई र जगदीश दाई त सम्धी सम्धी रे । कुन्नी कसरी हो वहाँहरु त्यो नातामा पर्नुभयो रे । कमलदाईले भन्नुभएको थियो । तर मैले अहिले बिर्सेँ । अनि मेरी श्रीमति वहाँको साली पर्ने रहेछ । कारण, अहिले सर्लाहीमा पर्ने वहाँको ससुराली गाउँ उतिखेर रौतहटमा पर्थ्यो । रौतहट मेरो श्रीमतिको माईत, मेरो ससुराली । यसरी कमलदाईले नाता गाँस्नुभएपछि त्यहाँ कुनै औपचारिकताको नामनिशान नै रहेन ।

जगदीश दाईसँग भलाकुसारी, कुशलक्षेमका कुराकानी सकेपछि हामीले खाजा खायौँ । खाजापछि चिया खायौँ । खाजा खाँदै केहि तस्विरहरुपनि लियौँ ।


                 (जगदीश दाईको घरमा खाजा खाँदै)
एउटै ठुलो हलको एक छेउमा ठुलो डाईनिँग टेबल रहेछ । त्यसको सँगै एउटा ढोका रहेछ जुन भान्सातिर जाँदो रहेछ । त्यसै हलको
अर्को छेउपट्टि जगदीश दाईको बस्ने, कुरा गर्ने, लेख्ने एउटा डेस्क रहेछ । त्यसको दाँयातर्फ वहाँको लाईब्रेरी जाने ढोका र त्यो ढोकासँग केहि सोफाहरु पाहुनाकोलागी राखिएको थियो । हामी त्यहि सोफामा र जगदीश दाई आफ्नो डेस्कमा बसेर गफ तताएका थियौँ । अलि अगाडि शर्मिला खड्का दाहालव्दारा लिखित जगदीश दाईले मलाई चिन्नुभएननामक एक लेख खसखस डट कममा प्रकाशित भएको थियो । यस लेखप्रति वहाँको आक्रोश सुन्न पर्ने हो कि भन्ने डर हुँदाहुँदैपनि वहाँको राय बुझ्न मैले त्यो प्रसँग उप्काएँ । मलाई लागेको थियो वहाँ रिसाउनु हुनेछ । तर यसको विपरित वहाँले सो लेख पढेको तर शर्मिला बहिनीले आफुप्रति गलत धारणा बनाएको भन्दै प्रष्टोक्ति दिनुभयो ।

त्यसै भेटमा वहाँले मलाई हरियो साईकल देखाएर 'यो पढेको छैन भने किनेर पढ्नोस्' भनेर मलाई सल्लाह दिनुभयो । जुन अमेरिका आएपछि मगाएर पढेँ र आफुलाई मन परेको कृतिमा दरेको छु ।

यसरी गफ चलेको एकघण्टा बितेको पत्तै पाईएन । जब कमलदाईको फोन बज्यो र अब हामी जानुपर्ने भयो भन्ने भान भयो अनि पो थाहा भयो समय गएको । त्यसमाथि जगदीश दाईको दैनिकी उपचारका कामहरुपनि गर्नुपर्ने बेला भईसकेको थियो । त्यसकारण जगदीश दाई र भाउजुसँग विदावारी भएर कमलदाई, मेरी श्रीमति र म फर्कियौँ ।

बाटोभरी जगदीश दाईको सौम्यता र सरलता, भद्रता अनि सौहार्द्रताबाट प्रभावित भएको म बारम्बार सोच्न बाध्य भै रहेको थिएँ यस्ता व्यक्तिहरुलाई किन लाग्छ क्यान्सर जस्तो असाध्य रोग ? के सबैलाई प्यारो लाग्ने व्यक्तिलाई रोगलेपनि प्यारो मान्ने रहेछ ? आफुलाई प्यारो लागेको व्यक्ति हेरेर रमाउन दिनु नि मानिसहरुलाई ए रोगहरु भन्ने भावनामा म उर्लिँदै थिए ।

मौका मिले एकपटक फेरी आउँछु भनेर विदावारी भएको त्यस भेटपछि एकपटकमात्र फोनमा कुरा गर्ने मौका पाएको थिएँ । फेरी भेट्ने समय त्यतिखेर त जुरेन भने अब त झन कुरै अर्को भईसक्यो । अब वहाँसँग कहिल्यै कुरा समेत गर्न पाउने छैन । भेट्ने त के कुरा ? आज विहान सुनेको, पढेको यो समाचारले मलाई विचलितमाथि विचलित बनाएको छ । दुर्गा भाउजुको हँसिलो मुहार मेरो आँखा अगाडि घुमीरहेको छ ।

मृत्यु साश्वत हो भन्ने जान्दाजान्दैपनि मृत्युसँग दिनदिनै लडेर जतिदिन जगदीश दाई बाँच्नु भयो त्यो वहाँको वीरता थियो । अवश्यम्भावी मृत्युलाई हामी टार्न खोज्छौँ । केहि हदसम्म हामी सफल त हुँदो रहेछौँ तर यो सफलता अनन्त भने नहुने रहेछ । मात्र बाँचुञ्जेल वीरताकासाथ जगदीश दाईले बाँचे जस्तो हामीलेपनि बाँच्न जान्नुपर्ने रहेछ ।

अब जगदीश दाई हाम्रो माझ हुनुहुन्न । तर वहाँको सम्झना, वहाँको सदाशयता, नम्रता, भद्रता, सौम्यता अनि वहाँका कृतिहरु लिलाम, सकस, बर्दि जस्ता उपन्यास र वहाँको अन्तर्मनको यात्रा हाम्रो सामु सदा रहिरहने छ ।

जगदीश दाईको आत्माले चीर शान्ति पाओस् ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |