हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

भैरवी थाटको त्यो एक साँझ,(प्रकाश सायमी)


 यात्रा सँस्मरणः

एउटा नरमाइलो दिन ।
चिसो र तातोको वित्यास लाग्दो समय । इप्सा स्मृतिले व्याप्त घडी कात्तिक सकिनु अगिको तापिलो घामको खोजीमा हामी सहर घुमिरह्यौँ । काठमाण्डू देखि भक्तपुरसम्मको धुलाम्मे यात्रामा कारको सिसा लगाउँदै चालकीय गतिमा शैलेश भन्ने गर्थ्यो 'दाइ यो देश सँधै यस्तै हो त !"
धेरै प्रश्नका उत्तर हुँदैनन् । जस्तो यो प्रश्नको उत्तर कोही कसैसित छ जस्तो मलाई लाग्दैन ।  न सत्तामा भएका मान्छेसित न सत्ताबाहिरका मान्छेसित ।
गणतन्त्रको आगमनपछि देशले नयाँ स्वास फेर्ला भन्दाभन्दै झन् कठिन अवस्थाबाट देश गुज्रनथालेकोमा हरेक नेपाली दुःखी हुन थालेको समयमा एउटा कलाकारलाई देश दुख्नु स्वभाविक हो । शैलेशको आँखामा सँधै यो पीडा मौलाएको देख्छु ।  ऊ आफूले संगीत पढाउने ससाना भाइबहिनीप्रति सदैव आशावादी छ ।  तर ऊ आफैँ भन्छ के हामीले भावीपुस्तालाई हस्तान्तरण गर्न लायक नयाँ नेपाल दिन सक्छौँ त दाइ ?
शैलेशका गुणगम्भीर प्रश्नले म त कहिलेकाहिँ आश्चर्यास्पद नै हुन्छु । म मात्र कहाँ र कहिलेकाहिँ त उनका संगीतका गुरु दीपक जंगम पनि चकित भएको देखेको छु । मलाई सम्झना हुन्छ एउटा घटनाको । एकपटक शैलेशले संगीतकार अम्बर गुरुङलाई सोधे "सर दुःख किन घरि घरि हामीलाई परिरहन्छ?"
दर्शनबोधले गम्म ढाकिएका गायक, संगीतकार र निबन्धकार अम्बर गुरुङले भने प्रेमपूर्वक भने "तपाईले राम्रो कुरा सोध्नुभो । दुःख सधैँ चंचल हुन्छ । त्यो स्थायी हुन्न । त्यो कहिले तपाईसित, कहिले मसित आएर बसिरहन्छ । यसले कहिले एकै ठाउँमा बस्न मन गर्दैन । योसँग त्यो क्षमता छैन ।"
अम्बर गुरुङको दार्शनिक क्षमतासित मान्छे हत्तपत्ति जित्न सक्दैन  । कारण उनीसित अध्ययनको व्याप्ति छ । गुण गरिमाले भरिपूर्ण उनको जीवनको गतविगत देखेकाले उनलाई एक आदरणीय चिन्तक मान्न तयार हुन्छन् । जसले अम्बर गुरुङलाई बीसको दशकमा देखेको छ उसले उनको चेतनाको धरालाई चिन्न सक्छ । जसले तीसपछिको दशकमा अम्बरलाई देखेको छ उनको ज्योत र जाग्रत भावलाई अन्तिम तहबाट बुझ्नसक्छ ।
हामी अम्बर गुरुङलाई सैंतीससालमा सदैव विहान भेट्थ्यौँ शनिवार बाहेक । त्यस समूहमा शक्तिवल्लभ, महेश उपाध्याय, नीलम श्रेष्ठ, राजु सिलवाल आदि थियौँ । एकदिन हामी प्रतिमा भवनमा बसिरहेका थियौँ । अम्बर सर टाढैबाट आफ्नो स्मार्ट गेटअपमा देखिइनु भयो । केही आत्तिएर उठे, केही लुके । उहाँको व्यक्तित्व नै त्यस्तै थियो । तर उहाँ त्यो दिन फरक मुद्रामा हुनुहुन्थ्यो । हाम्रो नजीक आउनु भो र भन्नु "भो हाउ आर यू व्वाइज् ?"
हामी चूपचाप उभियौँ र मन्त्रवत् सरलाई प्रणाम भन्यौ । त्यो दिन उहाँले राजु सिलवाललाई हेरेर भन्नु भो "तिमीले हिजो देखाएको प्रहशनमा म खूब हाँसे । तिमीले असाध्य हँसायौ राजु ।"
राजुले अघिल्लो दिन नब्बे वर्षको बाजे भएर एउटा प्रहशन मन्चन गरेका थिए । उनी पनि आफ्नो पफर्मेन्स गजब देखिएकोमा प्रसन्नचित्त भए । तर त्यसो होइन रहेछ । सरले अझै स्पष्ट पार्नुभो "तिमीले छोरा मर्दा सेतो कपाल भएको टाउकोमा हत्केला ठोकाउँदै रुँदा म असाध्य हाँसे । तिमी रुँदा तिम्रो कपालमा लगाएको चक सबै उडिसकेको रहेछ ।"
राजु त्यतिवेला खुशी हुन सकेन अक्क बक्क पर्यो । राजुको मुखमण्डल देखेर हामीलाई हाँसो लाग्यो । सरले अझै अगाडि भन्नु भो "तिमी रोइसक्दा त तिम्रो उमेर त नब्बेबाट घटेर तीसमा पुगिसकेछ ।"
त्यसपछि राजु पनि रोकिन सकेन दिल खोलेर हाँस्यो । अम्बर सर गइसकेको घन्टौ समयसम्म पनि हामी यो टिप्पणीमा हाँसिरह्यौँ । यस्तो थियो उहाँको सेन्स् अफ् ह्यूमर । उहाँ मन्चमा गीत प्रस्तुत गर्दा पनि यस्ता छोटा टिप्पणी गरेर लाभान्वित गराउन सक्नुहुन्थ्यो तर थोरै समयको लागि । यस्तै एउटा घटना वहाँको एकल साँझमा प्रज्ञा भवनमा घटेको सम्झन्छु ।
उहाँ आफ्ना पुराना गीत गाउँदै हुनुहुन्थ्यो, दर्शकले फिल्मको गीत आग्रह गरेको गर्यै गर्यो, अनि उहाँले अन्त्यमा "ल अब तपाईहरुले साह्रै फिल्मको गीत भन्नुभो, ल अब फिल्म शुरु हुन्छ भनेर कहिँ आफ्नै भुँवरीमा गाउन थाल्नुभो ।
हलभरि जोडले ताली बज्यो । यस्तो प्रभाव म वहाँमा खूब देख्छु । शैलेशसितको त्यो दिनको कुराकानीमा पनि त्यो शक्ति मैले देखेँ । र एकदिन फेरि वहाँले शैलेशलाई फेरि भन्नुभो "मैले तपाईलाई भनेको कुरा मेरा एकजना चेलालाई फेरि भनेँ ।"
अम्बर गुरुङबाट प्रभावित शैलेश दंग परे । पुस्तक अध्ययनले खारिएका शैलेशमा पनि त्यो क्षमता छ जसले गर्दा उनी अरुलाई सहजै स्पर्श गर्न सक्छन् ।
भक्तपुरको तीनकुनेमा अवस्थित जगाते छोयला च्युरा पसलबाट झरेपछि शैलेशले मलाई भने "दाइ, फर्किँदा दीपक दाइकहाँ पस्ने हो कि ?"
मैले चलायमान फोनबाट सम्पर्क गर्दा वहाँ भेट हुनुभो घरैमा ।
हामी आउने तयारीमा छौँ, तपाईको घर नजीक छौँ । शैलेश पनि सँगै भएको सुने पछि उहाँले खुशीले स्वागत गर्नुभो । तीनकुनेबाट त्यही धुलाम्मे बाटो हामी लोकन्थली लाग्यौँ ।
दीपक खरेल नेपाली जनस्थाका चर्चित एवम् प्रतिबद्ध गायक । जो वास्तवमा गायन बाहेक अरु कारणले कहिल्यै चर्चामा आउन चाहेनन् । उनका समकालीन गायकहरु अतीतको गर्भमा हराइसके । उनी अझै पनि राम्रा र बलिया गीत गाउन आग्रह राख्छन्, यो भेट पनि त्यसैको एउटा संयोजन हो । उनी नयाँ पुस्ताका संगीतकारसित काम गर्न इच्छुक छन् । त्यसमध्ये उनले युवा पुस्ताका संगीतकार प्रवीण बराइलीसित सहकार्य गरिसके । प्रवीण दीपक खरेलसित काम गर्ने सबैभन्दा कान्छा संगीतकार मध्ये हुन् । प्रवीणको सांगीतिक पक्षको तज्जन्य आकर्षणबाट उनी सदैव प्रभावित रहे र भन्ने गर्थे 'ई भाइको संगीतमा ताजापन र मेलोडी छ ।'
दीपक जँगम, शम्भुजित बाँसकोटा, शिवशंकर, नातिकाजी, शक्तिवल्लभको सँगीतमा नेपाली जनसमाजमा स्थापित भइसकेका गायक खरेलले न्ह्यू बज्राचार्य र प्रवीण बराइलीको साँगीतिक छविलाई भित्रैबाट गुनेको मैले पाएको छु । त्यो उनको गुण हो ।
दीपक खरेल विगतका वर्षमा माया बल्झेछ, आवर फिलीँग्स् र सम्झनाको गोरेटोमा जस्ता एलबमबाट सर्वाधिक लोकपिय रहे । मौलिकताका धनी दीपक खरेल नारायणगोपालकी पत्नी पेमाला गुरुवाचार्यका पनि अति मन पर्ने गायक हुन् । पेमाला भाउज्यू भन्नुहुन्थ्यो "मलाई मेरो बूढापछि त्यो खरेल भाइको स्वर साह्रै मनपर्छ ।"
दीपक खरेल सदैव भन्छन् "ख्वै त, मलाई संगीतकोशले कहिले सम्झेन !"
हामी घर पुग्नु अगि फेरि चलायमान फोन बज्यो, स्वर दीपक खरेलको, "खोइ त प्रकाश दाइ कता हो ?"
हामी नजीकै पुग्यौँ । मैले त्यसो भन्दै गर्दा शैलेश घर कुन चैँ भनेर सोध्दै थिए । घर देख्ने बित्तिकै हामी अल्मलियौँ । कारण उनको घर अघिल्तिर भव्य बाटो निर्माणको कार्य भइरहेको रहेछ । तर कुन बाटो अपनाउने हामी झुक्कियौँ । फोनमै मैले सोधेँ "गाडी कहाँ राख्ने हो ?"
मेरो प्रश्न सुन्ने वित्तिकै उनले ठूलै स्वरमा कुँवर नामका कुनै पात्रलाई अह्राए "कुँवर ढोका खोलि दे । मेरा साथीहरु आएकाछन् ।"
बन्दै गरेको बाटोबाट हामी तल ओल्र्यौं । ढोका अगि थिए त्यही पात्र कुँवर । उनले स्वागत गरे । गाडी घरभित्र दायाँतिर थन्कियो । हामी ओर्लने वित्तिकै यस दशकका सक्रिय र प्रिय गायक देखा परे- रातो टी शर्टमा अनि नीलो जीनमा । उस्तै सदा प्रसन्न मुहार ।
हामी इस्लामिक शैलीमा गले मिल्यौँ, सलामे वालेकुमको स्टाइलमा । उनको आलीशान बँगलाभित्र प्रवेश गरेको यो मेरो पहिलो घडी हो । तर यो घरलाई काठमाण्डूबाट भक्तपुर जाँदा सदैव प्रेमपूर्वक हेरेर जान्थेँ म । र मैले वाल्यकालदेखि मन पराएका गायकको यो घर मैले देख्न थालको करीब दशवर्ष जत्ति भयो । त्यसअगि म उनलाई डिल्लीबजारको बँगलामा देख्थेँ । जहाँ उनी लगायत निजी क्षेत्रको पहिलो नेपाली चलचित्रका नायक सीपी लोहनीको निवास न्यस्त छ । र उनका अरु केही छिमेकीमा मेरा सहकर्मी शम्भु प्रधानको घर पनि त्यहीँ देख्थेँ । कालान्तरमा शम्भु मण्डिखाटार गए भने दीपकजी लोकन्थली ।
लोकन्थलीमा उनको घर नजीकै अर्का स्रष्टा गीतकार राजेन्द्र थापा पनि बस्छन् । तर दीपक खरेलको आफ्नो वासभूमि त खरेलथोक काभ्रे नै हो । जुन ठाउँ माओवादी विद्रोह ताका सेनाद्धारा मारिएकी मैना सुनारको नाउँबाट पनि चिनिन्छ आजकाल ।
आँगनमा टेक्ने बित्तिकै उनले देखाएको उपवनतिर हामी तेर्सियौं । र हामी टाढा-टाढा रहेको स्टीलका आर्म चेयरमा बसे पनि हाम्रा वीच झ्याँगिएको वर्षौं पुरानो आत्मीयता नजीकिँदै आयो ।
पहिलो प्रश्न "चिया कफी वा केही ?"
जवाफ नदिँदै उनले 'दूधको चिया' भने
दोस्रो प्रश्न 'हार्मोनियम मगाउँ त ?"
चिया भन्दा पहिले हार्मोनियम आइपुग्यो । उनै कुँवरले ल्याए । कुँवर उनका सहयोगी रहेछन् । हार्मोनियम आएर टेबिलमा राखिने बित्तिकै उनले गर्वले भने "यो भाइ मेरो सबभन्दा मनपर्ने गायक हो । उनको स्वर गज्जब छ । म त दिल खोलेर भन्छु मन परेको चीजलाई …।"
उनले फेरि भित्रैबाट अनुभूत गरेर भने "मलाई आउँदो पुस्तामा सबभन्दा मनपर्ने भाइ यही हो । यसपछि मलाई भक्तराजजीको छोरा पनि मनपर्छ सानो हो कि ठूलो । कुन चैँ मलाई मनपर्छ ।"
भक्तराजजीका दुवै छोरा पहिले शैलेश र प्रवीणको शुभारभ:  द म्युजिकल जर्नीमा गायकका रुपमा आवद्ध थिए गणतन्त्र प्राप्तिकको पूर्व सन्ध्यासम्म ।
शैलेशले एकजना भाइको नाम भने तर दीपक खरेलले कुन चैँ हो ठम्याउन सकेनन् । अनि भन्दै गए "'शुभारम्भ : द म्युजिकल जर्नीको कार्यक्रममा उसले पनि राम्रै गाएको थियो ।"
उनले मनपर्नुको कारण पनि भने "स्वरमा मौलिकता र उदारपन ।"  मनपर्नुको कारण यो पनि हो जसरी भाइले नाउँ लियो । यसरी नाउँ लिँदैनन् । लुकाउँछन् यहाँ त । यो नेपालीपन मन पर्छ मलाई । "किन लुकाउनु हैन"  दीपक खरेलले उनको प्रशंसा गर्दै गर्दा शैलेश हात जोडेर अभिवादन फर्काउँदै थिए ।
"मलाई खुशी लाग्छ पछिल्लो जेनरेशनमा मैले मेरो मनपर्ने गायक भन्न पाउने नाम पाएको छु ।"  दीपक खरेलको यो घमण्ड हरियो घाँसभरि छरिँदा शैलेशले हार्मोनियमका रीडहरुमा औँलाहरु खेलाउन थालिसकेका थिए । हामीलाई पनि गर्व छ हामीले पनि हाम्रो प्रिय गायक भन्न सक्ने गायक हाम्रा सम्मुख शैलेशको तारिफ गर्दै थिए ।
समय साँझको थियो । दीपक खरेलीय शैलीका गीतहरु गाउने र सुन्ने समयको ।
"ल शैलेशका राम्रा राम्रा गीतहरु सुनूँ त" दीपकजीको आग्रह विस्कुन भएर फिँजियो । म मूक भएँ । शैलेश बोले "होइन, आज त दाजुका गीतहरु हामीले सुन्नु पाउनुपर्छ ।"
दीपक खरेल मानेनन् । मूलतः आजको गोप्य सम्झौता शैलेशले धुनबद्ध गरेका गीत दीपक खरेललाई सुनाउने कार्यक्रम नै हाम्रो पहिलो थियो । त्यही मुताबिक यो भेट तय भएको भएपनि हाम्रो लोभ संवरण यति मात्र हो दीपक खरेललाई किन नसुन्ने खरेलजी अडान मै रहे शैलेशले आफ्नो पहिलो एल्बम 'सन्धी'बाट पहिलो गीत गाए
'माया दियौ मायाजस्तो चीज पनि लुकाएर किन दियौ
एकान्तमा सोच्छु आफ्नै मन चुँडाएर किन दियौ' दीपक झुमे ।
 
"ओहो, यो गीत मलाई खुब मनपर्छ । प्रवीणले राम्रो काम गरॆको छ ।" दीपक खरेलले खुलेर भने । संगीतकार प्रवीण बराइलीको त्यहाँ आज उपस्थिति थिएनन् । फेरि शैलेशले अर्को गीतको पर्दा खोले । दीपक फेरि झुम्मिए र आफू पनि गाउन थाले । अब विस्तारै दुईका वीच पर्दा खुल्यो समय लगभग एक आर्कालाई देख्न सकिने सम्मको थियो । यसैवीच दीपकजीले फेरि कुँवरलाई बोलाए कुँवर चिया र पाकेको अण्डा सहित आए ।
मैले भने "ओहो हामी त भक्तपुरमै खाएर आएको अण्डा नखाउँ होला ।"
दीपक खरेल मानेनन् । "यो शुभ साइतको सगुन हो । लिनैपर्छ । "
शुभ साइत केलाई भनियो मैले बुझिनँ । पछि बुझ्दा थाहा भयो आज शैलेशको गीत ओ... गर्ने दिन हो । त्यसैले यस घडीलाई शुभसाइत भनिएको रहेछ । त्यही शुभसाइतमा दीपक खरेलजीले कुँवर मार्फत् भर्खरै अष्ट्रेलिया पढेर आठवर्षपछि आएका छोरा शुभाशिष खरेललाई बोलाई पठाए ।
शैलेश फेरि गाउन थाले प्राभ्यासमा । दीपकजीका आँखा शैलेशले हार्मोनियममा खेलाएको देखेर आश्चर्यचकित भए । 'भाइ पनि लेफ्टी रहेछ । दिव्य दाइजस्तै ।' दीपक खरेलले भनिहाले ।
नेपालमा सबभन्दा हाम्रो हार्मोनियम बजाउने संगीतकारमा दिव्य खालिङ पर्छन् भने दिव्य पत्नी ग्रेस खालिङका अनुसार शैलेशमा दिव्यसरको त्यो गुण छ ।
शैलेश गाउँदै थिए भैरवी रागमा ।

तिमीले छोडेर गयौ हुन्न भन्न सकिनँ
मुटू तोडेर गयौ रुन्न भन्न सकिनँ …।

धेरै बेर भिजेपछि आँखा पानी पानी भो
आगोमा छोडि गयौ अब खेल्ने बानी भो …

दीपक खरेल अझै खुशी भए शैलेशको पहिलो धुन सुनेपछि । अझै हौस्सिए । म गाउँछु यो गीत उनी भन्न थाले ।
शैलेशले भने "यो भैरवी रागमा छ । मैले भैरवीका केही वर्जित स्वरहरु पनि चलाएको छु ।"
दीपक पुत्र शुभाशिष आइपुगे जो मंसीरको पहिलो हप्ता फेरि अष्ट्रेलियाको एउटा ब्याँक्मा काम गर्न फर्किँदैछन् । एक व्याँकर र गायकका वीच दीपकजीले परिचय गराउनु भो 'छोरा वहाँ शैलेश िसंह दाइ, एकदम राम्रो गायक । …वहाँ प्रकाश दाइ । नेपालको..."
युवापुस्तालाई अत्यन्त सम्मान गर्ने गायक दीपक खरेल अग्रज पुस्तालाई पनि त्यतिकै सम्मान दिन मनपराउँछन् । केही वर्षअगि उनले दीप श्रेष्ठको एकल साँझमा दीप श्रेष्ठका सामू दीप श्रेष्ठकै गीत गाएर चकमा ख्वाइदिएकाथिए । पछि त्यो एउटा आकर्षक समाचार पनि बन्यो ।
दीपक खरेल के के भन्दै हुनुहुन्थ्यो मैले बीचैमा भने "शैलेशजी प्रोफेशनलली सिभिल ईजनियर हुनुहुन्छ । उहाँ राम्रो गाउनुहुन्छ र सानासाना भाइबहिनीलाई राम्रोसित संगीत सिकाउनुहुन्छ । उहाँ रेडियो नेपालको गायन प्रतियोगितामा प्रथम हुँदा आजका नाम चलेका गायकहरु सान्त्वना भएका थिए त्यसमध्ये स्वरुप सुरेश अधिकारी पनि हुन् ।"
शुभाशिष मन्त्रवत् सुन्न थाले शैलेशका गीतहरु । शैलेशले मेरो शब्दमा आफैँले सँगीत गरेको अर्को गीत सुनाए जुन गीत दीपक खरेलले गाउनु छ भविष्यमा । भविष्यका गायकलाई भविष्यका सँगीतकारले प्रेमपूर्वक सुनाए:

नियतिले म घाम भएँ तिमी भयौ पानी
दुर्भाग्य हो सबै भन्छन् हाम्रो प्रेमकहानी

शैलेश गाउँदै जाँदा झन् खुल्न थाले । उनको खुल्लापन देखेर दीपकजी झन् मोहित भए र उनी पनि गाउन थाले । दीपक खरेलले गाउन थालेपछि माहौल झन् तात्यो अनि धमाधम नयाँ पुराना गीत गुन्जिन थाले ।
दीपक खरेलका प्रिय गायक हुन् नारायणगोपाल अनि शैलेश पनि नारायणगोपालका अनुसेवी मानिन्छन् । शैलेश िसंह नारायणगोपाल संगीत कोशबाट दुईपटक उत्कृष्ट गायकका रुपमा पुरस्कृत भइसकेका छन् ।
अब दुवैजना नारायणगोपालका अजम्मरी गीततिर झुम्न थाले ।
पहिलो प्रहार दीपक खरेलले गरे
'केही चोटले हानी हुन्छ
धेरै चोटले बानी हुन्छ ।'
यो नारायण र गोपाल योंजनका मीतज्यूकालीन गीत थियो जसको आफ्नै अटुट इतिहास छ । दीपक खरेलले यस समय गोपाल योंजनलाई सम्झे । र भने "गोपालदाइले मलाई यो गीत सँधैँ गाउन लाउनु हुन्थ्यो । र अर्को एउटा गीत त झन् कति मन पराउनु हुन्थ्यो मैले गाएको ।" तर गोपाल योंजनका कुनै स्वरचित गीत गाउने मौका दीपकलाई जीवनभर मिलेन ।
त्यसपछि दीपक पाकिस्तानी गायक मेंहदी हसनतिर ढल्किए उनलाई मेँहदी हसनका पुराना गजल सबै कण्ठस्थ रहेछन् । उनले शैलेशलाई भाइले नसुनेको एउटा गजल सुनाउँछु म ।" भीगी भीगी बोल भएको गजल चैँ मैले एम्पी थ्रीमा सुनिसकेको थिएँ ।
मेँहदी हसनका गीत गाउँदै गर्दा दीपक खरेलको स्वरमा भारतीय गायक तलत महमूदको झलक देखा पर्यो । मैले भने "तपाईलाई तलत महमुद कत्तिको मनपर्छ ।"
"मलाई मनपर्ने गायक नै तलत महमूद हो ।"  उनले भने ।
नारायणगोपालका प्रिय गायक पनि तलत महमूद नै थिए । अब उनले नारायणगोपाल र उनले खूब गाउने तलत महमूदको आँसुकी कहानी सुनाए । त्यसपछि मेरो फर्मायसमा सुजाता फिल्मको जलते है जिसके लिए गाए ।
तलत महदमूदको गीत गाउँदा दीपक खरेलको शुद्ध उच्चारण र भाषाको ज्ञानले शैलेश चकित भए । शुभाशिष यही बेला बोले 'डैडले गजल गाउनु पर्यो । हजुरले हिन्दीमा गाएको मसित भएको सीडी सुनेर अष्टेलियाका मेरा साथीहरु कोही पत्याएनन् नेपालीले गाएको भनेर ।
"हो भन्या अब म गाउँछु । प्रकाशदाइले लेख्नु पर्यो ।" अब केही गजल गाउने उनले वाचा गरे । स्वर र संयमका धनी दीपक खरेलले अन्तिम पटक गरेको आग्रह हिन्दी उर्दू गजलका मुखेन्जी चुनौतिपूर्ण त थियो नै तर पनि कोसिस गर्न सकिने काम थियो ।
अब उठ्ने बेलातिर फेरि दीपक खरेलले मेंहदी हसनको अर्को चर्चित गजल गाए
'प्यार भरे दो शर्मिले नयन
उनसे मिली मेरे दिल को चैन
कोही जाने ना …'
यो गजलमा उनी निकै भावविभोर भएर डुबे त्यो साँझजस्तै गहिरो र भावभिनी भएर । एउटा हल्ला सुनेको साँचो भएछ नारायणगोपालजस्तै दीपक खरेल पनि उर्दूका गीत गजल बुझ्ने गरि गाउँदा रहेछन् । अग्रजहरुले नारायणगोपालको त्यो मधुर सामीप्य पाए होलान् मलाई त्यो सौभाग्य मिलेन । मलाई आज जुन सौभाग्य मिल्यो दुई पुस्ताका वीच विन्यस्त भएर एउटा इतिहासलाई सस्वर हेर्ने यो सौभाग्य । अन्तिम गीत पछि फेरि दीपक खरेलले कुँवरलाई बोलाए 'कुमार ढोका खोलिदे । सरहरु जानु हुन्छ ।'
उनको नाउँ कुँवर नभएर कुमार रहेछ । मैले आउने बेला मात्र बुझे । बाबु छोराले हामीलाई ढोकासम्म आएर विदा गरे । हाम्रो कानमा दीपक खरेलले नगाएका गीत कानमा गुन्जिंदै थियो …।
'पूर्णीमाको रात पनि औँसीको रात झैँ'…देखि 'गरुँ कि मिठो भूल…'सम्म यात्रा चलिरह्यो । 


 

Comments

Rashmi Tamrakar

ho ni malai pani kehi kura lekhau, afno manma bhayeko kura lekhera byakta garau jasto lagchha lekhna suru garyo ani bichaima aayera lekhai nai banda hunchha
kahile kahi feri kunai bisaya ko barema lekhna man lageko hunchha suru nai garna naaaune tesaile kehi pani lekhna sakirahekai chhaina
aaja pani testai lekhna man lageko bhayera khojda khojdai yo tapaiko lekh padhne mauka milyo
ramro lagyo
dherai dherai dhanyabaad.

mithila pyakuryal

such a wonderful memoir .
keep it up

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |